क) केही भएकै छैन, किन औषधि खानु?
कहिले काहीँ रक्तचाप बढी हुँदा केही पनि लक्षणहरू नदेखिन सक्दछन्। बिरामीलाई केही अप्ठ्यारो नभईकन पनि रक्तचाप बढी हुन सक्छ। त्यसैले रक्तचापलाई सुषुप्त हत्यारा पनि भनिन्छ। रक्तचाप नाप्दाखेरी यदि बढी छ भने लक्षणहरू पर्खिनु पर्दैन, उपचार प्रक्रियामा जानुपर्दछ। आहार विहारमा सुधार तथा जीवनशैली परिवर्तनले गर्दा नघटेमा चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्दछ। केही भएपछि मात्र औषधि खाउँला भनी पर्खदा मृत्युको मुखमा पुग्न बेर हुँदैन। बरू केही नराम्रो नहोस् भन्नाका खातिर औषधि सेवन गरी ढुक्क भई बस्नु राम्रो।
ख) औषधि छोड्न मिल्छ ? बाँचुन्जेल खानुपर्ने हो ?
उच्च रक्तचापको औषधि सुरु गरिसकेपछि नियमित खाइरहनुपर्छ र औषधि खाएबापत उच्च रक्तचाप घट्ने हो। औषधि छोड्दा बढ्ने हुन्छ। कतिपय औषधिहरू एक्कासी छोड्दा रक्तचाप अति नै बढी भई आकस्मिक अवस्था पनि आउन सक्छ। त्यही भएर चिकित्सकको परामर्शविना औषधि छाड्नु हुँदैन। कहिलेकाहीँ उचित खानपिन तथा नियमित शारीरिक व्यायामको प्रभावले गर्दा रक्तचाप घट्दै जाने र औषधिको मात्रा कम गराउँदै गएर पूर्णतया रोक्न नै मिल्ने सम्भावना पनि रहन्छ। त्यस्तै अन्य विभिन्न रोगहरूले गर्दा शरीर कमजोर भई रक्तचाप कम भएका बिरामीहरूलाई औषधि रोक्न मिल्ने पनि हुन सक्छ। योबाहेक मिर्गौला, थाइरोइड रोग तथा अन्य कुनै कारणले रक्तचाप बढेको छ भने कारणको उपचार पूरा भएपश्चात् उच्च रक्तचापको औषधि नचाहिन पनि सक्छ।
यीबाहेकका अन्य अवस्थाहरूमा औषधि रोक्न नमिल्न सक्छ। यो रोग औषधिले गर्दा निर्मूल हुने नभई नियन्त्रणमा आउने मात्रै हो। औषधिविना जीवन नै जोखिममा पुग्ने भएपछि दिनको १-२ चक्की औषधि खान बोझ मान्नु पनि भएन। औषधि सुरक्षित नै छन् र नकारात्मक असर खासै हुँदैन। यिनै औषधिले गर्दा स्वस्थ जीवन जिउनु र लामो आयु बाँच्न पाइन्छ भने यसलाई किन भार सम्झने?, आखिर दिनभरमा हामी थुप्रै कुराहरूखाइराखेकै हुन्छौं भने सानो गोली औषधि जीवनकै वरदान सम्झी खुशीसाथ सेवन गरौं। केही सङ्का लागेमा वा आवश्यक परेमा सम्बन्धित चिकित्सकको राय लिऔं। मानिस भइ जन्मनु अहोभाग्य हो। मानव चोला अमुल्य छ। यसमा खेलवाड तथा हेलचेक्राइँ नगरौं।
ग) औषधिले त मिर्गौला खराब गर्छ रे नि
उच्च रक्तचाप औषधिले मिर्गौला खराब गर्दैनन् बरू यसलाई बचाउँछन्। रक्तचाप नियन्त्रणमा राख्दा मिर्गौलालाई जोखिम घट्छ। कुनै व्यक्तिमा इनालाप्रिल तथा लोसारटान समूहको औषधिले मिर्गौलामा रक्तप्रवाह कम गराउँछ तथा मिर्गौलाभित्रको आन्तरिक रक्तचापको सन्तुलन बिगार्छन्, तर चिकित्सकको सुझावअनुसार सेवन गरिएको उपर्युक्त औषधिले मिर्गौलालाई बचाइराख्छ।
घ) खुट्टा सुन्निन थाल्यो
एम्लोडिपिन (Amlodipine) समूहको औषधिले कुनै कुनै व्यक्तिमा खुट्टा सुन्निने हुन सक्छ। सुरु गरेको केही हप्तादेखि केही महिनासम्म यो असर देखिन सक्छ। धेरै बढी सुन्निएमा औषधिको मात्रा घटाउने तथा वैकल्पिक औषधिमा जान सकिन्छ। खुट्टा सुन्निएको व्यक्तिको अन्य कारणहरू छन् भने सो अनुसार उपचार गर्नुपर्दछ। औषधिले गर्दा खुट्टा सुन्निनुमा अरू जोखिम केही हुँदैन। बढी छ भने औषधि फेरेपछि ठीक भइहाल्ने हुन्छ।
ङ) औषधि सुरु गरेको, चक्कर आएर उठ्नै सकिनँ
प्राजोनोन, इनालाप्रिल तथा लोसारटान समूहका औषधिले यस्तो असर गर्न सक्छन्। बढी उमेर भएका बिरामीहरूमा जुरूक्क उढ्दा रक्तचाप घट्न गई मस्तिष्कमा रक्तप्रवाह कम हुन्छ। यस्ता औषधिले शरीरका रक्तनली बढी फुकाउने हुनाले एक्कासी उभिँदा रगतको बढी हिस्सा शरीरको तल्लो खण्डमा खिचिन्छ र चक्कर लाग्छ। सुतेर उठ्दा बिस्तारै गर्ने, उठ्नु अगाडि खुट्टा चलाउने, उभिनुअगाडि खुट्टा खाटबाट झारेर बस्ने, केही आधार समाएर उठ्ने आदि उपायहरू सहयोगी हुन सक्छन्। लक्षण बढी भएमा वैकल्पिक औषधिमा जान सकिन्छ।
च) घरमा त ठीकै हुन्छ, अस्पताल गएपछि बढी हाल्छ
केही हदसम्म यो यथार्थ हो। करिब २० देखि २५ प्रतिशत बिरामीहरूमा घरमा ठीकै रहिराखेको रक्तचाप अस्पतालमा बढी देखिन्छ। विभिन्न मनौवैज्ञानिक कारण तथा त्रासले गर्दा यस्तो हुन सक्छ। यसो भएमा घरमै लगातार २४ घण्टासम्म रक्तचाप नाप्ने प्रविधि (Ambulatry BP Measurement) प्रयोग गरी वास्तविकता पत्ता लगाउन सकिन्छ।
६) प्रेसर बढ्यो भनेर नुन मुखमा हालेकै छैन
नुनमा पाइने सोडियम शरीरका लागि अत्यावश्यक खनिज पदार्थ हो। केही मात्रामा नुन सेवन गर्नुपर्दछ। पूरै रोक्दा नकारात्मक असरहरू आउन सक्छ। विभिन्न खाद्य पर्दाथहरूबाट अप्रत्यक्ष रूपमा सोडियम छ तर त्यो मात्रा अपुग हुन सक्छ। रक्तचाप बढ्यो भन्दैमा नुन नभई कम मात्रा सेवन गर्ने तथा नियन्त्रणका अन्य उपायहरू अपाउनुपर्दछ।
ज) दिनहुँ काँचो करेला खाए हुँदैन र ?
कोही बिरामीहरूले दिनको १ वा २ वटासम्म काँचो करेला तथा कोहीले त करेलाको जुस खाने गरेको बताउँछन्। केही हदसम्म रक्तचाप घट्ने भए पनि औषधिहरूमा बढी अनुसन्धान भएकोले तथा सरल सहज पनि हुने हुनाले औषधि सेवन गर्नु नै राम्रो हो। करेलाको जुस मात्रै खाएर रक्तचाप घटाउने कुरामा त्यति व्यवहारिक पनि छैन। कति खाएमा कुन तहसम्म घट्छ भन्ने कुरा प्रमाणित पनि छैन। त्यस्तै बिरामीलाई पनि त्यति सजिलो हुँदैन।
-(डा लम्सालको पुस्तक 'रक्तचाप समस्या तथा समाधान'बाट)