नेपाल जनस्वास्थ्य संघ (नेफा), नेपालमा जनस्वास्थ्यको क्षेत्रमा कार्य गर्ने प्राविधिक र व्यवसायिक जनशक्तिहरुको समन्वय र सहकार्यको मध्यमद्वारा समग्र राष्ट्रकै स्वास्थ्य प्रणाली सुधारमा योगदान गर्ने र स्वास्थ्य सुचनामा पहुच पुर्या्इ सम्पूर्ण नेपाली जनताहरुको स्वास्थ्य अवस्थामा गुणस्तरमा सुधार ल्याउन टेवा पुर्यादउने ध्येयका साथ लगभग ३ दशक अगाडि स्थापना भएको विशुद्ध पेशागत संस्था हो।
संस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केहि योगदान त पक्कै गरेको छ तर जुन ध्ययका साथ संस्था स्थापना भएको थियो, व्यवहारमा हालसम्म गुणात्मक सुधारका कामहरु भएको महसुस गर्न सकिँदैन। प्राय: गरी चुनावी समयमा मात्र सामाजिक संजाल र संचार मध्यममा छाउने यो संस्था, सामान्य समयमा गुमनाम जस्तै हुने गरेको छ। विभिन्न दल/ गुट निकट जनस्वास्थ्यकर्मीहरुको प्यानल सहित चुनावी घोषणा पत्र वा प्रतिबद्धता पत्र हेर्दा कुनै खोट छैनन् तर विगतका प्रतिवद्दताको कार्यान्वयन अवस्था हेर्दा भने उदेक लागेर आउँछ।
विगतको निरन्तरता स्वरुप आगामी पुस २४ गते हुन गईरहेको नेपाल जनस्वास्थ्य संघको नेतृत्वको चुनावमा स्पष्ट कित्ताकाट देखिएको छ। सैद्धान्तिक रुपमा स्वायत्त र स्वतन्त्र हुनुपर्ने संस्था र यसका सदस्यहरु, राजनीतिक र गुटगत पूर्वाग्रह बोकेर प्रतिस्पर्धामा उत्रिनु लोकतान्त्रिक अभ्यासका हिसाबले त ठिकै नै होला। तर, जनस्वास्थ्यकर्मीहरु बिचको सद्भाव र समन्वय विकासका दृस्टिकोणले त्यति सामान्य नबन्न सक्छ। हालको राष्ट्रिय राजनीतिकमा गुटबन्दिले सिर्जना गरेको परिस्थितिलाई समेत ख्याल नगरी प्रगतिशील र पेशागतको नाममा आ-आफ्नो प्यानलनै खडा गरि चुनावमा उत्रिँदा यसले संस्थाको दुरगामी भूमिकामा कस्तो प्रभाव राख्दछ भन्ने कुराको हेक्का राख्न जरुरी छ। त्यसैले जनस्वास्थ्यकर्मीहरुले यसपटक मतदान गर्दा के को आधारमा प्रतिनिधि छान्ने भन्ने कुरामा ध्यान दिन जरुरी छ। त्यसैले साधारण जनस्वास्थ्यकर्मीको हैसियतले सम्पूर्ण अग्रज जनस्वास्थ्यकर्मी र साथीभाईहरुमा भोट हाल्दा निम्न कुराहरुमा ध्यान पुर्याउन अनुरोध गर्दछु।
१) गुटगत आस्थाका आधारमा मतदान नगरौं, अबको कार्यसमिति पदाधिकारी र सदस्यहरु चयन गर्दा पेसा, विषय विज्ञता, व्यक्तिगत व्यवसायिकता, पेशागत योगदानका आधारमा मात्र मतदान गरौं होइन भने नेफालाई दक्षिणपन्थी (यथास्थितिवादी) दिशामा उत्प्रेरित बनाउन तपाईं हाम्रो नै योगदान हुनेछ।
२) नेपालमा जनस्वास्थ्यका क्षेत्रमा ठुलो विकृति छ त्यसलाई नियमन र निराकरण गर्न विगतको घोषणा पत्रहरुमा भनिएजस्तो जनस्वास्थ्य परिषदको परिकल्पना कहाँ पुग्यो? राष्ट्रिय स्वास्थ्य प्रणालीमा जनस्थ्यको क्षेत्र विस्तार र प्रभावमा कति प्रगति भयो? जस्तै प्रत्येक तहमा नयाँ दरबन्दी सिर्जना, उत्पादन र खपतको सन्तुलनका लागि कस्ता प्रयास भए? समय सापेक्ष पाठ्यक्रमको विकास र सुधार बारेमा नेफाले कति प्रगति गर्यो भन्ने कुरामा प्रश्न गरौं, विचार पुर्याउ। त्यसैले घोषणापत्र मात्र नहेरौं, यसमा विगतको बस्तुगत प्रगतिसँग तुलना गरौं।
३) नेपालमा जन/स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र वितरणको वर्तमान अवस्था निकै नै चिन्ताजनक छ। विद्यमान अवस्थामा जनस्वास्थ्यकर्मीको उत्पादन हेर्ने हो भने लगभग ३१ बिपीएच र ८ एमपीएच कलेजहरु संचालनमा छन्। यी कलेजहरुबाट बिपीएच र एमपीएच मात्र बार्षिकरुपमा १५०० भन्दा माथि उत्पादन हुँदै गएको अवस्था छ जसमा विदेशबाट पढेर आउनेहरु संख्या पनि उल्लेख्य रुपमा छ। जुन यो संख्यामा समावेश गरिएको छैन भने उत्पादन भएका जनस्वास्थ्यकर्मीहरुलाई उपयोग वा खपत गर्ने प्रमुख आधिकारिक निकाय भनेको स्वास्थ्य मन्त्रालय हो। यस मन्त्रालयमा अहिलेसम्मको तथ्यांक वा संघीयतामा जनस्वास्थ्यकर्मीको दरबन्दी केलाएरा हेर्ने हो भने ५१३ जना मात्र छ तर स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएका जनस्वास्थ्यकर्मीको संख्या पाँच हजारको हाराहारीमा (बिपीएच ३८७५, एमपीएच १११२, डिएचपीई ७७) छ। यसबाट हामी के स्पस्ट हुनुपर्छ भने अबको चुनावबाट व्यक्तिगत प्रतिष्ठा र शक्ति आर्जन गर्न खोज्ने नेतृत्व नभएर स्वास्थ्य मन्त्रालय र राज्य संचालनका अन्य निकाय साथै राष्ट्रिय र अन्तराष्ट्रिय संघ संस्थाहरुसँग नेगोसियसन गर्न सक्ने नेतृत्वको आवश्यक छ।
४) जनस्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति (ब्रेन ड्रेन) सम्बन्धि समस्याको समाधान निकाल्न विदेशबाट जनस्वास्थ्य बिषय अध्यन गरेकाहरुको समस्याको समाधानको बारेमा पनि संघले सुझबुझका साथ कदम चल्नु पर्ने अवस्था छ। जसले गर्दा शिक्षामा सर्वव्यापी पहुँचको मान्यतालाई स्थापित गरोस। उदाहरणका लागि अहिलेको अवस्थामा कुनै नेपालीले जोन हप्किन्स विश्वविद्यालयबाट एमपीएच गरेर आयो भने त्यसले नेपालमा समकक्षता नपाउने वातावरण छ तर उसले संसारको वा नेपालको कुनै कलेजमा गयो र दुई वर्ष विताएर आयो भने उसले समकक्षता पाउँछ किनकि उक्त्त व्यक्तिसंग दुई वर्ष समय विताएको रेकर्ड हुन्छ। यसलाई विश्लेषण गर्ने हो भने हाम्रो वर्तमान शिक्षा प्रणालीले गुणस्तर र सिकाइ विधिलाइ गौण र पढाइमा विताएको समयलाई मात्र महत्व दिएको महसुस हुन्छ। नेपालमा जनस्वास्थ्य विधाको स्नातोकत्तर तह (एमपीएच) को लागि बनेको नयाँ मापदण्ड राम्रो छ तर यसको व्यवस्थामा भनिएको विदेशका विश्वविद्यालयबाट पढेकाको विधार्थीहरुको हकमा जुन २ वर्ष वा १२० क्रेडिट आवरको व्यवस्था गरेको छ यो अलि बढी गुणस्तरको नाममा शैक्षिक सिन्डिकेट जस्तो देखिन्छ। गुणस्तरलाई कायम गर्ने हो भने उल्लेखित दुइवटै सर्तहरु लागू हुनु पर्दछ जसले २ वर्ष कलेजमा समय बिताएको नाममा ३६ क्रेडिट आवर पुरा गरेका एमपीएच ले समकक्षता पाउने व्यवस्था छ। यो व्यवस्थाको सट्टा अग्रगामी सोचका साथ कार्य गर्ने हो भने नेपालमा वा विदेश पढेकाहरुले परिषदमा दर्ता हुन अनुमति परीक्षा र नेशनल तथा इन्टरनेशनल जर्नलहरुमा जनस्वास्थ्य विधामा अनुसन्धान प्रकाशनलाइ परिषदमा दर्ता हुन चाहिने सूचकको रुपमा स्थापित गराउन अब आउने कार्यसमितिले पैरवी गरियोस नकि कलेजमा विताएको समयको लम्बाईलाई होइन। जसका लागि नेफाले स्वास्थ्य व्यवसायी परिषद, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको पाठ्यक्रम विकास शाखासंग समन्वय गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता हो।
५) सबैभन्दा आधारभूत कुरा त के हो भने ५-६ हजार आधिकारिक (सम्बन्धित परिषदमा दर्ता) जनस्वास्थ्यकर्मी भएको देशमा नेफाको २०७८ को अन्तिम मतदाता नामावली सुची हेर्दा १७१८ जना (एक तिहाई भन्दा कम) मात्र आबद्ध छन्। हाम्रो परम्परागत र खर्चिलो निर्वाचन प्रणालीका कारण १७१८ मध्ये पनि धेरै जना अनुपस्थितहुने लगभग निश्चित छ किनभने सिमितले जनस्वास्थ्यकर्मीले मात्र संघीय र प्रादेशिक मुकाम (राजधानी)हरुमा अवसर पाएका छन्। यस्तो परिस्थितिमा कानुनी रुपमा निर्वाचन सम्पन्न त होला तर यसको बैधानिकताको पाटोमा ठूलो प्रश्न चिन्ह खडा भएको छ। त्यसैले हामीले मतदान गर्दा बढी भन्दा बढी सदस्यहरुलाई जोड्न सक्ने नेतृत्वलाई मतदान गरौं।
६) अब आउने कार्यसमिति र पदाधिकारीहरुलाई मतदान गर्दा कम्तिमा नेफालाई प्रविधिमैत्री बनाउन सक्ने, गुटभन्दा माथि उठेर सबैलाई समेट्न प्रयास गर्ने, जनस्वास्थ्य क्षेत्रका नीति अनुसन्धान, अवसर, समस्या र चुनौतिहरुको सहि विश्लेषण सहित बस्तुगत र तथ्यपरक समाधानका लागि सक्रिय भई आफैंबाट सुरुवाती र पैरवी गर्न सक्ने, चुनावको समयमा मात्र सिमित नभई निरन्तररुपमा संस्थालाई जिवन्त बनाउन सक्ने, राष्ट्रिय र अन्त राष्ट्रिय नियामक र सरोकारवालाहरु सँग जनस्वास्थ्य विकासको लागि नविनतम उपायहरु सहित समन्वय र सहकार्य गर्न सक्ने जस्ता आधारभूत गुणस्तर भएका उमेदवारहरुमा ध्यान दिन जरुरी छ।
७) लोकतान्त्रिक बिधि अबलम्बन मान्यताको नाममा गुणस्तरलाई ख्याल नगरी समूह/ गुटगत रुपमा मात्र मतदान गरियो भने निर्वाचन नतिजा पनि सोहि बमोजिम आउनेछ फलस्वरूप जनस्वास्थ्यकर्मीहरु माझ आन्तरिक मनमुटाव बढ्ने छ। त्यसकारण केहि घोषित भएका समूहहरु र कोहि समूह बाहिरबाट व्यक्तिगतरुपमै योगदान गर्छु भनेर अगाडि आएका दक्ष व्यक्तित्वहरु छन् भने ठिक पदमा सहि र दक्ष व्यक्तिलाई निर्वाचित गराउँ।
अन्त्यमा,
अबको निर्वाचन प्रक्रिया मार्फत पदाधिकारी वा कार्यसमिति सदस्यको हैसियतमा योगदान गर्ने भावनाका साथ उमेद्वारी मनोनयन गर्नु भएका सम्पूर्णमा सुभकामना! यसले कम्तिमा निर्वाचन समयमा मात्र भएपनि नेफा छ भन्ने महसुस गराउदछ। तर, यथार्थपरक भएर सोच्दा निर्वाचन प्रणालीमा गयौं भने कसैको पराजय, कसैको जित निश्चित हो। हाम्रो राष्ट्रिय संस्कृति के हो भने जितेकाले गुटको निर्णय अनुसार संस्था संगठन संचालन गर्ने र हारेकाले विरुद्धमा गुटबन्दी गर्ने, फलस्वरूप सामुहिक सामर्थ्य र दक्षतामा क्षयीकरण हुनेछ र नेफा कमजोर साबित हुने छ। फलस्वरूप भाई फुटे गवार लुटे भन्ने उखानको चरितार्थ हुन जान सक्छ। त्यसैले अझै समय छ, हर प्रकारले सम्भव भएसम्म उमेद्वारी मनोनयन दर्ता गरेका सबै सँगै बसौं, गम्भीरताका साथ छलफल गरौं, राजनीतिक र गुटगत समूह भन्दा व्यवसायिकतालाई प्राथमिकतामा राखौं। दक्ष व्यक्तिहरुलाई समुहगत नभई सहमतिका साथ निर्वाचित गराउँ, नेफालाई सैद्धान्तिक र व्यहारिक रुपमा स्वायत्त र स्वतन्त्र संस्थाको रुपमा विकास गरौं,होइन भने मतदाताले माथि उल्लेखित कुराहरुलाई ध्यानमा राखी सुझबुझका साथ मात्र मतदान निर्णय प्रक्रियामा सहभागी बनौं।
लेखक नेपाल जनस्वास्थ्य संघको आजिबन सदस्य हुन्।