पारासिटामोल ५०० मिलीग्राम औषधि नेपालमा करिब २५ वटा उद्योगबाट उत्पादन भइरहेको छ। पारासिटामोल अति आवश्यक औषधि मध्यको एक हो। पारासिटामोललाई सामान्य बोलीचालीमा 'सिटामोल' भनेर चिनिन्छ। सिटामोल सरकारी स्वामित्वको औषधि उद्योग नेपाल औषधि लिमिटेडको जेनेरिक ब्राण्ड हो। नेपाली निजी उद्योगहरुले पनि पारासिटामोल जेनेरिक औषधिको विभिन्न नामका उत्पादनहरु बनाइरहेका छन्। निको, सिटोफेन, टिमोल, इभामोला आदि नेपाली उद्योगले बनाउने पारसिटामोलका जेनेरिक ब्राण्डहरु हुन।
पारासिटामोलको हालको बजार अवस्था
पारासिटामोल नेपाल सरकारले आफ्ना विभिन्न स्वास्थ्य निकायबाट नि:शुल्क वितरण हुने औषधिमध्ये एक हो। सरकारले नि:शुल्क वितरण गर्ने र विभिन्न स्वास्थ्य संस्थाहरुले सिधै खरिद गर्ने पनि गरिन्छ। यस बाहेको सामान्य बजारमा बार्षिक करिब ७ करोड चक्की माग हुने गरेको छ। हाम्रा औषधि उद्योगहरुले सामान्य बजारको माग अनुसार उत्पादन गर्ने र आवश्यक कच्चा पदार्थको मौज्दात राख्ने गर्दछन्। पारासिटामोल नेपालमा करिब ९९ प्रतिशत स्वदेशी औषधि उद्योगले नै माग धानिरहेको छ। नेपालमा हालसम्म ५०० मिलिग्रामको मात्र पारासिटामोलको अनुमति दिइएको छ। भारतमा ५००मिलिग्रामको अलावा ६५० मिलिग्राममा पनि उपलब्ध छ। चिकित्सकहरुले समेत ६५० मिलिग्रामको माग गरिरहेका छन्। तर पनि हामीलाई भने औषधि व्यवस्था विभागले विभिन्न बहानामा अनुमति दिएको छैन।
पारासिटामोलको बजारमा अभावको हल्ला कहिलेदेखि चल्यो
भारत सरकारले पहिलो कोभिड संक्रमण बढेसँगै सन् २०२० मार्च ६ तारिखमा पारासिटामोल लगायत २६ वटा औषधि र औषधिका कच्चा पदार्थहरुको निर्यातमा प्रतिबन्ध गर्यो। सरकारले लकडाउनको घोषणा गर्यो। भारतले प्रतिबन्ध लगाउनु, नेपालमा पनि लकडाउन घोषणा हुनु, स्वास्थ संस्था लगायत अस्पतालहरु भरिभराउ हुनु, पीपीइ, मास्क जस्ता अत्यावश्यक सामान अभाव भएको कारण मानिसहरुको मनमा डर पैदा भयो। सबैको मनमा बिरामी भइयो भने अब औषधि पनि पाइँदैन भन्ने मानसिकताको विकाश भयो। फलस्वरुप घरघरमा औषधिको संचय शुरु भएको हो। त्यसबेला सामान्य भन्दा झन्डै १० गुणा बढी माग भएको थियो। यसै बखतबाट जबजब देशमा कोरोनाको संक्रमण उकालो लाग्छ, पारासिटामोल लगायतका औषधिको अभावको हल्ला चल्ने गर्दछ। यो राज्यले आफ्ना उद्योगहरु र आफ्ना क्षमता बारेमा जनस्तरमा विश्वस्त गर्न नसकेको कारणले भएको हो। नेपालमा सियो पनि बन्दैन भन्ने धारणा छ। विदेशवाट औषधि आएन भने हाहाकार हुने भयको कारण अत्याधिक सञ्चय हुनुले आवश्यक ठाउँमा नहुने तर अनावश्यक ठाउँमा सञ्चय भयो। नपाइने भन्दा पनि हल्ला बढी भएको हो। जुन हामिले प्रमाणीत गरिसक्यौं।
औषधि र कच्चापदार्थको निर्यातमा प्रतिबन्ध पश्चात
नेपाल औषधि उत्पादक संघले तत्कालै पत्रकार सम्मेलन गरेर नेपालमा उत्पादन हुने कुनै पनि औषधिको अभाव हुन नदिने बाचा गर्दै अनावश्यक औषधिको सञ्चय नगर्न आग्रह पनि गरेको थियौं। प्रचुर मात्रामा सञ्चय गरिएको भए पनि हामीले हाम्रो बाचा सम्पूर्ण रुपले पुरा गर्यौं। हामीले भारतले निर्यातमा प्रतिबन्ध लगाएका कच्चा पदार्थ चीन लगायत अन्य मुलुकबाट मगायौं। कोरोनाको अति त्रासको समयमा उद्योग अझ बढी समय चलाएर भएपनि देशमा कुनै औषधिको अभाव हुन दिएनौं। हाम्रा औषधि उद्योग संचालन गर्दा हाम्रा मजदुरहरु लगायत कार्यरत कर्मचारीहरुले देशको विभिन्न स्थानमा प्रहरीको लठ्ठी खाँदा समेत हामीले हाम्रा उद्योग संचालन गरेका थियौं। नेपाल औषधि उत्पादक संघको नेतृत्वमा सम्पुर्ण उद्योगहरु मिलेर हामीले कुनै पनि औषधिको अभाव हुन दिएनौं। भारतले प्रतिबन्ध लगाएपछि हाम्रा देशका उद्योग बाहेक पारसिटामोल उपलब्ध हुने कुनै माध्यम थिएन। त्यस परिस्थितिमा देशमा कुनै अभाव भएन। यो कुरा हामीले हाम्रो क्षमताको प्रमाणित गरिसकेका छौं। ढुवानीको साधनको पनि चरम अभाव रहेको त्यस बेला हाम्रा उद्योगीहरुले आफ्नै गाडीमा देशभरि औषधि आपूर्ति गरेका थिए। नेपालमा बन्ने कुनै पनि उत्पादनहरु आजको दिनसम्म कहिल्यै अभाव हुन दिएका छैनौं। भुकम्प, नाकाबन्दी जस्तो कठिन समयमा पनि हामीले नेपालमा उत्पादन हुने कुनै पनि औषधिको अभाव हुन नदिएको सबैलाई विदित नै छ। प्रचुर मात्रामा सबैले सञ्चय गरिएको र अत्याधिक माग भए पनि हामीले हाम्रो बाचा सम्पूर्ण रुपले पुरा गर्यौं। कोरोनाको अति त्रासको समयमा उद्योग अझ बढी समय चलाएर भएपनि देशमा कुनै औषधिको अभाव हुन दिएनौं। हाम्रा औषधि उद्योग संचालन गर्दा हाम्रा मजदुरहरु लगायत कार्यरत कर्मचारीहरुले देशको विभिन्न स्थानमा प्रहरीको लठ्ठी खाँदा समेत हामीले हाम्रा उद्योग संचालन गरेका थियौं। भारतको प्रतिबन्धले हामीलाई आफ्नो क्षमता बढाउन र नयाँ आयाम खोज्न प्रेरित गर्यो। हामि अझ मजबुत भयौं। उद्योग र स्वास्थ्यमन्त्री तथा सचिवज्यूहरुले 'औषधिमा देशलाई आत्मानिर्भर बनाउन हामी नीति बनाउछौं, आयातलाई निरुत्साहित गर्छौं' भनेर १-२ वटा कमिटि पनि बनाउनु भयो। तर समयसँगै सबै वेकामे भए, आज फेरि अभावको हल्ला चल्यो फेरि हामीलाई सम्झिनु भएको छ। राज्यले हामीलाई नहेर पनि जनतालाई औषधि पुर्याउने हाम्रो कर्तब्यमा हामी सधैं लागिरहेका छौं। हामीले सोचेका थियौं- भारतको औषधि निर्यातको प्रतिबन्धले सरकारले हाम्रा उद्योगको महत्व बुझ्यो होला। तर कार्यमा होइन केवल बोलिमा मात्र बुझेको रहेछ।
पारासिटामोलको उत्पादन र आयातको अवस्था
विगत ५-७ बर्ष देखिको आकडा हेर्ने हो भने बजारमा आवश्यक पारासिटामोलको ९९ प्रतिशत माग स्वदेशी उत्पादनले नै धान्दै आएको छ। भारत, बंगलादेश लगायत अन्य देशबाट यो उत्पादन नेपालमा नगन्य मात्र भित्रिन्छ। अन्य देशको निर्यात गर्ने मूल्य नै हाम्रो बजार मूल्य भन्दा बढि भएकाले धेरैले यसको आयात गर्दैनन्। सिधै घाटा हुने हुनाले नगन्य मात्रले घाटा सहेर आयात गरेको पाइन्छ।
पारासिटामोलको हालको मौज्दातको अवस्था
पारासिटामोल हाल नेपालमा नेपाल औषधि लिमिटेड सहित २६ वटा स्वदेशी औषधि उद्योगहरुले उत्पादन गरिरहेका छन्। यी उद्योगहरुमा हालको परासिटामोल ५०० एमएलको चक्की र यसको कच्चा पदार्थको मौज्दातको अवस्था सन्तोषजनक रहेको छ। विश्व बजारमा कच्चापदार्थको मूल्य अत्याधिक बढेको भएपनि उपलब्धता रहेको अवस्था भएकाले आत्तिने अवस्ठा छैन। नेपाल औषधि लिमिटेड बाहेक हाम्रा स्वदेशी उद्योगहरुले पुस महिनामा करिब ४३ लाख पारासिटामोल ५०० मिलिग्राम चक्की बजारमा पठाएका छौं। माघ महिनाको दोस्रो सातामा ३५ लाख र यो महिनाको अन्त्य सम्म अर्को ३५ लाख गरि ७० लाख चक्की बजारमा पठाउने लक्ष्य लिएका छौं। हामी संग आजकै दिनको मौज्दात हेर्दा करिब ३ करोड ५० लाख पारासिटामोल ५०० मिलिग्राम चक्की बनाउने कच्चापदार्थ मौज्दात रहेको छ। यो अवस्था हाम्रा विगतको अनुभव हेर्दा राम्रो अवस्था हो। आवश्यकता अनुसार कच्चा पदार्थ खरिद भइरहेको र माग अनुसार आपूर्ति गरिने छ। आवश्यकता अनुसार कच्चा पदार्थ खरिद भइरहेको छ। खरिद भइसकेका आउने क्रममा पनि छन्। हाम्रो उत्पादनको चक्रमा कुनै प्रकारको समस्या भएको छैन। सजिलै माग अनुसार आपूर्ति गरिने छ। सरकारको पनि दायित्व हो हाम्रा औषधि उद्योगहरु निर्वाध रुपमा चल्ने वातावरण मिलाउनु पर्छ। जोर बिजोर, बन्दाबन्दीले हाम्रा कर्मचारी रोकिनु हुन्न।
पारासिटामोल र मूल्यको कुरा
नेपाल सरकारले २०६४।०६।१० गते माननीय मन्त्रिस्तरिय निर्णयले २१ वटा उत्पादनको अधिकतम खुद्रा मूल्य तोकेको छ। २०६४ सालमा पारासिटामोलको कच्चा पदार्थको मूल्य अमेरिकी डलर २/५० प्रति केजी र १ अमेरिकि डलर बराबर सटही दर रु ५५-५६ रहेको थियो। हाल कच्चा पदार्थको मूल्य अमेरिकी डलर १२ प्रति केजी र १ अमेरिकी डलर बराबर सटही दर रु १२० रहेको छ।
उत्पादन लागतको कुरा गर्ने हो भने २०६४ सालमा नेपाल सरकारको मजदुरको न्युनतम ज्याला करिब ३३०० रुपैयाँ मासिक थियो भने हाल १५००० रुपैयाँ पुगिसकेको छ । जस अनुसार उत्पादन लागतको हिसाबले ३ दशमलब ५ गुणाले वृद्धि भएको छ।
बैंकको उक्त समयमा औसत ब्याज ७ प्रतिशत थियो। हाल बैंकको ब्याजदर १० प्रतिशत भन्दा माथि रहेको छ। प्याकिङ्ग मेटेरियलको त्यसबेला मूल्य प्रति केजी रु १५० थियो भने हाल यसको मूल्य ६५० प्रति किलो रहेको छ।
सबैले बुझ्नु पर्ने कुरा पारासिटामोलको उद्योगले पाउने मूल्य प्रति चक्की बढिमा ८० पैसा मात्र हो। बजार मूल्यमा १६ प्रतिशत खुद्रा र ७-१० प्रतिशत थोक मार्जिन छुट्टाईएको हुन्छ।
हाम्रो मूल्य समायोजन सम्बन्धी आग्रह कहिलेदेखि शुरु भयो?
जव जव कोभिड-१९ को संक्रमण बढ्छ। केहि स्वदेशि औषधि उद्योग विरोधी सक्रिय हुन्छ्न्। पारासिटामोल अभाव भयो भनि हल्ला चलाउँछन्। उद्योगीले मूल्य वृद्धि गर्न अभाव सृजना गरेको भनि भ्रमको प्रचार गर्छन्। यथार्थमा भन्ने हो भने २०७२ साल देखिने हामीले पारासिटामोलमा घाटा खाएरै उत्पादन गरिरहेका छौं। सरकारसँग हामी यो कुरा पटक पटक भनि रहेकाछौं। हामीले मिति २०७२ पुस ८ गते स्वास्थ्य मन्त्रालयमा दर्ता गराएको पत्रबाट यो कुरा प्रष्ट हुन्छ। २०७२ साल चैत १ गतेको मन्त्रिपरिषदको निर्णयबाट स्वास्थ्य सचिवको संयोजकत्वमा समिति गठन गरि दुई महिना भित्र प्रतिवेदन पेश गरि मूल्य समायोजन गर्ने निर्णय भएको थियो। तर उक्त समितिले कुनै कार्य नै गरेन। २०७३ सालबाट हामीले लगातार औषधि व्यवस्था विभाग र स्वास्थ्य मन्त्रालयसंग निरन्तर पत्रचार र संवाद गरिरहेका छौं। हाम्रो संघले २०७५ सालदेखि हाल सम्म १५ वटा पत्र औषधि व्यवस्था विभागमा दर्ता गरिएको छ। मन्त्रालयमा पनि हामीले ५ वटा मूल्य समायोजन गरिदिने बारे पत्राचार गरेका छौं। विभिन्न चरणमा छलफल गरिएका छन्। सबैलाई यो मूल्य समायोजन आवश्यक छ भन्ने कुरा प्रष्ट छ। तर बिरालोको घाँटीमा घण्टी कसले बाध्ने भन्ने उखान जस्तो भएको छ।
किन समायोजन गरिदैन त मूल्य
औषधि ऎन २०३५ को धारा २६ अनुसार नेपाल सरकारले औषधिको मूल्य तोक्न सक्नेछ भने लेखिएको छ। तर यसैमा यसरी नेपाल सरकारले औषधिको मूल्य तोकेमा राजपत्रमा प्रकाशित भएपछि मात्र लागुहुनेछ भने प्रष्ट लेखिएको छ। औषधि ऎन २०३५ अनुसार मान्य हो भने पारासिटामोल लगायत २१ वटा औषधिको मूल्य २०६४ सालमा मन्त्रिस्तरिय निर्णयले सामान्य सुचना प्रकाशित गरेर मात्र तोकिएको छ। राजपत्रमा प्रकाशित नहुँदा सम्म यो मूल्य लागू हुँदैन। औषधि ऎन २०३५ मा राजपत्रमा प्रकाशित भएपछि मात्र लागू हुने भनि प्रष्ट लेखिएको छ। २०७२ साउन १८ गते राजपत्रमा प्रकाशित औषधिको हकमा भने कार्यबिधि बनाएर वा पुन: राजपत्रमा प्रकाशित गरेर मात्र मूल्य समायोजन गर्न सक्ने व्यवस्था रहेको छ। यसको अर्थ यसको लागी राजनितिक नेतृत्वले नै आँट गर्नुपर्ने हुन्छ।
सबै स्वास्थ्य मन्त्री, सचिव, औषधि व्यवस्था विभागको महानिर्देशकहरुलाई यसको मूल्य समायोजन गर्नु पर्छ भन्ने थाहा छ। नबुझेको कसैले छैन। स्वास्थ मन्त्रीहरुलाई यी औषधिको मूल्य समायोजन गर्नुपर्छ भन्ने पनि छ। मूल्य वृद्धि गर्दा आफू यसको दोषि हुने डरको कारण हालसम्म यसको निर्णय नभएको हो। अर्को कारण उहाँहरुले औषधिको महत्व नबुझेर पनि हो। औषधिको मूल्य हुँदैन, औषधिको समयमा आवश्यकता हुन्छ। समयमा पाइएन भने जीवन नै गुम्छ भन्ने पनि बुझ्न जरुरी छ। त्यसैले अब आँट गरेर मूल्य तोकिएको सम्पुर्ण औषधिको मूल्य पुनरावलोकन गर्न आवश्यक छ।
भारतमा पारासिटामोल ५०० मिलिग्रामको मूल्य कति छ?
पारासिप ५०० - सिप्ला ---१० चक्कीको भारु १०/८९
डोलो ५०० - माईक्रो ल्याब - १० चक्कीको भारु १३/७८
क्रोसिन ५०० ग्याक्सो - १५ चक्कीको १६/३०
पेसिमोल -- इप्का --- १५ वटाको -- भारु १७ / ७६
नेपालको औषधिको बजारको ५० प्रतिशत भन्दा बढि हिस्सा भारतीय उत्पादनहरुको छ। भारतीय उत्पादनहरु नै हाम्रो मुख्य प्रतिस्पर्धी हुन। हामीले औषधिको मूल्यको सम्बन्धमा भारतमा तोकिएको मूल्यलाई आधार बनाएर समय सापेक्ष परिमार्जन गरियोस भनेका हौं। भारतमा रसायन तथा उर्बरक मन्त्रालय अन्तर्गत राष्ट्रिय औषध मूल्य निर्धारण प्रधिकरणले धेरैजसो औषधिको मूल्य तोक्ने गर्दछ। भारत सरकारले तोकेको मूल्य वैज्ञानिक भएकाले त्यहाँ सबैले मानेका छन्। समय समयमा मूल्यमा परिवर्तन हुने हुँदा कहिले घट्ने र कहिले बढ्ने हुन्छ ।औषधिकै मूल्य तोक्ने विशेष निकाय भएकाले भारतमा औषधि अन्य देशभन्दा सस्तो छ। हामीले पनि आफ्ना उत्पादनहरुको भारत सरह नै मूल्य गरिदिने माग गरेका हौं। आज यदि पारासिटामोल नेपालमा नबन्ने र भारतबाट आयात गर्नु पर्ने अवस्था भएको भए यसमा मूल्यको कुरा आउदैन थियो। यो आफैंमा अमूल्य हुन्थ्यो। स्वदेशी उद्योगले बनाउने हुँदा त झन सहयोग पो गर्नु पर्ने होइन र ?
कति औषधिको मूल्य तोकिएको छन्
१. २०६४-०६ -१० गते मन्त्रीस्तरिय निर्णयले २१ वटा औषधिहरु
२. २०७२ - ०४ - १८ गते राजपत्रमा प्रकाशित गरेर ९६ वटा औषधिहरु
तोकिएको मितिदेखि हालसम्म कुनै औषधिको पनि मूल्य परिवर्तन गरिएको छैन। यसलाई समय अनुकुल परिवर्तन गर्न कुनै कानुन समेत बनाइएको छैन। यसबाट हामीले हाम्रो राज्य संयन्त्रको निर्णय क्षमता प्रष्ट बुझ्न सक्छौं।
औषधिको मूल्य र उद्योग प्रतिको राज्यको धारणा
२०६४ सालमा मूल्य तोकिएको औषधि लगायत राजपत्रमा प्रकाशित धेरै औषधिहरु बजारमा नेपाली उत्पादनको वर्चश्व रहेका उत्पादनहरु हुन्। पारासिटामोलकै कुरा गर्ने हो भने नेपाल औषधि लिमिटेड नेपाल सरकारको स्वामित्वकै उद्योगले यसको उत्पादन गरिरहेको छ। यसको लागत मूल्य हामी निजी उद्योगले भन्दा सरकारले आफ्नै उद्योगमा निकाल्न सक्छ। हामीले जायज मूल्य माग गरेका हौं नकि अत्याधिक मुनाफा। नेपाल औषधि लिमिटेड अहिले पक्कै पनि सरकारको अनिर्णयको कारण झन् घाटामा गइरहेको छ। हामीले भारतीय औषधि बजारसंग प्रतिस्प्रर्धा गर्नु पर्छ। आत्मानिर्भर भएका उत्पादनमा मूल्यको लगामले उद्योगको प्रवर्धन रोकिने हुन्छ। राज्यको नीतिको कारण केहि बर्ष देखि नेपालि औषधि उद्योगको बजार घट्दो क्रममा छन्। सजिलै आत्मानिर्भर हुनसक्ने सम्भावना भएको औषधि क्षेत्र मूल्यको नियन्त्रणले ओरालो लागेको छ। हाम्रो नै बजारको हिस्सा बढी भएका उत्पादनमा राज्यले मूल्य तोकेको देख्दा उद्योगको विकाशमा राज्य संवेदनशिल छैन भन्ने प्रष्ट हुन्छ। उद्योग र उत्पादनको कुरा मात्र गरिन्छ। तर उद्योगलाई बाच्न दिइँदैन। राज्यले सोच्न जरुरी छ।
अन्त्यमा, मूल्यको बारेमा सार्वजनिक बहस गर्न हामी तयार छौं। अहिलेको अभाव मानिसको सञ्चय गर्ने बानीको कारणले भएको हो। अत्याधिक माग हुँदा बजारमा अभाव हुनु स्वभाविक हो। यसलाई पुर्ति गर्न हामी स्वदेशी उद्योगहरु सवल छौं। सामाजीक संजालमा ठूला ठूला गफ गरेर यसको समाधान हुँदैन। हामी स्वदेशी उद्योगहरुले हिजो पनि यसको समाधान गरेका थियौं र आज पनि हामी गर्छौ। यो समस्याको समाधान कसैले आएर गरिदिने होइन हामी नै तयार छौं। हामी नेपालमा बन्ने कुनैपनि औषधिको अभाव हुन दिनेछैनौं। यो हामी एउटा नेपालीले अर्को नेपालीलाई दिने विश्वास हो। यो हामी स्वदेशी उद्योगले राज्यलाई गर्ने कर्तब्य हो। यो हाम्रो धर्ती र माटो प्रतिको समर्पण हो। यो हामी स्वदेशी औषधि उत्पादकहरूको साझा प्रतिवध्दता पनि हो। हामी उद्योगी किसान जस्तै हौं सबैलाई माया गर्ने। राज्य किसान र उद्योगीको पक्षमा बोलेर थाक्दैन तर कार्यशैली ठिक विपरित छ। राज्यको अनिर्णयको बन्दी हामी कहिलेसम्म बनिइरहने हो। भोलिको दिनमा यहि कारण कसैको ज्यान जाने अवस्था नबनोस। भलै ठूला ठूला हतियार र बन्दुकको गोलीले मानिसको ज्यान नलिन नि सक्ला। तर एक चक्की औषधिको अभावमा ज्यान जान सक्छ। राज्यको निकायमा बसेका सबैले बुझ्न जरुरी छ। औषधिमा देशलाई आत्मानिर्भर बनाऊने हाम्रो अभियानमा सबैको सहयोगको अपेक्षा गर्दछौं।
- (लेखक अधिकारी नेपाल औषधि उत्पादक संघका महासचिव हुन्। उनी इनोभेटिभ फर्मा ल्याबका प्रवन्ध निर्देशक पनि हुन्।)