काठमाडौं- नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि छलफल भइरहेको छ। प्रतिवेदनमा प्रचण्डले स्वास्थ्यलाई पनि समेटेका छन्। स्वास्थ्य क्षेत्रमा देखा परिरहेका समस्याहरुको सामना गर्न वस्तुवादी राष्ट्रिय स्वास्थ्य नीतिको विकास गर्नुपर्नेमा उनको जोड छ।
पर्यावरण विनाश, पृथ्वीको तापक्रममा वृद्धि जलवायु परिवर्तन, पूँजीवादी उत्पादन प्रणालीले श्रृजना गरेको खानपिन र आहारविहारको संस्कृति समेतले मानिसहरुको स्वास्थ्यमा घातक असर परिरहेको उनको बुझाइ छ। जसको परिणाम स्वरुप नयाँ-नयाँ रोगको विकास भइरहेको उनले उल्लेख गरेका छन्।
'उच्च रक्तचाप, डायबिटिज, क्यान्सर, मुटुरोग, किड्नी फेल हुने जस्ता रोगहरु गुणात्मक र भयावह रुपले विकास भइरहेका छन्। नयाँ-नयाँ रुपमा भाइरस आक्रमण हुने प्रक्रिया र अहिलेको कोरोना महामारीसम्म हेर्दा मानव जाति माथि नै हमला भइरहेको देखिन्छ', प्रतिवेदनमा भनिएको छ, 'स्वास्थ्य क्षेत्रमा देखा परिरहेका समस्याहरुको सामना गर्न वस्तुवादी राष्ट्रिय स्वास्थ्य नीतिको विकास गर्नु पर्दछ।'
मानिसको दैनिक जीवनचर्या, खानपिन, शारीरिक अभ्यास, खेलकूद, योगासन लगायत स्वस्थ्य जीवनका निमित्त आवश्यक चेतना अभिवृद्धिका लागि ठोस पहल गर्नुपर्ने उनको भनाइ छ। पार्टीका तर्फबाट सबै तहमा स्वस्थ जीवनका लागि आवश्यक ठोस नीति, योजना र कार्यक्रम बनाई आम जनतालाई प्रशिक्षित गर्न जोड लगाउनुपर्ने उनले बताएका छन्।
प्रचण्डको प्रतिवेदनमाथि राम कार्कीको पुरक प्रस्तावमा स्वास्थ्य
प्रचण्डको प्रतिवेदनमाथि पूरक प्रस्ताव पेश गरेका राम कार्कीले पनि स्वास्थ्य क्षेत्रलाई महत्व दिन जरुरी रहेको दर्शाएका छन्। उनले देशका सबै वडाहरूमा जनस्वास्थ्यको सञ्जाल विस्तार गर्ने प्रतिबद्धता माओवादीको हुनुपर्ने बताएका छन्।
रक्तचाप, मधुमेह, छातिको एक्सरे, दिशापिसावको परीक्षण गर्ने प्रयोगशालाको निर्माण सबै वडाहरूमा गरिनेछ,' उनको प्रस्तावमा भनिएको छ।
जनस्वास्थ्य केबल चिकित्साशास्त्रको विषय नभएर राजनीतिसँग प्रत्यक्ष जोडिएको विषय रहेको अवधारणालाई माओवादी केन्द्रले भुइँ तहसम्मै पुर्याउनुपर्ने उनको भनाइ छ। प्रत्येक वडामा स्त्री रोग विशेषज्ञ, शिशु स्याहार र शिशु स्वास्थ्य विशेषज्ञको व्यवस्था गर्नुपर्ने र परम्परागत चिकित्सा व्यवस्थालाई क्रमशः वैज्ञानिक बनाउँदै लैजाने कुरामा विशेष जोड हुनुपर्ने उनको प्रस्तावमा छ।
उनी भन्छन्, 'झारफुक गर्ने, जडिबुटीको उपचार गर्ने, स्थानीय धाई आदिलाई ज्वरो जाँच्ने, रक्तचाप जाँच्ने, मधुमेहको परीक्षण गर्ने तालिम दिँदै उनीहरुसँग भएका ज्ञान र सीपलाई वैधानिकता दिनेछौं। उनीहरुमा व्याप्त अन्धविश्वासलाई हटाउँदै जाने कुरामा हाम्रो विशेष ध्यान हुनेछ,' उनी प्रस्ताव गर्छन्, 'अन्यथा, यो समुदाय अन्धविश्वासकै पूर्णकालिन वाहक बनिरहनेछन्।'