रूख गर्ल्याम्मै ढाले पनि
बाँसका तगारा हाले पनि
एक्लाएक्लै राख्न थाले पनि
पिपिइमा पैसा फाले पनि
सुराले हात भिजाए पनि
नोटले नेता रिझाए पनि
विरोधीले जति गिज्याए पनि
ढुकुटी बालुवामै सिध्याए पनि
वणिकको दुनो सोझिए पनि
गरिवको झुपडी झोंसिए पनि
चार्टरमा चीजविज ल्याए पनि
‘हुनेखानेको’ गोरु ब्याए पनि
विज्ञापनको बिस्कुन छराए पनि
जोर बिजोर लागू गराए पनि
मुखौटो जति लगाए पनि
बुटीले बल जगाए पनि
विज्ञानले विधि बसाए पनि
बुस्टर ‘टिका’ पसाए पनि
सदगद्को बाटो छेके पनि
लासमाथि लाभ देखे पनि
सक्दैनौ मानव ! मलाई रोक्न
विषाणु रापलाई मुखले टोक्न
बाँच तिमी, चाहन्छु म बाँच्न
हाँस तिमी, चाहन्छु म हाँस्न
डाँडा डढाइ प्लटिङ जोतायौ
‘मूल’मासेर भू–लोक ततायौ
गाडी गुडाउन डोजर हाल्यौ
निवास तताउन शैल पगाल्यौ
तब त फेर्दैछु आफ्नो रूप
सहन नसकी वायुको धूप
प्रकृति जोगाऊ जोगिन्छ जगत
हातको ‘मयल’ हो है फगत ।