कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको २०१७÷१८ को प्रतिवेदन अनुसार नेपालमा उक्त वर्ष ७० हजार मेट्रिकटन कुखुरा र २८ हजार मेट्रिकटन भन्दा बढी सुंगुरको मासु उत्पादन भएको देखाउँछ। विगत दश वर्षमा नेपालमा कुखुरा २७७ र सुंगुरको मासु उत्पादन ७७ प्रतिशतले बृद्धि भएको छ। नेपालको निर्यात र आयातको अनुपात १ः१६ सम्म पुगेको सन्दर्भमा नेपाल मासुमा आत्मनिर्भरतर्फ अघि बढ्नु एउटा सकारात्मक पक्ष भएपनि यससँगै पशुपंक्षीमा प्रयोग हुने एन्टिबायोटिकको अनियन्त्रित र अत्यधिक प्रयोगले जनस्वास्थ्यमा निकै ठूलो चुनौति र समस्या सिर्जना गरेको छ।
सन् २०२१ अगस्टमा काठमाडौंं उपत्यकाका ३ जिल्लाका ३० वटा कुखुरा फर्ममा गरिएको एक अध्ययन अनुसार ९० प्रतिशत अर्थात २७ वटा कुखुरा फर्ममा एन्टिबायोटिक प्रयोग गरिएको पाइयो। उक्त फर्महरुमध्ये २१ वटा फर्मले उपचारका लागि तथा ७ वटा फर्मले रोग लाग्न नदिने प्रोफाइल्याक्सिस् प्रयोग गरेका थिए। यसमा मुख्य गरेर म्याक्रोलिड, पोलिम्याग्जिन्स र क्युनोलोनस् ग्रुपका औषधिहरु थिए। यसमध्ये टाइलोसिन ४७ प्रतिशत, कोलिस्टिन ४७ प्रतिशत, नियोमाईसिन र डोक्सिसाईक्लिनको समिश्रण ३३ प्रतिशत फर्मले प्रयोग गरेका थिए। यस्तै २७ प्रतिशत अर्थात ७ वटा फर्मले २ भन्दा बढी एन्टिबायोटिक प्रयोग गरेको पाइयो। टाइलोसिन बाहेक माथि उल्लेखित सबै औषधिहरु मानव संक्रमणका सघन उपचारमा प्रयोग गरिने औषधिहरु हुन्।
यस्ता औषधि पशुपंक्षीमा जथाभावी रुपमा प्रयोग गर्दा ब्याक्टेरियाले एन्टिबायोटिकको विरुद्धमा आफूलाई अनुकुल बनाउँदै लैजान्छ र औषधिले रोगका किटाणुलाई मार्न वा संक्रमण रोक्न सक्दैन जसलाई हामी एन्टिबायोटिकको रेसिस्टेन्ट भन्ने गछौँ। यसरी रेसिस्टेन्ट भएका ब्याक्टेरिया हावा, पानी, माटो, जनावरका मासु, दुध, मल आदी कुनै पनि माध्यमबाट मानिसमा प्रवेश गरि आफू र अन्य रोगका किटाणुलाई समेत रेसिस्टेन्ट उत्पन्न गराउँछन्।
यस्तै, सन् २०१४ मा चितवनका १० बटा सुंगुर पसलबाट १३९ वटा फ्रेस नमुना लिई प्रयोेगशालामा परीक्षण गरीएको थियो। यस परीक्षणमा विभिन्न औषधिमा रगतमासी, झाडापखाला लगाउने एक ब्याक्टेरिया क्याम्फाइलोब्याक्टरको सेन्सिटिभिटि अर्थात् औषधिको काम गर्ने क्षमता परीक्षण गरिएको थियो। जसअनुसार एमोक्सिसिलिन र इराइथ्रोमइसिनको ९२ प्रतिशत, टेट्रासाइक्लिनको ७७ प्रतिशत रेसिस्टेन्ट देखिएको थियो। अझ यो भन्दा पनि अर्को चिन्ताको विषय, विश्व स्वास्थ्य संगठनले अन्तिम विकल्प भनेर विक्री वितरण गर्न रोक लगाएको कोलिस्टिन जुन अन्य एन्टिबायोटिकले काम नगर्दा अन्तिम विकल्पको रुपमा प्रयोग गरिन्छ यसको रेसिस्टेन्ट समेत ७२ प्रतिशत देखिएको छ। नेपाल सरकारले हाल पशुपंक्षीमा एन्टिबायोटिकको प्रयोग निषेध गरेपनि लुकीछिपी यसको विक्री वितरण भईरहेको छ।
सन् १९४० तिर नयाँ एन्टिबायोटिकको खोज र परीक्षण गर्ने क्रममा टेट्रासाइक्लिनलाई कुखुरा, सुगुर जस्ता खाद्य प्रयोजनका लागी पालिने पशुपक्षंीमा यसको परीक्षण गरियो। टेट्रासाइक्लिनको प्रयोगबाट यस्ता पशुपंक्षीको तौल छिटो वृद्धि भएको पाइयो। यसपछि व्यवसायिक प्रयोजनका लागि पालिएका पशुपंक्षीमा तौल बृद्धि गर्न र रोगनै लाग्न नदिने उद्देश्यले एन्टिबायोटिक दिन थालियो। यसरी अत्यधिक र अनियन्त्रत प्रयोगले ब्याक्टेरियामा यिनिहरुको प्रभाव कम हुदै गई एन्टिबायोटिक रेसिस्टेन्ट हुन थाल्यो। विश्वभरमा एन्टिबायोटिक रेसिस्टेन्ट तिव्र हुनुको मुख्य कारण पशुपंक्षी व्यवसायमा प्रयोग अत्याधिक र अनावश्यक हुनु हो।
अंग प्रत्यारोपण, जोर्नी प्रतिस्थापन जस्ता जटिल शल्यक्रियामा होस् वा तथा मधुमेह, दम, बाथरोगमा हुने संक्रमण रोक्न एन्टिबायोटिक नभई हँुदैन। यस्तो अवस्थामा प्रयोग गरिने औषधिले किटाणुलाई मार्न सकेन भने संक्रमण झन् बढ्न गई मृत्यु समेत हुन सक्छ।
विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक रेसिस्टेन्ट लाई विश्व स्वास्थ्य, खाद्य सुरक्षा र विकासको एक प्रमुख चुनौति भनेको छ। युएन को २०१९ को एक रिपोर्ट अनुसार प्रत्येक वर्ष ७ लाख मानिसको मृत्युु औषधि प्रतिरोधी रोगका कारण हुने गर्छ। यदि कुनै प्रभावकारी कदम नचाल्ने हो र यही गतिमा रेसिस्टेन्ट बढ्दै जाने हो भने सन् २०५० सम्ममा प्रतिवर्ष १ करोड मानिसको मृत्यु हुने अनुमान गरेको छ। एक अध्ययन अनुसार उपर्युक्त पद्धती अपनाउने हो भने जनावरबाट हुने एन्टिबायोटिक रेसिस्टेन्टलाई ३९ प्रतिशतसम्म कम गर्न सकिन्छ। नयाँ एन्टिबायोटिकको विकास अत्यन्त कम मात्रामा हुनु र भएका एन्टिबायोटिक पनि रेसिस्टेन्ट हुँदै जानु गम्भीर चिन्ताको विषय हो।
समाधान
मानव संक्रमणको उपचारमा प्रयोग गरिने औषधिलाई पशुचिकित्सामा प्रयोग गर्न रोक लगाउनुपर्छ। प्रयोग गर्नैपरे पशुचिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्नुपर्छ। नेपालमा पशुपंक्षीमा यसको प्रयोग नियमन र सुपरिवेक्षण गर्ने सम्वन्धि कुनै राष्ट्रिय निर्देशिका छैन। सरकारले यस सम्वन्धि निर्देशिका जारी गरेर एन्टिबायोटिकको प्रयोगलाई नियमन र सुपरिवेक्षण गर्नका लागि स्थानीय निकायलाई सक्षम बनार्ई परिचालन गर्न सकिन्छ।
युरोपियन मुलुकहरुले संक्रमण रोक्न एन्टिबायोटिक प्रयोग गर्ने भन्दा पनि रोगनै लाग्न नदिने रोकथामका उपायमा जोड दिइएको छ। वासस्थान नियमित सफा राख्ने, संक्रमित जीवजन्तु, मानिस आदिको प्रवेशमा रोक लगाउने, संक्रमण फैलाउन सक्ने किरा, मुसा, जनावर जुनसुकै बस्तुलाई पशुपंक्षीको संसर्गबाट टाढा राख्ने, स्वस्थ्य आहारको व्यवस्था गर्नेजस्ता जैविक सुरक्षाका उपायबाट पशुपंक्षीलाई रोगको संक्रमणबाट बचाउन सकिन्छ। यसका साथै पशुपंक्षीलाई लाग्न सक्ने रोगबाट बचाउन सरकारले खोपको व्यवस्था समेत गर्नुपर्छ। जैविक विधिबाट कसरी उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ भन्ने देखाउन सरकारले कृषकहरुलाई यस्ता देशहरुको अध्ययन अवलोकन भ्रमण गराउने व्यवस्था गनुपर्छ।
अतः अनावश्यक ठाउँमा एन्टिबायोटिकको प्रयोग गरियो भने कुनै दिन यस्तो अवस्था आउन सक्छ कि जुन बेला एन्टिबायोटिक अत्यावश्यक हुन्छ। त्यसबेला हामीलाई बचाउने कुनै एन्टिबायोटिक नरहन पनि सक्छ। यसको दुरुपयोग कुनै समय हामीलाई निकै महंगो पर्न सक्छ। त्यसैले भनिन्छ एन्टिबायोटिकको प्रयोग कसरी गर्ने भन्ने जान्नु भन्दा पनि यसको प्रयोग कसरी नगर्ने भन्ने जान्न आवश्यक छ।
–(लेखक विरेन्द्र अस्पताल छाउनीका फर्मासिष्ट हुन्।)