स्वास्थ्य तथा जनसङख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तरगत परिवार कल्याण महाशाखाद्धारा आयोजित कोभिड–१९ विरुद्धको फाइजर खोप अभियानको एकदिने अभिमुखिकरण गोष्ठिमा जाने मौका प्राप्त भयो। आज भन्दा करिव एक महिना अगाडि गरिएको उक्त कार्यक्रममा फाइजर खोपको परिचय, खोपकोे ढुवानी तथा भण्डारण, संचालन अवधि, खोपको मात्रा,तयार गर्ने तरिका, लक्षित समूह, जनशक्ति परिचालन तथा खोप लगाइसकेपछिका केहि सामान्य र जटिल असरहरुका बारेमा जान्ने मौका मिल्यो।
फाइजर खोजको परिचय, ढुवानी तथा भण्डारण
फाइजर खोप व्यवस्थापनमा बढि ध्यान दिनुपर्ने रहेछ। कोभिड–१९ विरुद्ध दिइने यो खोप अरु खोप भन्दा भिन्न बनावटको रहेछ। अरु खोप भन्दा भिन्न प्रकारले यसलाई भण्डारण गरिन्छ। भण्डारण गर्दा यो खोपलाई सूरुमा जमेको अवस्थामा धेरै चिसो (अल्ट्रा कोल्ड चेन -६० डिग्रीदेखि -९० डिग्री सेल्सियस)मा राखिन्छ। यसरी अल्ट्रा कोल्ड चेनमा भण्डारण गरिँदा यसको आयु करिव ९ महिना सम्मको हुन्छ। तर जब यसलाई दुई डिग्री सेल्सियस देखि आठ डिग्री सम्मको तापक्रममा राख्न सुरु गरिन्छ तब यसको आयु जम्मा ३१ दिनको हुन्छ। जिल्लामा खोप भण्डारण गर्दा पनि २ डिग्री देखि ८ डिग्रीको तापक्रममा यो खोप राखिएको थियो। स्वास्थ्य संस्थामा यो खोप पठाउँदा कोल्ड वक्समा कण्डिसनिङ गरेको आइसप्याक राखेर खोप लगाउने दिननै ढुवानि गरिएको थियो। यो खोप कन्सन्टे«ट झोलको रुपमा आउँदो रहेछ। खोप भायलमा एक दशमलव आठ मिलीलिटर घोलक मिसाएर खोप तयार पारेपछि ६ डोेजमा उपलव्ध हुँदो रहेछ। खोप खेर जान नदिनेगरि पुर्ण डोज खपत हुने सुनिश्चित भएपछि (कम्तिमा ५ जना) खोपको भायल खोल्न उपयुक्त हुने रहेछ। यो खोप शून्य दशमलब तीन मिली बाँया पाखुराको माथिल्लो बाहिरी भाग मासु भित्र दिइन्छ। साथै पहिलो खोप दिएको २१ देखि २८ दिनभित्र दोस्रो डोज दिइन्छ।
पहिलो चरणमा नेपाल सरकारले तोकेको लक्षित समूह
यो खोप दिइँदा खोपको उपलब्धता अनुसार तोकेरै समूह लक्षित गरिएको थियो। नेपालमा यो खोप हालका लागि १२ वर्षमाथिका सबै दीर्घरोगी (जस्तै मुुटुको समस्या, मिर्गौलाको समस्या, क्यान्सर रोगी, फोक्सोको समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका, मस्तिष्क रोग भएका,उच्च रक्तचाप तथा मधुमेह भएका,अङग प्रत्यारोपण गरेका र पहिले कुनै पनि प्रकारको कोभिड खोप नलगाएकाहरुलाई) दिइएको थियो। १० दिने कार्यक्रममा सुरुको ७ दिन माथि उल्लेखित समूहलाई खोप दिइएको थियो भने अन्तिम तीन दिन १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको थियो।
यसरी सञ्चालन भयो खोप कार्यक्रम
पहिलो चरणमा हामीले ७ दिन (कात्तिक २८ देखि मंसिर ४ गते) सम्म १२ वर्ष माथिका दीर्घरोगीलाई खोप लगाएका थियौँ भने त्यसपछि बाँकि तीन दिन १२ वर्षदेखि १७ वर्षसम्मका बालबालीकालाई खोप लगाएका थियौँ। भक्तपुर क्यान्सर अस्पताल लगाएत अन्य विभिन्न अस्पताल जहाँ दीर्घरोगीको चाप हुन्छ त्यहाँ पनि महाशाखाले खोप दिइने ठाउँ निर्धारण गरि सोहि मिति र समयमा खोप लगाएको थियो।
सहभागीता
कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागीता रहेको थियो। खोप दिने स्वास्थ्यकर्मी २ जना,सम्बन्धित अस्पतालबाट तोकिएको १ जना संयोजक चिकित्सकको सहभागीता रहेको थियो । यस्तै तथ्यांक फोकल पर्सन १ जना,सम्बन्धित जिल्ला, प्रदेश स्वास्थ्य निर्देशनालय र आपुर्ति व्यवस्थापन केन्द्र,केन्द्रिय खोप भण्डारण प्रमुख, कोल्डचेन फोकल पर्सन र स्थानीय पालिका स्वास्थ्य शाखा र परिवार कल्याण महाशाखा,व्यवस्थापन महाशाखा, जिल्ला र साझेदार निकायका सुपरिवेक्षकहरुको सहभागीता रहेको थियो।
कार्यक्रमको सफलता
कार्यक्रमको उद्घाटन भक्तपुरका प्रमुख जिल्ला अधिकारी र अस्पताल प्रमुखबाट भएको थियो। सूरुमा कार्यक्रममा सहभागीहरुलाई खोपको बारेमा सहि जानकारी प्रदान गरिएको थियो। खोप लगाएपश्चात देखिन सक्ने सामान्य असर (जस्तै ज्वरो आउने, खोप लगाएको ठाँउमा दुख्ने,चक्कर आउन सक्ने) का बारेमा जानकारी दिइयो। साथै दीर्घरोगी भए÷नभएको ऐकिन गर्ने,पहिले कोभिड खोप नलगाएको निश्चीत भएपश्चात मात्रै खोप प्रदान गरिएको थियो। करिव १० दिनको कार्यक्रममा हामीले एक हजार चार सय पैँसठ्ठी जनालाई खोप लगाउन सफल भयौँ। खोप लगाएकाहरुलाई २१ देखि २८ दिन भित्र फेरि अर्को डोज लगाइने छ। खोप अभियान सफल पार्न सबैको सहकार्य आवश्यक छ। खोप अभियान सफल पार्न हामी सबै एकजुट बनौ। कोरोनाबाट आफु बचौ अरुलाई पनि बचाऔँ।
-(डा आचार्य भक्तपुर क्यान्सर अस्पतालमा फाइजर खोप संचालन फोकल चिकित्सक हुन्)