काठमाडौं- गम्भीर तथा सिकिस्त अवस्थाका बालबालिका वा सिकिस्त हुन सक्ने बालबालिकालाई राखेर उपचार गर्ने बाल सघन उपचार कक्ष (पीआइसीयू) निर्माणका लागि उपकरण खरिदका क्रममा मेहलकुना अस्पतालले बदमासी गरेको भेटिएको छ।
अस्पतालले पाँच शय्याको पीआइसीयूका लागि खरिद गर्न लागेको उपकरण तथा सामग्रीमा एक करोड ३४ लाख ३० हजार ५० रुपैयाँ अनियमितताको खेल सुरु गरेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सोजन सापकोटाले बायोमेडिकल इन्जिनियरसँगको मिलेमतोमा प्राविधिक मूल्यांकनमा कम रकममा पीआइसीयूका लागि सामग्री उपलब्ध गराउन प्रस्ताव गरेका कम्पनीलाई हटाएर 'सेटिङ'मा आफू निकटकालाई खरिदको जिम्मा दिएका छन्।
'डा सापकोटाले कमिसनका लागि नै पीआइसीयू खरिदका लागि एक करोड ३४ लाखभन्दा बढी रकम राज्यलाई भार पर्ने गरी खरिद सेटिङ मिलाएका हुन्,' अस्पतालका एक कर्मचारीले भने, 'पहिला उहाँले त्योभन्दा पनि बढी रकम प्रस्ताब गरेको कम्पनीलाई दिने निर्णय गरेर एक करोड ६० लाखभन्दा बढी रकमको सेटिङ मिलाउनु भएको थियो। तरपछि कुरा नमिलेपछि त्योभन्दा कम मूल्यमा टेण्डर हाल्नेसँग सेटिङ मिलाउनु भएछ। सेटिङमा खरिदको जिम्मा पाएको कम्पनी त क्वालिटी कन्ट्रोलमा समेत फेल भएको छ। '
ती कर्मचारीका अनुसार पाँच बेडको पीआइसीयूका लागि सबैभन्दा कम मूल्य एक करोड ३० लाख ६८ हजार ४५० मूल्यमा बोलपत्र हालेको कम्पनीको सबै कुरा मिल्दा पनि त्यसलाई बाइपास गरेर सेटिङमा त्योभन्दा दोब्बर मूल्यमा टेण्डर हाल्ने मेडिहेल्थ सर्जिकल प्रालीलाई खरिदको जिम्मा दिइएको छ। मेडिहेल्थले पाँच बेडको पीआइसीयू दुई करोड ६४ लाख ९८ हजार ५०० मा उपलब्ध गराउने भन्दै टेण्डर हालेको छ।
'प्राविधिक रुपमा सबै कुरा मिल्ने भएपनि अस्पतालले कमिसनका लागि कम मुल्यमा टेण्डर हाल्नेलाई पन्छाएर बढी रकम हाल्नेलाई दिने निर्णय गरेको छ' ती कर्मचारीले भने, 'खरिदका क्रममा बायोमेडिकल इन्जिनियरसँग पनि सेटिङ मिलाइएको छ।'
उजुरी दिनेको मात्र मूल्यांकन गरेर उसैलाई खरिदको जिम्मा
पीआइसीयू खरिदका लागि अस्पतालले साउन १२ गते आह्वान गरेको बोलपत्रपछि ८ वटा कम्पनीले आवेदन दिएका थिए। जसमा सबैभन्दा बढी हस्पिटेक इन्टरप्राइजेज प्रालीले २ करोड ९१ लाख ९ हजार ९३० रुपैयाँ कबोल गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सापकोटाले सुरुमा सोही कम्पनीलाई खरिदको जिम्मा दिने निर्णय गरेका थिए। सोही अनुसार अस्पतालले बोलपत्र स्वीकृत गर्ने आशयको सूचना भदौ ३० गते निकालेको छ।
डा सापकोटाले कमिसनकै लागि सबैभन्दा कम कबोल गर्नेभन्दा एक करोड ६० लाख बढी रकम कबोल गरेको हस्पिटेकलाई टेण्डर पारेको थियो। तर पछि कमिसन नमिलेको र हस्पिटेकभन्दा कम रकम कबोल गरेको मेडिहेल्थ सर्जिकलले असोज १ गते अस्पतालमा निवेदन दिएको थियो। उसले बोलपत्र दिने निर्णयमाथि छानबिन गर्न माग राख्दै निवेदन दिएको थियो।
त्यसपछि डा सापकोटाले बायोमेडिकल इन्जिनियर अमित चौधरीलाई फेरि मूल्यांकन गर्न जिम्मा दिएका थिए। 'त्यसक्रममा अन्य कम्पनीको मूल्यांकन नगरी निवेदन दिने कम्पनीसँग सेटिङ गरेर उसकै मात्र मूल्यांक गर्ने काम भयो र उसैलाई कमसिनमा कुरा मिलाएर टेण्डर दिने निर्णय भयो,' अस्पताल स्रोत भन्छ।
अस्पतालले उपलब्ध गराएको विवरण अनुसार पाँच शय्याको पीआइसीयूका लागि उपकर० तथा सामग्री खरिदका लागि निवेदन दिनेहरुको विवरण र कबोल रकम यसप्रकारण छ:
१. मेडिइक्यूप्स नेपाल प्राली- १ करोड ३० लाख ६८ हजार ४५०
२. सिभाज मेडिसिन कन्सर्न- १ करोड ४२ लाख ९७ हजार ५३२
३. ओम सर्जिकल कन्सर्न प्राली- १ करोड ५२ लाख ५७ हजार २६०
४. ब्लुमुन मेडिटेक फर्मा- १ करोड ३४ लाख ६७०
५. जेभी हिमशिखर मेडिकोच- २ करोड ६८ हजार ८००
६. हस्पिटेक इन्टरप्राइजेज प्राली- २ करोड ९१ लाख ९ हजार ९३०
७. दिव्यम कन्सर्न प्राली- २ करोड २७ लाख ९८ हजार ८८०
८. मेडिहेल्थ सर्जिकल प्राली- २ करोड ६४ लाख ९८ हजार ५००