जाडो बढेसँगै चिसो मौसममा देखिने धेरै रोगहरु पनि बढ्दै छन्। यी मध्ये रेस्पिरेटरी सिन्सिसल भाइरस (आरएसभी)को संक्रमण पनि तीब्र रुपमा बढदै छ। आरएसभी साना बालबालिकामा श्वासप्रस्वास सम्बन्धी संक्रमण गराउने सबैभन्दा प्रमुख कारण हो। ठूलो बालबालिका तथा वयस्क व्यक्तिमा सामान्य रुघखोकी मात्र गराउँछ भने साना बालबालिकाहरू मुख्यत: एक वर्षभन्दा कम उमेरका शिशु, फोक्सो तथा मुटुको समस्या भएका बालबालिका, रोग प्रतिरोध क्षमता कम भएका बालबालिकाहरूलाई निमोनिया (फोक्सोको सङ्क्रमण) र ब्रोंकियोलाइटिस (श्वास नलीको संक्रमण)को लक्षण देखिन सक्छ र कसैलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था समेत आउन सक्छ।
दुई वर्षको उमेरसम्म लगभग सबै बालबालिकालाई कम्तीमा एक पटक यसको संक्रमण हुन्छ। नेपालमा रेस्पिरेटरी सिन्सिसल भाइरस (आरएसभी) हरेक वर्षमा डिसेम्बर (पुस-माघ) देखि मार्च (फागुन-चैत) महिनामा महामारी रुपमा फैलिने गर्दछ।
लक्षणहरु
प्रायः सामान्य रुघाखोकीको लक्षण देखिन्छन्
• नाक बन्द हुने
• खोकी लाग्ने
• मन्द ज्वरो आउने
• सुस्त हुने
• घाँटी दुख्ने
जटिल अवस्था
- ब्रोंकियोलाइटिस (श्वास नलिको संक्रमण)
- निमोनिया (फोक्सोको संक्रमण)
- डिहाइड्रेसन (जल वियोजन)
कसरी सर्दछ?
आरएसभी भाइरस निकै छिटो सर्ने भाइरस हो। विद्यालय, चाइल्ड केयर सेन्टरमा एउटा बालबालिकामा देखिएमा तीब्र रुपमा अरूमा सर्ने भएकाले धेरै बालबालिकाहरु एकै पटक बिरामी हुन सक्छन्।
सर्ने माध्यम
• खोक्दा, हाच्छिउँ गर्दा निस्कने ड्रप्लेट्सको माध्यमबाट
• ड्रप्लेट्स परेको हात, कपडा, ढोका, भर्याङ आदी छुँदा
• साना नानी बाबुलाई अनुहारमा चुम्बन गर्दा
सञ्चो हुन्छ?
सामान्यतः डेढदेखी दुई हप्ता भित्रमा यसका लक्षणहरु आफैं सुधार भएर जान्छ। कसैलाई ३ हप्तासम्म लाग्न सक्छ।
पहिचान कसरी गर्ने?
• सामान्यतः लक्षणहरु हेरेरनै डक्टरले पहिचान गर्न सक्दछन्।
• नाकको स्वाब परीक्षण गरेर रेस्पिरेटरी सिन्सिसल भाइरस किटान गर्न सकिन्छ।
उपचार
• धेरै जसोमा सामान्य लक्षण मात्र देखिने भएकोले कुनै विशेष उपचारको आवश्यकता पर्दैन।
• एन्टिबायोटिक्सले ब्याक्टेरियामा मात्र काम गर्दछ। (आरएसभी लगायत कुनै पनि भाइरसको संक्रमणमा एन्टिबायोटकले सहयोग गर्दैन। अनावश्यक रुपमा एन्टिबायोटिक्सको प्रयोग नगरौं। चिकित्सकको परामर्शमा मात्र एन्टिबायोटिकको प्रयोग गर्ने बानी बसालौं।)
घरेलु उपचार
• झोलिलो खाना प्रसस्त दिने
• शान्तसँग सजिलो गरी बस्ने वातावरण बनाउने
• स्लाइन नजल ड्रप्स नियमित राखेर नाक सफा बनाउने
• नाकको सिँगान निकाल्न नजल एस्पिरेटर/बल्ब सिरिन्जको प्रयोग गर्न सकिन्छ।
• ज्वरोको लागि प्यारासिटामोल/इबुप्रुफिनको प्रयोग गर्न सकिन्छ।
• साना शिशुलाई जथाभावी खोकी रोक्ने कफ सिरप प्रयोग नगर्ने।
डाक्टरलाई कहिले देखाउने
• उच्च ज्वरो (१०२°F भन्दाबढी) आएमा वा ज्वरो बढ्दै गएमा
• खोकी बढ्दै गएमा
• घ्यार-घ्यार गरेर सास फेरेमा
• धेरै रोईरहने भएमा
• दूध चुस्न नसकेमा
• डिहाइड्रेसनको लक्षणहरु जस्तै: आँखा गड्ने, ओठ मुख सुक्ने, पिसाब कम हुने भएमा।
खतराको लक्षणहरु
• छिटो छिटो सास फेर्ने
• कोखा हान्ने
• निलो हुने
• धेरै सुस्त हुने
बच्ने उपाए
• नियमित हात धुने
• खोक्दा, हाच्छिउँ गर्दा रुमालले छोप्ने या कोहिनामा खोक्ने
• बालवालिकालाई एक अर्काको जुठो खान नदिने
• रुघाखोकी लागेको व्यक्ति बाट बालवालिकालाई टाढाराख्ने
• बालवालिकालाई अनुहारमा किस नगर्ने
खोप छ?
- अहिलेसम्म आरएसभीको प्रभावकारी खोप बनेको छैन। त्यसैले बालबालिकाको व्यक्तिगत सरसफाईमा ध्यान दिएर।
आरएसभी भाइरसको संक्रमणबाट जोगिनु नै सर्वोत्तम उपाय हो।
(डा परियार कन्सलटेन्ट पेडियाट्रिसियन हुन्।)