शास्त्रका अनुसार बाह्य संसारसँग मनलाई जोड्ने पाँच ज्ञानेन्द्रियमध्ये आँखाको महत्व मन र कर्मसँग जोडिएको छ। आँखा बिनाको संसार अध्यारो बाहेक कुनै परिकल्पना नै गर्न सकिदैन।
ज्ञानेन्द्रियहरुले बाह्य स्पर्शलाई स्वयं मनसँग जोड्दछन्। आँखाको दृष्टि बढाउन र कायम राख्न नेपालमा धेरै पहिलेदेखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन्। नेपालमा आँखाको रोकथाम र उपचारमा विभिन्न विशेषज्ञ अस्पतालहरुको भूमिका अतुलनीय छ। तर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शरीरको महत्वपूर्ण अङ्ग आँखा परीक्षण सम्बन्धी कार्यक्रम भने सायदै चलेको होला।
हामीले स–साना बालबालिकाहरुको आँखा सुरक्षामा पर्याप्त ध्यान दिन सकेका छैनौं। यसो भन्दैमा केही नभएको भन्ने कदापि होइन नेपाल सरकारले विद्यालय स्वास्थ्य कार्यक्रमको सञ्चालन र व्यवस्थापन गर्न २०७६ मा निर्देशिका तयार गरी स्थानीय निकायहरुको सक्रियतामा विद्यालयहरुमा विद्यालय नर्सको कार्यक्रम सञ्चालन हुँदै आएको छ। यसबाट साना भाइबहिनी विद्यार्थीहरु लाभान्वित भएका पनि छन्। आँखाको सरसफाई र यसको सुरक्षमा विशेष कार्यक्रमहरु कमै प्राथमिकतामा परेका छन्।
सन् २०१० को ¥यापिड एसेसमेन्ट अफ एभोइडेबल ब्लाइडनेस ( राब) को प्रतिवेदन अनुसार नेपालमा शून्य दशमलव ३५ प्रतिशत मानिसहरुमा अन्धोपना छ। प्राप्त तथ्याङ्क अनुसार नेपालमा १ लाख २० हजार मानिसहरु पूर्ण रुपमा अन्धोपना छ। १० लाख भन्दा बढी बालबालिकाहरु आँखामा दृष्टिको समस्या छ भने ९० हजार भन्दा बढी बालबालिकाहरु राम्ररी देख्न सक्दैनन्।
नेपालमा हरेक दिन ७ जना बालबालिका अन्धो हुन्छन् र तीमध्ये २ जनाको मृत्यु हुने गरेको छ भने ३० हजारभन्दा बढी बालबालिकाहरुमा अन्धोपन रहेको छ। अन्धोपनाको मुख्य समस्या मोतिविन्दु र ट्रकोमा सम्बन्धी समस्या हो।
माथिको तथ्याङ्कबाट आँखा सम्बन्धी समस्या बालबालिकाहरमा उच्च रहेको देखिन्छ। संविधानतः स्वस्थपूर्वक जीवन बाँच्न पाउने हरेक नागरिकको नैसर्गिक अधिकार हो। तरपनि बालबालिकाहरु उच्च जोखिममा छन्।
पछिल्ला दिनमा खासगरी बालबालिकाहरुकोे आँखालाई स्वस्थ राख्ने उद्देश्यले अमेरिकी सरकारको आर्थिक सहयोग, बिपी आइ फाउन्डेसनको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा नेपालका विभिन्न ६ जिल्लाहरु क्रमशः धादिङ्ग, मकवानपुर, काठमाडौ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लाका २०÷२० विद्यालय गरी जम्मा १२० दुरदराजका सामुदायिक विद्यालयहरुमा आँखाको दृष्टि जाँच कार्यक्रम सञ्चालनमा छ।
यस कार्यक्रम साच्चिकै आँखा बाह्य संसारलाई मनसँग जोडे जस्तै प्रभावकारी र आवश्यक कार्यक्रम रहेछ भन्ने कुरा यी जिल्लाहरुमा सञ्चालित कार्यक्रमको अनुगमनमा जाँदा शिक्षक, विद्यार्थी, अभिभावक, स्कूल नर्ससँग गरिएको छलफलबाट मनन गरियो।
यस कार्यक्रममा विद्यालयका साना भाइबहिनीहरु, जुनियर युवा सर्कलका शिक्षक नायक, उपशाखा प्रतिनिधि, विद्यालय नर्स, विद्यालय व्यवस्थापन समिति समेतलार्ई संलग्न गरीे आखाँको दृष्टि जाँच कसरी गर्ने, आँखाको लागि खतराका लक्षणहरु के के हुन (दुखाइ, रातो हुनु र धमिलो देख्नु) आँखा कति समयमा जाँच गर्नु जरुरी छ।
विद्यार्थीहरुको आँखा कमजोर छ भन्ने कसरी पत्ता लगाउने आदि जस्ता विषयहरुमा आधारित भई एक दिने तालिम समेटिएको छ। विद्यालयमा आँखा सम्बन्धी केही सामग्रीहरु विद्यार्थी र विद्यालयलाई उपलव्ध गराइएपछि तीनै विद्यार्थीहरु मार्फत कक्षा ५ देखि १० सम्मका सबै विद्यार्थीको आखा जाँच विद्यार्थीबाटै गर्न सकिने सुनौलो र प्रभावकारी कार्यक्रम रहेछ। आँखा दृष्टि जाँच विद्यार्थीहरुद्वारा विद्यार्थीका लागि विद्यालयमा सञ्चालित अनुपम कार्यक्रम प्रत्यक्ष रुपमा अवलोकन गर्ने अवसर मिल्यो।
यस कार्यक्रम मार्फत विद्यार्थी साथै माथिका सरोकारवालाहरुलाई दिइने तालिम पश्चात विद्यार्थीहरुले आफ्ना विद्यालयमा आफ्नो तथा सहपाठी साथीहरुको आँखाको दृष्टि जाँच गरी कमजोर दृष्टि भएकालाई आँखा जाँच केन्द्रहरुमा थप जाँचका लागि पठाउने काम गरिरहेका छन्।
प्राविधिक केन्द्रहरुमा पुग्न सजिलो होस् भन्ने हेतुले गुणस्तरको सुनिश्चित गर्दै नीजि तथा अन्य आँखा उपचार केन्द्रहरुमा सम्झौता गरी औषधि तथा चश्मामा केहि सहुलियत (ओपिडी शुल्क, ९०० सम्मको चश्मा निशुल्क र १०० रुपैयाँसम्मको औषधि) समेत कार्यक्रमबाट दिइएको छ।
कार्यक्रम पश्चात यसको निरन्तरताको लागि विद्यालयको वार्षिक बजेटमा व्यवस्था गरेर, जुनियर युवा सर्कलको बजेटबाट व्यवस्था गरी अन्य साझेदारहरुको समन्वयमा वा स्थानीय तहसँगको समन्वयमा पनि नियमित गर्न सकिने सम्भावना देखिन्छन्।
परिक्षणको नतिजा अनुसार बालबालिकाको दृष्टिमा हुने समस्या भनेको ठूला मानिसहरुमा हुने भन्दा फरक हुने गर्दछ। प्रायः उनीहरु टाढाको वस्तु देख्न सक्दैनन। फलस्वरुप शिक्षकले पढाउँदा बोर्डमा लेखेको नदेख्ने हुँदा बोर्डमा नहेरी नजिकको साथीबाट उतारिरहेका हुन्छन्।
जुन कुरा विद्यालयका शिक्षकलाई र उनीहरुको साथीलाई मात्र थाहा हुने कुरा शिक्षक र विद्यार्थीहरुसँग छलफल गर्दा थाहा भयो। यो कुरा उनीहरुका अभिभावकलाई जानकारी नहुने रहेछ जसले समस्या झन वढ्ने नै भयो र उनीहरु समयमै उपचार पाउनबाट बञ्चित भई समस्या अझ बढ्दै जाने र उपचार पनि खर्चिलो बन्दै देखिन्छ।
उक्त सञ्चालित परियोजनाको सहयोगमा यस कार्यक्रमलाई अन्य जिल्लाहरुका विद्यालयहरुमा समेत बढाउँदै लैजान सकेमा बेलैमा पहिचान भई हाम्रा साना भविष्यका कर्णधारहरुले आँखाको समस्या भोग्न पर्ने थिएन र भएमा पनि समयमा नै समाधान गर्न सहज हुने थियो।
यसका लागि नेपाल रेडक्रस सोसाइटीको आफ्नो विद्यालयस्तरमा रहेको जुनियर युवा रेडक्रस सर्कल मार्फत सजिलैसँग गर्न सकिने र एकपटक सर्कललाई तालिम दिइसकेपछि सामान्य दृष्टि जाँचको सीप सोहि भाइबहिनीहरुबाट तलको कक्षाकालाई हस्तान्तरण गर्न सकिने र स्वास्थ्य बीमा मार्फत सोभन्दा माथिको उपचार गर्न सकिने हुँदा यो कार्यक्रमबाट थोरै लगानीमा वृहत्त उपलव्धि हुन सक्ने कार्यक्रम पनि हो।
यसका साथै विद्यालयमा व्यवस्थापन गरिएको स्कूल नर्सबाट यसमा थप योगदान हुन सक्छ। सामान्य दृष्टि जाँचबाट नै समस्या रहेका व्यक्तिहरु पहिचान हुने हुँदा अन्य सुविधाका लागि पनि न्यूनतम व्यक्तिहरुमा अतिरिक्त जाँचका लागि पुग्ने हुँदा उनीहरुले पाउने सुविधाहरुमा पनि प्रभावकारिता आउन सक्छ।
आँखा अस्पतालहरुमा आँखाका बिरामीहरुको बढदो संख्या र लामो समयसम्म प्रतिक्षा गर्नुपर्नेको कारण जाँच गर्न नै नजाने कुरामा पनि कमी ल्याउन सकिन्छ। यसको अर्को पक्ष भनेको दृष्टि कमजोर भएका बालबालिकाको अभिभावकहरुलाई उनीहरुको समस्याबारे समयमा नै जानकारी गराएर समयमै उपचार गराउन सकेमा धेरै बालबालिकाहरुमा हुने दृष्टि समस्यालाई दिगो समाधान गर्न सकिन्छ।