वातावरण प्रदूषण, मौसम परिवर्तन र चिसोका कारण छालमा विभिन्न खालका रोग र समस्याहरु देखिन थालेका छन्। यी मध्ये जाडोमा चिसोले खाने छालाको रोग अर्थात् 'चिलब्लेन्स' धेरै मानिसमा देखिने गरेको छ। यस्मा हातखुट्टा सुन्निने, दुख्ने, रातो / निलो हुने र कोभिड-१९ मा पनि यस्ता लक्षण देखिने हुँदा जनमानसमा यस रोगका बारेमा जनचेतना जगाउन पनि निकै जरुरी छ।
के हो चिसोले खाने छालाको रोग चिलब्लेन्स?
चिलब्लेन्स हातखुट्टाका औंलाहरुसंग चिसो तथा ओसिलो वातावरणको सम्पर्कले हुने छालाको रोग हो। यस्मा हातखुट्टाका औंलाहरु रातो हुने, सुन्निने, पानी फोका र पिपका फोकाहरु आउने जस्ता लक्षण देखिन्छन्।
के चिलब्लेन्स कोभिड-१९ को संक्रमणमा पनि देखिने गर्दछ?
यस्ता हातखुट्टाका लक्षणहरु कोभिड-१९ को संक्रमणमा पनि देखिने र अरु लक्षण भन्दा धेरै दिन सम्म रहने हुँदा, यस्ता लक्षण भएका व्यक्तिमा कोभिड-१९ को परीक्षण गर्न जरुरी छ।
कस्ता मानिसलाई चिलब्लेन्स बढी देखिन्छ?
जवान र युवा अवस्थाका महिलाहरुलाई चिलब्लेन्स धेरै देखिने गर्दछ। त्यस्तै चुरोट सेवन गर्ने, दुब्लो पातलो मानिसहरु, हिमाल आरोहीहरु, चिसोमा काम गरिराख्नु पर्ने किसना लगायतका मानिसहरु, घरायसी काम गरिराख्नु पर्ने मानिसहरु, रगत क्यान्सर र बाथ रोगका बिरामीहरुलाई पनि यो रोग बढी देखिने गर्दछ।
चिलब्लेन्सका लक्षणहरु के के हुन्?
चिलब्लेन्स भएका व्यक्तिहरुमा चिसोसंगको सम्पर्कको केहि घण्टामा हात खुट्टाका औंला र कानमा चिलाउने, पोल्ने, सुन्निने, छाला रातो / प्याजी रंगको हुने हुन्छ। यस्ता लक्षणहरु २४ घण्टाभन्दा बढी रहने गर्दछन् र संक्रमण गम्भीर हुँदा पानीफोका र पिपका फोकाहरु आउछन्। त्यस्तै पानीफोकाहरु फुटेर घाउ हुने, दुख्ने सम्भावना हुन्छ।
चिलब्लेन्सको उपचार कसरी गर्ने?
आफ्नो शरीरको छालालाई सकेसम्म चिसो हावा, पानी र चिसो वातावरणबाट बचाउने। त्यस्को लागि पुरा शरीर ढाक्ने गरी लुगा लगाउने, पन्जा, मोजा लगाउने र बेला बेलामा मोइस्चेरआइजेर लगाइराख्ने।
जाडोमा व्यायाम गरिराख्ने। व्यायामले रक्त संचार बनाईराख्छ र शरीरको तापक्रम बनाई राखेर चिलब्लेन्स हुन बाट जोगाउँछ।
धूम्रपान नगर्ने
चिसोमा काम गर्नै पर्ने भएमा पहिला तातो पानीमा हातखुट्टा एकछिन डुबाउने अनि मात्र काम गर्ने
नाईट्रोग्लिसरिन मल्हम लगाउने, स्टेरोइड मल्हम लगाउने
संक्रमण अलि जटिल भएमा चिकित्सकको सल्लाह बमोजिम औषधि खाने
चिलब्लेन्सको गति कस्तो हुन्छ?
चिलब्लेन्स चिसोसंग छालाको सम्पर्क हटाएपछि क्रमिक रुपमा सुधार हुँदै जान्छ र धेरै जसोमा १ देखि ३ हप्तामा आफैं ठिक हुन्छ । तर माथि उल्लेखित जोखिम भएका बिरामीहरुमा चिलब्लेन्स दीर्घ रुपमा रही रहने र आउने जाने भइराख्ने हुन्छ।
-(छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा पुडासैनी निजामती कर्मचारी अस्पतालमा कार्यरत छन्।)