निपाह भाइरस संक्रमण पछिल्लो समय फैलिरहेको छ। यो जनावर तथा पशुपन्छीबाट मानिसमा सर्ने (जुनोटिक) रोग हो।
निपाह भाइरस सन् १९९९ मा पहिलो पटक मलेसियामा सुँगुर पालन गर्ने किसानहरुमा देखिएको थियो। नेपाल निपाह भाइरसको प्रकोपको जोखिममा छ। किनकि भाइरसको प्राथमिक होस्ट भनेका फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट)हरु हुन् जुन नेपालमा पाईन्छ। निपाह भाइरसको संक्रमण भएमा लक्षणविहीन संक्रमणदेखि ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, घाँटी दुख्ने र तीव्र श्वासप्रश्वासको समस्या हुने गर्दछ। यसका साथै यसको संक्रमणले मस्तिष्कमा असर गरी इन्सेफेलाइटिस हुनेदेखि कोमा सम्म हुने गर्दछ।
निपाह भाइरस संसारको १० घातक रोग मध्ये एक मानिन्छ। निपाह भाइरस एक प्राणघातक संक्रमण हो, जसको मृत्यु दर ४० देखि ७५ प्रतिशत रहेको अनुमान गरिएको छ।
निपाह भाइरस कसरी सर्छ?
निपाह भाइरसको संक्रमण चमेराको र्यादल, दिसापिसाब लगायतको तरल पदार्थबाट संक्रमित फलफूल/ तरकारीको सेवनबाट हुने गर्दछ।
निपाह भाइरसको संक्रमण सुँगुरहरुको बिच अत्यधिक रहेको छ र सुँगुर पालन गर्ने किसानहरुमा यो संक्रमण अत्यधिक देखिएको छ। सन् १९९९ को प्रकोपमा ९९ प्रतिशत संक्रमित मानिसहरु सुँगुरसंग सम्पर्कमा थिए वा सुँगुर फार्म गर्ने किसानहरु थिए ।
संक्रमित मान्छेको र्यासल, पिसाब, दिशा, वीर्य र रगतबाट अर्को मान्छेमा पनि निपाह भाइरस सर्ने गर्दछ।
निपाह भाइरसको संक्रमणको लक्षण के के हुन्?
निपाह भाइरस संग 'एक्सपोजर' भएको ४-१४ दिन पछि लक्षणहरु देखा पर्न थाल्छन्। सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, टन्सिलको सुजन, घाँटी दुख्ने, रिँगटा लाग्ने, कोमा, बेहोसी जस्ता लक्षणहरु देखिन्छ।
को को जोखिममा छन्?
सुँगुर पालन गर्ने किसानहरु, मासुजन्य प्रदार्थको काम गर्ने मनिसहरूमा जोखिम उच्च रहेको छ। अस्पतालका कामदारहरु र भाइरससंग संक्रमितको हेरचाह गर्नेहरुमा जोखिम उच्च छ। बंगलादेश र भारतमा यो रोग काँचो खजुरको रस खाने, चमेरोद्वारा संक्रमित फलफूल तथा चमेरोहरु बस्ने कुवाहरुको पानीको सेवनसँग जोडिएको छ।
संक्रमित चमेरोले जुठो पारेका, खोपेर छोडेका फलफूल/ तरकारीहरु सफा नगरेमा वा नधोएर खाने मानिसहरुमा जोखिम उच्च छ।
निपाह भाइरसबाट संक्रमित भए नभएको कसरी पत्ता लगाउने?
घाँटीको स्वाब, सेरेब्रोस्पाइनल फ्लुड, पिसाब र रगतको परीक्षणबाट पत्ता लगाउन सकिन्छ।
निपाह भाइरसको उपचार के हो ?
हालसम्म निपाह भाइरसको लागी कुनै विशेष उपचार वा खोप उपलब्ध छैन। तसर्थ यसबाट जोगिने कुरामा ध्यान दिनुपर्ने हुन्छ। प्राथमिक उपचार मुख्य रूपमा ज्वरो र न्यूरोलोजिकल लक्षणहरुका आधारमा गरिन्छ। गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्न आवश्यक छ र भेन्टिलेटरको उपयोग को पनि आवश्यकता हुन सक्छ।
निपाह भाइरसबाट कसरी सुरक्षित रहने?
साबुन र पानीले नियमित हात धुने अभ्यास गर्नुहोस्।
बिरामी चमेरा र सुँगुरको सम्पर्कबाट बच्नुहोस्।
तरकारी, माछामासु राम्रोसँग पकाएर र फलफूल राम्रो सँग पखालेर खाने।
मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने।
गाईबस्तुका गोठ र फार्म सफा राख्ने।
निपाह भाइरसबाट संक्रमित कुनै पनि व्यक्तिको रगत वा शरीरको तरल पदार्थको सम्पर्कबाट जोगिने।
ज्वरो कम नभएमा, शरीर दुखेमा, छिटै गम्भीर जस्तो अवस्था भएमा अस्पताल जानु पर्दछ।
निपाह र कोरोना भाइरसको लक्षणमा के फरक छ?
निपाह भाइरसले मस्तिष्कमा असर गर्छ र मानिसहरू छिट्टै बेहोस हुने, काँप्ने जस्ता सम्भावनाहरु देखिन्छ।
-(डा श्रेष्ठ कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा आवासिय चिकित्सक हुन्।)