केही वर्ष पहिले सरुवा रोगहरुको चाप, मातृशिशु स्वास्थ्य नेपालको प्रमुख जनस्वास्थ्य समस्या रहेको थियो। तर नेपालले केही दशकयता आफ्नो स्वास्थ्य स्थितिमा धेरै सकारात्मक परिवर्तन ल्याउन सफल भएको छ। तर विश्वव्यापीकरण, शहरीकरण, जनसंख्या वृद्धि, वातावरण प्रदुषण, जीवनशैलीमा आएको परिवर्तनसंगै नसर्ने रोग, दुर्घटना तथा मानसिक रोगमा व्यापक वृद्धि भएको पनि देखिन्छ।
अहिले कुल मृत्युको ७१ प्रतिशत कारण नसर्ने रोग हुन। जुन सन २०१८ सम्ममा ६५ प्रतिशत मात्रै रहेको थियो। अहिले युवा तथा ४० वर्ष माथीका व्यक्तिमा हृदयघात, मस्तिष्कघात, मधुमेह, उच्च रक्तचापको समस्या देखिने गरेको छ। कुनै पनि सदस्य रोग नभएको सायद कुनै परिवार छैन। हिजोसम्म सर्ने रोगहरुको प्रकोप मात्रै थियो तर आज ठुलो जनसंख्या नसर्ने रोगको जोखिममा छ।
(NCD STEP survey 2019) १५ देखि ५९ वर्ष उमेर समूहमा गरिएको थियो। उक्त सर्भे अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवन गर्ने २८ प्रतिशत, दैनिक मदिरा सेवन गर्ने २०.८ प्रतिशत, खानामा नुनको अधिक मात्रा (झन्डै ११ ग्राम प्रतीव्यक्ति) दैनिक सेवन गर्ने जनसंख्या ९.२ प्रतिशत, बढी मात्रामा नुन high processd food भएको सेवन गर्ने १९.५ प्रतिशत रहेको छ भने शारीरिक रुपमा निष्क्रिय हुने जनसंख्या देशभरीमा ७.४ प्रतिशत रहेको छ।
त्यसैगरि ९९ प्रतिशतले सिफारिस अनुसार खानुपर्ने सागसब्जी र फलफुल सेवन नगर्ने तथ्यांकले नसर्ने रोगको भार विगतका वर्ष भन्दा बढने र चुनौती थपिने निश्चित नै देखिन्छ।
विश्वव्यापी महामारीको रुपमा पनि नसर्ने रोगको खतरा बढीरहेको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई हेर्ने हो भने प्रतिवर्ष करिब ४ करोड १० लाख मानिसहरूको मृत्यु नसर्ने रोगहरुका कारण भएको देखाउँछ। जसमध्ये चार रोगहरु (मुटु तथा रक्तनलि सँग सम्वधित रोगहरु, क्यान्सर, फोक्सो सम्बन्धि रोग र चिनी रोग) प्रमुख रहेका छन। मृत्यु हुनेमा ८० प्रतिशत यी चार रोगका कारणले हुने विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ।
नेपालमा पनि यस्ता प्रकोप तिव्रगतिमा वृद्धि भइरहेको छ। विश्व स्वास्थ्य संगठनले सन २०१८ मा गरेको country profile अनुसार भएको कुल मृत्युको ६६ प्रतिशत कारण नसर्ने रोगबाट भएको देखिन्छ। ती मध्ये सबभन्दा बढी १ करोड ७९ लाख CVD बाट, ९० लाख क्यान्सर, ३९ लाख श्वासप्रश्वास र १६ लाख मधुमेहबाट भएको थियो। एक अध्ययनले देखाए अनुसार विपन्न मुलुकहरुमा मुटुजन्य रोगका कारण मृत्यु हुने मानिसहरु जस्तै नेपाल लगायत दक्षिणपुर्वी एसियाका देशहरूमा प्रमुख नसर्ने रोग विशेषगरी ३० देखि ७० वर्ष उमेर समूहका छ्न्।
जस्को अल्पायुमा नै हुने मृत्युको २२ प्रतिशत कारणको रुमपा नसर्ने रोग देखिएको छ। यो विकसित देशहरुका तुलनामा १० गुणा बढी हुन्छ। सुर्तीजन्य र मदिराजन्य पदार्थको विश्वबजारीकरणले प्रत्यक्ष रुपमा आममानिसको स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर पारिरहेको छ। अप्रत्यक्ष रुपमा राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको छ। अहिलेको २१ औ शताब्दीको विश्व यी ४ दीर्घकालिन नसर्ने रोगको चपेटामा फस्दै गइरहेको छ। यदि विश्व स्वास्थ्य संगठनको तथ्यांकमा हेर्ने हो भने ६० लाख सुर्तीजन्य पदार्थको सेवनबाट, मदिरा सेवनले ३३ लाख र शारीरिक व्यायामको कमीले ३३ लाख मानिसहरुको अकालमा मृत्यु हुने गर्छ। नसर्ने रोगका कारण विश्वभरिमा ६० प्रतिशत मानिसहरु मर्दछन भने नेपाल जस्ता अविकसित मुलुकहरुमा करीब ८० प्रतिशत मानिसहरूको मृत्यु हुन्छ। यसबाट पनि पुष्टि हुन्छ कि नसर्ने रोग कति खतरापूर्ण ढंगले बढदैछ।
सुर्तिजन्य पदार्थको सेवनविरुद्ध निति, शारीरिक व्यायाम,स्वस्थ खानपिनको फाइदा सम्वन्धि जनचेतना र स्वास्थ्य सुविधामा सबैको पहुँच गरि यी नितिहरुलाई नै सरकारी तवरबाट नै निर्माण तथा कार्यन्व्यन गर्न सकेमा नसर्ने रोगको खतराबाट बचाउन सकिन्छ। उदाहरणको लागि हामीले ब्राजिललाई लिन सक्छौं। प्राथमिक उपचारमा ल्याएको सुधारात्मक कदमको कारणले गर्दा ब्राजिलमा प्रतिवर्ष १.८ प्रतिशतका दरले नसर्ने रोगको कारण मृत्यु हुने क्रम घटिरहेको छ। सन २०११ मा विश्व स्वास्थ्य संगठनको नेतृत्वमा विश्वका १९० वटा मुलुकहरुले नसर्ने रोगहरु नियन्त्रण गर्नका लागि Global Action for NCDs for the Prevention and Control of NCDs २०१३-२०२० कार्ययोजनामा सहमति जनाएका थिए। यस कार्ययोजना अनुरुप नसर्ने रोगबाट हुने मृत्युलाई सन २०२५ भित्र २५ प्रतिशतले घटाउनेतर्फ सम्पूर्ण देशहरु एकजुट हुने प्रतिबद्धता जनाएका थिए।
विश्वका मानिहरुनै नसर्ने रोगको चपेटामा परिरहेका छन। त्यसमा पनि ठुलो हिस्सा जेष्ठ नागरिकहरुको समूह दुई गुणा बढी रहेको छ। मुटु सम्बन्धि नसर्ने रोग, चिनी रोग र अल्जाइमर्स रोग जेष्ठ नागरिकहरुमा बढी मात्रामा छ। नसर्ने रोगहरुले आक्रमण गरेपछि उपचार पद्धति धेरै महँगो तथा असम्भव प्राय छ।
यसरी हेर्दा नसर्ने रोगहरु विश्व्यापी रुपमा प्रमुख चुनौतीपुर्ण छ भने नेपालमा पनि तीब्र रुपमा देखिन थालेको छ। तर हाम्रो जस्तो सिमित स्वास्थ्य जनशक्ति, सिमित मेडिकल उपकरण,गरिबी,बेरोजगारि र महँगो उपचार,आधारभुत स्वास्थ्य लगायत समग्र स्वास्थ्यमा न्यून, राष्ट्रिय बजेट, संघीयता पछि कमजोर हुँदै गरेको हेल्थ सिस्टम, भौगोलिक विकटता भएको देश जहाँ बिरामी भए उपचारमा जनताले घरखेत बेचेर सडकमा आउनुपर्ने त कसैले आर्थिक अभावमा बिना उपचार अकालमा मर्नु पर्ने बिडम्बनापुर्ण अवस्था छ।
नसर्ने रोगहरुको उपचारमा नागरिकलाई राज्य बाट खासै कुनै सहुलियत प्रदान नगरेको अवस्था छ। यसरी नसर्ने रोगहरुको जोखिम भार थपिदै गएको छ। अर्कोतिर रोगहरुको समयमै सामुदायिक स्तरका आधारभुत स्वास्थ्य सेवा अन्तर्गत स्वास्थ्य सस्था बाट हुने प्रारम्भिक जाच तथा व्यवस्थापनका साथै जिवनशैलि परिवर्तन परामर्श, प्रेषण सेवा र विशिष्टकृत अस्पतालहरुमा नागरिकहरुलाई सहुलियतपूर्ण उपचारको व्यवस्थापनको अवस्था कछुवा गति भन्दा सुस्त देखिन्छ।
यो स्थितिलाई समयमै रोक्न सकिएन अथवा व्यवस्थापन गर्न राज्य स्तरबाटनै सुरुवात गरिएन भने हाम्रो जस्तो कमजोर आर्थिक व्यवस्था, अस्थिर राजनीतिक पद्धति भएको देशमा देशमा ठुलो महामारी आउन सक्छ। किनकि नसर्ने रोगहरुको रोग मात्रै नभएर सामाजिक, आर्थिक, वातावरणमा र समग्र देश विकासमानै समेत नकारात्मक असर पारिरहेको छ। नसर्ने रोग लागिसकेपछि जीवनपर्यन्त उपचार गर्नुपर्ने,धान्नै नसक्ने स्वास्थ्य उपचार खर्च र व्यक्तिको उत्पादनशिलतामा ह्रास आदि कारणले गर्दा व्यक्ति, परिवार तथा समाजले आम्दानीको ठुलो हिस्सा यसमा खर्च गर्नुपरेको छ।
नेपालको आधारभुत स्वास्थ्य सेवा २०७५ को वित्तीय व्यवस्थापन अन्तर्गत आधारभुत स्वास्थ्य सेवा स्थानीय सरकारको कार्यक्षेत्रमा परे पनि संघीय सरकारले यसमा आर्थिक श्रोत परिचालन गर्नुपर्ने छ। साथै आधारभुत स्वास्थ्य सेवाले नसमेटेका तर महत्त्वपूर्ण रहेका विषयहरुलाई स्थानीय तथा प्रादेशिक सरकारले थप कार्यक्रमको रुपमा निशुल्क उपलब्ध गराउनु पर्ने छ। आधारभुत स्वास्थ्य सेवाले मात्रै जनताको सम्पुर्ण स्वास्थ्य आवश्यकता पुर्ती नहुने हुँदा निशुल्क लगायत स्वास्थ्य बिमा कार्यक्रमका माध्यमबाट स्वास्थ्य समस्या सम्बोधन गरिनेछ भन्ने कुरा लेखिएको छ। त्यही मर्म अनुरुप ३ तहको सरकारले नसर्ने रोगको व्यवस्थापनमा बजेट बिनियोजन गरेर उल्लेखित रोगहरुको पहिचान, उपचारलाई प्राथमिकता दिएर जोखिम न्यूनीकरणका कदम सिघ्र चाल्नु पर्ने देखिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नसर्ने रोगलाइ पब्लिक हेल्थ को रूपमा ४/५ वर्ष अघि मात्रै पहिचान गरेको छ। नसर्ने तथा मानसिक रोग शाखा पनि स्थापना गरिएको छ। अहिले शाखाले पेन प्याकेज कार्यक्रम अन्तर्गत चार वटा रोग मुटुजन्य रोग तथा उच्च रक्तचाप, मधुमेह, सिओपीडि रोकथाम गर्न सकिने क्यान्सर (पाठेघर र स्तन क्यान्सर) छ्न्।
एड्स र क्षयरोगका छुट्टै केन्द्र भए जस्तै नसर्ने रोगको राष्ट्रिय रुपमा व्यवस्थापन गर्न छुट्टै राष्ट्रिय स्तरको एनसीडी सेन्टर स्थापना गरि छुट्टै कार्यक्रमको रूपमा राखेर पी वान कार्यक्रमको रुपमा देशभर विस्तार गर्न जरुरी छ। केन्द्र देखि स्थानीय तह सम्म बहुक्षेत्रीय समन्वय र सहयोगको माध्यम बाट नसर्ने रोगको चुनौतीहरुसँग लडनु राष्ट्रिय रणनीति र कार्ययोजनाको साथ तुरुन्त अघि बढन जरुरी छ। किनकी यो एउटा स्वास्थ्य मन्त्रालयले मात्रै व्यवस्थापन गरेर समाधान हुने विषय हैन। यो राष्ट्रिय चुनौती हो। केन्द्र देखि देशभरिका पालिकाहरुका सरकार यो विषयमा एक साथ हातेमालो गर्दै अघि बढन जरुरी छ।
उपचारको साथसाथै रोग लाग्न नदिन र सिघ्र पहिचान र जोखिम न्यूनीकरणका कुराहरु आधारभुत स्वास्थ्य सेवाको प्याकेजमा नै समेट्न जरुरी छ। जिवनशैनी परिवर्तन र स्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापन अघि बढाउनु अझै जरुरी छ। किनकि जटिल अवस्थामा उपचारको भार हाम्रो अर्थव्यवस्था र नागरिकले धान्न सक्ने अवस्था छैन। यहाँ पनि prevention is better than cure को सिद्धान्त लागू हुन्छ।
अबको आधारभुत स्वास्थ्य सेवामा नै नसर्ने रोगहरुको व्यवस्थापनलाई कार्यान्वयन गर्दै देश भरका पालिकाका सामुदायिक स्तरका स्वास्थ्यकर्मीलाई तालिम दिएर उल्लेख गरिएका रोगहरुको प्रारम्भिक पहिचान,जोखिमपुर्ण व्यवहार र कारण न्यूनीकरण, रोग लाग्न नदिन जनचेतना फैलाउन परिचालन गरिनुका साथै रोगको Mass screening गर्नको औजार उपकरण अन्तर्गत ग्लुकोज परिक्षण गर्न ग्लुकोमिटर, पिसाबमा सुगर र प्रोटिन परिक्षण गर्न Dipstic Urinary Test, BMI थाहा पाउन तौल र उचाइ नाप्ने उपकरण, COPD थाहा पाउने उपकरणको लागि रकम बढाइ देशभरिका पालिकाका वडाहरुमा समयमै अभियान थाल्न जरुरी छ।
किनकि अझै पनि ठुलो मात्रामा पहिचान नगरिएका र उपचार नपाएका रोगिहरुको सख्या समुदायमा ठुलो छ। सर्ने रोगको प्रतीकात्मक, प्रवर्द्धनात्मक र उपचारात्म सेवाको सञ्जाल देशभरीबाट सुरुवात गर्नु आजको आवश्यकता हो। अनि मात्रै नेपाल सरकारले पारित गरेको नसर्ने रोगको बहुक्षेत्रीय कार्ययोजना २०१४-२०२० ले सन २०२५ सम्म मधुमेह, मुटुरोग, क्यान्सर तथा COPD सम्बन्धि रोगहरुबाट हुने मृत्युलाई २५ प्रतिशतले कम गर्ने महत्वकांक्षी लक्ष्य पूरा गर्न सकिन्छ होला।
(लेखक टीकापुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक हुन्)