न्युट्रास्युटीकल्स भन्नेबित्तिकै कार्यात्मक खाना (Functional Food) हो भनेर बुझ्नुपर्दछ। अर्को अर्थमा बुझ्ने हो भने यो खाना, खाद्यपुरक र आहारपुरक बस्तुहरु तथा पेयपदार्थ तथा अन्य धेरै यस्ता बस्तुहरु हुन् भनेर बुझ्नुपर्दछ। कोभिड महामारीको मध्य समय २०२० सम्म न्युट्रास्युट्रीकल प्रडक्टको विश्व बजार युएस डलर २७८.८ अर्बसम्म पुगेको थियो। जुन २०२६ सम्म ४४१.७ अर्बसम्म पुग्ने सम्भावना छ। न्युट्रास्युटिकल्सको बजारलाई अझै परिस्कृत गरेर हेर्दा यसभित्र पेयपदार्थ, शक्तिदिने पेयपदार्थ, अनाज, कन्फेक्सनरी, विभिन्न खाजाहरु,खेलाडीको लागि तथा अन्य विभिन्न किसिमका जुसहरु, आहारबाट लिने पुरक पदार्थहरु जस्तै भिटामिन-मिनरल, वनस्पतीय खाद्यपदार्थ, एन्जाईमफ्याट्टी एसिड र प्रोटिनहरु पर्दछन्।
आजको यस आलेख मार्फत खाद्यमार्फत ग्रहण गर्न सकिने आहारपुरक तत्वहरुको विशेष चर्चा गर्न खोजिएको छ। डायटरीसप्लीमेन्टको बजारीकरणको लागि उत्पादक, सुपरवितरक, क्षेत्रीय वितरक, डिपार्टमेन्ट स्टोरहरु,सुपरमार्केट, हाईपरमार्केट,किराना पसलहरु, औषधि पसल, अनलाईन वितरकहरुलाई प्रयोग गरेको देखिन्छ। यसबाहेक कहीँकतै अनलाईन ग्राहक बनाएर घरैसम्म वितरण गरेको पनि देखिन्छ।
विश्वको न्युट्रास्युटिकल्स बजार सधैँ उत्पादक मुलक रुपमा वृद्धि भईरहने जानकारहरु बताउँछन्। शरीरको प्रतिरक्षा क्षमता बढाउन मदत गर्ने हुनाले कोभिडको जस्तो महामारीको अवस्थामा यस्ता डायटरी पदार्थहरुको माग ह्वात्तै बढेको देखिन्छ। त्यसो त अन्यरोगमा पनि त्यतिकै प्रतिरक्षा क्षमताको आवश्यकता हुने हुनाले बजार अत्यन्त ठुलो रहेको र हाम्रो देशमा पनि यसको विक्रीवितरण सहज रुपमै भईरहेको देखिन्छ।
विश्वमा नै न्युट्रास्युटिकल्सको बजार बिस्तारको महत्वपुर्ण कारक तत्वहरुमध्ये यस्ता औषधिहरुको सहजै भण्डारण सुविधा उपलब्ध हुनु, विभिन्न भिटामिन-मिनरलहरु मिश्रण भएका औषधि एउटै चक्कीमा प्राप्तहुनु, ग्राहकहरुको पनि यसतर्फ जागरुकता बढेर जानु, जानकारीहरु प्रयार्प्त मात्रामा प्राप्त हुनसक्नु तथा सचारमाध्यमहरुले पनि यस्ता प्रतिरोधात्मक बैकल्पिक उपचारहरुको बारेमा प्रचारप्रसार गर्नु, भारत जस्तो मुलुकमा सरकारले पनि यसका उपादेयताहरु प्रसारित गर्नु ईत्यादीलाई लिन सकिन्छ। चिकित्सकिय लाभहरु प्राप्त गर्न सकिने औषधिकोरुपमा विभिन्न न्युट्रास्युटिकल्स उत्पादहरु रहेकोले यसलाई सबैले स्विकार गरेको जस्तो पनि देखिन्छ।
चिकित्सकहरुको पुर्जामा पनि विभिन्न भिटामिन-मिनरलको मिश्रण रहेको यस्ता औषधिहरुले गणनायोग्य नै स्थान हासिल गरिसकेको देखिन्छ। डायटरी न्युट्रास्युटिकल्स (Dietary Supplements) औषधिहरुमा एन्टीअक्सिडेन्ट, प्रोबायोटिक,प्रोटिन तथा पोलीसेचुरेटेड फ्याट्टी एसिडहरु हुने भएकोले र बिरामीले पनि सजिलै ग्रहण गर्नसक्ने भएकोले मोटोपन, मुटुसम्बन्धी रोगहरुमा, क्यान्सर, कोलेस्टेरोल, बाथरोग, मधुमेह, कपाल झर्ने रोग, छालासम्बन्धी रोगहरुमा समेत उपादेयता र प्रयोग गरिन्छ।
त्यसैगरी न्युट्रास्युटिकल्स आहारपुरक भिटामिन-मिनरलबाहेक पनि एन्टीरिन्कल-हाईड्रेटिङ्गसिरम, ईन्टेन्सिभ अन्टीएजिङ्गसिरम, मिनोक्सिडिल, फिनेस्टिराईडको कपाल झार्न रोक्ने सेम्पु तथा झोल, छाला सम्बन्धी कैयौँ क्रीम ओईन्टमेन्टहरु नेपालको बजारमा पनि उपलब्ध छन्। प्रयोगकर्ताहरुले निर्धक्क प्रयोग गरिरहेका पनि छन्। कैयौँ औषधिहरु सम्पुर्णजसो भारत लगायत विभिन्न मुलुकहरुबाट नेपालमा आयात भईरहेका छन्। जस्को मुल्यलाई तुलनात्मकरुपले अध्ययन गरेर हेर्दा साधारण नेपाली जनमानसको पहुँचभन्दा माथिका धेरै महङ्गा पनि छन्।
प्रश्न के आउँछ भने, यी बस्तुहरु नेपालमा उत्पादन हुन सक्छ कि सक्दैन? यदि सक्छ भने किन भईरहेको छैन? नेपालमा विश्वस्तरिय प्रविधीहरु आईसकेको छ भने के यस्ता आवश्यक औषधि क्रीमआईण्टमेन्ट नेपाली उद्योगहरु उत्पादन गर्न सक्षम छैनन्? यो प्रश्न जटिल छ। यसको उत्तर नेपाल सरकारको निति निर्देशनसँग गाँसिएको छ। नेपाल सरकारले एउटा यस्तो निति परिमार्जन गरिदिएको छ जसअनुसार यस्ता आवश्यक बस्तुहरुको उत्पादन गर्न मिल्दैन अनि आयात चाहिँ निर्धक्क गर्न सकिन्छ।
यो सरकारको आफ्नै देशभित्र सञ्चालित उद्योगहरुप्रती नकरात्मक सोच हो। खाद्यपरिपुरक आहारपुरक डायटरीसप्लीमेन्ट तथा माथि उल्लेखित सम्पुर्णजसो औषधिहरु नेपालमा सहजै उत्पादन हुन सक्दछन्। तर स्वदेशी उद्योगहरुले यस्ता औषधि उत्पादनलाई लाइसेन्स प्राप्त गर्न सक्दैनन्। बिडम्वनाको कुरो के छ भने हाम्रै नेपाल सरकार न्युट्रास्युटिकल्स प्रडक्टहरु बिदेशबाट सजिलै आयात गर्न अनुमति दिन्छ भने त्यसकै स्वदेशी उत्पादनलाई मान्यता दिन खोज्दैन।
नेपालका औषधि उद्योगहरुले विश्वका प्रचलित गुणस्तर मापदण्ड अबलम्वन गरेर औषधि उत्पादन गर्दछन्। मुखबाट खाने औषधिको गुणस्तर भन्नेबित्तिकै तोकिएको मात्रामा खानेबित्तिकै कति छिटो पाचनप्रणालीमा टुक्रीन्छ र शरीरको प्रणालीमा पुग्दछ त्यसलाई बुझिन्छ। त्यस्का साथसाथै औषधिमा हुनसक्ने अशुद्ध पदार्थको मात्रालाई पनि हेर्ने गरिन्छ। नेपालभित्र भिटामिन-मिनरल लगायत धेरैजसो क्रीमआईन्टमेन्ट मल्हमहरु उत्पादन भईरहेका छन्। तर एउटै औषधिमा धेरै प्रकारका भिटामिन-मिनरल प्रोटिन,फेट्टीएसिड मिलेका चक्की क्याप्सुलहरु नेपाल सरकारको स्वास्थ मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभागबाट उत्पादन अनुमती नपाउने व्यवस्था छ।
तर तिनै मिश्रणहरु कृषी तथा पशुपन्छी बिकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागबाट स्विकृती लिएर भारत लगायत अन्य देशहरुबाट सहजै आयत गर्न पाईन्छ। मनन गर्नुपर्ने कुरो के पनि छ भने, देशभित्र ठुलाठुला लगानी गरेर खुलेका झण्डै १०० को हाराहारीमा पुग्न लागेका विश्वस्वास्थ्य सगठनको निर्देशन अनुसारको मापदण्ड पुरा गरेका स्वदेशी उद्योगहरुले उत्पादन गर्न नपाउने तर विदेशीले यही भुमिलाई आफ्नो आधार बनाएर बजारीकरण सहजै गर्न पाउने?
के यो आश्चर्यलाग्दो तर्क होईन? हामी कस्तो नियम कानुन बनाउछौँ? जस्ले कसैलाई काखा अनि कसैलाई पाखा लगाउँछ। नेपाल सरकारको औषधि व्यवस्था विभागले भिटामिन र अन्य मिनरल ईत्यादीको समिश्रण एउटै क्याप्सुल अथवा ट्याब्लेटमा एउटा निश्चितमात्रा भित्र हुनुपर्दछ भन्ने परिपत्र जारी गरेको छ। त्यसभन्दा बढी भएमा स्विकृती नपाइने व्यवस्था गरेको छ। उता खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागबाट त्यसैको बिपरित आयात प्रमाणपत्र दिने व्यवस्था रहेको छ।
१० अर्बभन्दा बढीको यस न्युट्रास्युटिकल्स बजारमा आयातकर्ताले विदेशबाट आयात गर्न पाउने औषधिकोरुपमा पुर्जा पनि उपलब्ध हुने पसलमा विक्रीवितरण पनि हुने तर स्वदेशी उद्योगहरुले भने उत्पादन गर्न नमिल्ने कस्तो व्यवस्था बनायौँ त हामीले? २०७४ सालमा गगन थापा स्वास्थमन्त्री भएको बेला प्रविधिजन्य स्वास्थ सामग्री सम्बन्धी स्वास्थ्य निर्देशिका पनि जारी भएको र त्यसमा न्युट्रास्युटिकल्स औषधि व्यवस्था विभागले हेर्ने भनेर प्रष्ट लेखिएको पनि रहेछ। तर कार्यान्वयन पक्षमा यो नभएको देखिएको छ।
यसरी सम्पुर्णतवरले विश्लेषण गरेर हेर्दा, यसरी हुन्छ त औद्योगिक बिकास ? यसरी भन्न मिल्छ त हामी उद्योगमैत्री राष्ट्रको निर्माण गर्न चाहन्छौँ? यसरी हुन्छ त रोजगारमा वृद्धि? यसरी सम्भव छ त निर्यातको सार्थक आधार? प्रश्नको उत्तर जटिल छ। स्वदेशी उद्योगहरुले यस्ता डायटरीसप्लीमेन्ट र मल्हम तेलहरुको उत्पादन गर्न पाउनुपर्छ भनेर सरकारसँग बारम्बार अनुरोध नगरेका पनि होईनन् तर ऐन कानुन तथा यस्तै आधारभुत रोकावटहरुले गर्दा स्वदेशी उद्योगहरुले उत्पादन गर्न अँझै पाएका छैनन। तर दशकयता यस्ता प्रडक्टहरु विदेशी भुमिबाट उत्पादन भएर नेपालभित्र आउनेक्रम भने बढेर गएको छ। यस किसिमको अपारदर्शी नियमकानुनको भुमरी हटाउन नेपाल सरकारले आफ्नो ध्यान दिनुपर्छ। र, आफ्ना स्वदेशी उद्योगले पनि न्युट्रास्युटीकल्स प्रडक्टहरु उत्पादन गर्न पाउने निति नियमको तर्जुमा गर्नुपर्दछ।
(1) Glucosamine, Chondroitin & MSM 120 Tablets- Rs. 4000/-
(2) Bulking Agents (Microcrystalline Cellulose, Calcium Phosphates), Zinc Gluconate, Anti-Caking Agents (Magnesium salts of fatty acids).Essential Zinc 100 Tablets 'Bottle - Rs. 1550/-
(3) SUPER CALCIUM + VITAMIN D240 CHEWABLE TABLET(S) in a bottle- Rs.3800/-
(4) Vitamin C 500mg, Vitamin D3 1000i.u, Zinc 25mg30 Tablet(S) in a Box- Rs.600/-
(5) FINASTERIDE 0.1%+MINOXIDIL 5%60ml in 1 bottle – Rs. 1100/-
(6) Minoxidil, Procapil, Planoxia, Anagain, Aqua SF 01, Propylene Glycol, Glycerin, IPA, EDTA, Tween-20, Triethanolamine, Water and Fragrance, 60ml – Rs. 1550/-
(7) Calcium carbonate 125mg,Magnesium Hydroxide eq. Elemental Magnesium 90 mg, Zinc Sulphate Monohydrate 4mg, Vitamin D3 200 IU30 tab – Rs.900/-
(8) Calcium Citrate & Vitamin D, 250 tabs – Rs. 5000/-
(9) Vitamin A, Vitamin C, Vitamin D, Vitamin E, Vitamin B-6, Folic Acid, Vitamin B-12, Biotin, Pantothenic Acid, Iodine, Zinc, Choline, Inositol, as the active vitamins and minerals, for 60 – Rs. 3800/-
(10) Fish Oil 500mg + Eicosapentaenoic Acid 180 mg + eocosahexaenoic Acid 120 mg + Vitamin E 10 mg, 100 Capsule(S) in a Bottle – Rs.900/-
(11) Fish Oil Softgel 200 caps – Rs. 4300/-
(12) Vitamins minerals combination 10 tab – Rs. 200/-
यी र यस्ता कतिपय औषधिहरु छन्, जुन नेपालमा पनि उत्पादन हुन सक्दछन्। तर त्यसका लागि सरकारी अनुमति आवश्यक हुन्छ। यस्ता न्युट्रास्युटीकल्स प्रडक्टहरु स्वदेशमा उत्पादन हुनसके उपभोक्ताले गुणस्तरिय र सस्तो सुलभरुपमा प्राप्त गर्न पनि सक्ने थिए। डायटरीसप्लीमेन्ट बजारमा नेपालको प्रस्तुती देखाउन र यस्ता औषधिहरुको निर्यातको पनि सम्भावना रहेकोले यसतर्फ ध्यान पुर्याउनु आवश्यक छ। साथै आयातलाई पनि निरुत्साहित गर्दै स्वस्थ प्रतिस्पर्धाको रुपमा स्वदेशी उद्योगलाई पनि न्युट्रास्युटीकल्स प्रडक्टहरु उत्पादन अनुमति दिनु जायज हुन्थ्यो कि?
-(ओझा आईडियल फर्मास्युटिकल्स कम्पनीका कार्यकारी निर्देशक हुन्)