मानव जगत अहिले कोरोनाको तेस्रो लहरसँग जुधिरहेको छ। यसै सन्दर्भमा के कोरोनाको यो महामारी मात्रै मानव जगतले भोगेको पहिलो महामारी हो त? कोरोनाको अगाडि हामी किन यती लाचार भयौँ? हामीले महामारी नियन्त्रणका लागि गरिसकेका र गरिरहेका प्रयासहरु साच्चिकै कमजोर थिए र छन् त? वर्तमानमा हामी कहाँ छौँ? भविस्यमा के गरियो भने हामी हाम्रो समाजलाई, देशलाई र सम्पूर्ण विश्वलाई बढी सुरक्षित बनाउन सक्छौ? यी र यस्तै कुराहरुमा यो लेख केन्द्रीत छ।
सर्वप्रथम सुरू गरौं, के कोरोनाको यो महामारी मात्रै मानव जगतले भोगेको पहिलो महामारी हो त? भन्ने कुराबाट। उत्तर प्रष्टै छ, निश्चित रुपमा हैन। इतिहास साक्षि छ यो जगतमा विभिन्न कालखण्डमा महामारी गराउन सक्ने संक्रामक रोगहरुको उदय भएको छ/फैलिएका छन्। विगतमा भइसकेका र भविष्यमा फेरि पनि नहोलान भन्न नसकिने मुख्य महामारीहरुमा प्लेग, हैजा, फ्लू, सार्स र मर्सलाई लिन सकिन्छ। र हाल पुरै मानव सभ्यता कोभिड-१९ को चपेटामा फसेको हामी सबैलाई ज्ञात छ/भुक्तभोगी छौं।
उसो भए कोरोनाको अगाडि हामी किन यति लाचार भयौ त? प्रमुख उत्तर हुन्- आवश्यक तयारी नहुनु र निर्णय क्षमताको कमिI निश्चितरुपमा पूर्ववत महामारीहरुले मानवजातिको शारीरिक, मानसिक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक, सांस्कृतिक आदि विभिन्न आयामहरुमा जबर्जस्त प्रभाव पारेर अपुरणीय क्षति पुर्याएको कुरा सत्य हो। तथापी यस्ता महामारीहरुले मानव सभ्यतालाई केहीहद सम्म महामारीहरुविरुद्ध लड्ने ज्ञान, प्रविधि, कला र साहससहितको बुद्धि पनि प्रदान गरेको कुरालाई नकार्न सकिँदैन। अहिले नेपाल जस्तो विकासशील देशको त कुरै छोडौं, विकसित भनिएका देशहरुले पनि समयमा तयारी गर्न नसक्दा ठूलो क्षति व्यहोर्नु परेको कुरालाई नकार्न सकिदैन।
दोस्रो कुरा, महामारीमा सहि निर्णय तत्काल गर्नुपर्ने हुन्छ। महामारीका विरुद्ध रणनैतिक योजनाको खाँचो हुन्छ। यसका लागि निर्णयकर्ता, निर्णय कार्यन्वयनकर्ता र निर्णय पालनकर्ता सबैको महत्वपुर्ण भूमिका हुन्छ। निर्णय गर्नमा ढिलाई, कार्यान्वयनमा अलमल र पालनकर्तामा उदासीनता भयो भने महामारी समयमा नै नियन्त्रण गर्न गारो हुन्छ। कोरोनाको पहिलो लहरदेखि दोस्रो लहर हुँदै हाल तेस्रो लहरसम्म पुग्दा निर्णय सम्बन्धिका कुराहरुले पनि नेपाल जस्ता देशहरुलाई समयमा नै महामारी नियन्त्रण गर्न अप्ठ्यारो पारेको तथ्यलाई स्वीकार गर्नुपर्ने हुन्छ।
यी २ प्रमुख कारणहरु बाहेक हाम्रो देशको आर्थिक स्रोत साधनको कमी, तीन तहका सरकारहरुको एक आपसमा सहकार्य, समन्वय र संचारमा अपेक्षाकृत तालमेलको कमी, परीक्षणका लागि चाहिने नविनतम प्रयोगशाला प्रविधि तथा द्रुत परीक्षण किट हरु को सहि तथा समयानुकुल चयनको कमी, उपचारमा प्रयोग हुने चिकित्सीय साधनहरुको कमि साथै स्वास्थ्य जनशक्तिको कमि र उपलब्ध जनशक्तिको पनि सहि व्यवस्थापन एवं परिचालन गर्न नसक्दा कोरोना महामारी समयमा नै नियन्त्रण गर्न समस्या भएको हो भन्ने कुरालाई आत्मसात गर्नु आवश्यक छ।
के हामीले महामारी नियन्त्रणका लागि गरिसकेका र गरिरहेका प्रयासहरु साँच्चिकै कमजोर थिए र छन् त?
निश्चितरुपमा गरिएका प्रयासहरु सकारात्मक थिए र छन्। स्वास्थ्यकर्मीहरुले मानवताका खातिर डटेर काम गरेका छन्, संचारकर्मी लगायत अन्य सरोकारवाला निकायहरुको पनि अतुलनीय योगदान रहेको छ। दातृनिकायको पनि ठूलो भूमिका रहेको छ। राज्य अभिभावक भएको नाताले जनअपेक्षा अनुसार अझै थप काम गरि सीमान्तकृत जनतासम्म थप सेवा दिन अल्पकालीन र दीर्घकालीन योजना बनाएर कार्य गर्नुपर्ने हुन्छ।
वर्तमानमा हामी कहाँ छौं?
ढिलोगरि भएपनि सिमा नाका मा हेल्थ डेस्कको सुरुवातसँगै सीमानाका व्यवस्थित गर्ने कामको सुरुवात भएको छ। आइसोलेसन क्वारेन्टाइनको बारेमा चेतना जागेको छ। नवीनतम प्रयोगशाला प्रविधि दुर्गम ठाउँसम्म विस्तार भएका छन्। विश्वसनीय द्रुत परीक्षण विधिहरुको पहुँच बढेको छ। अस्पतालहरुको क्षमता बढ्नुका साथै अस्पतालको विकास गर्नुपर्छ भन्ने भावना पलाएको छ। स्वास्थ्यमा जनशक्ति बढाउनुपर्छ भन्ने कुरा को धारणा विकास भएको छ। कम्तिमा कोरोनाको संका लागेमा सजिलै जाच गर्न सकिने र स्वास्थ्यमा जटिलता आइहालेमा चिकित्सीय सेवा दिन सकिने अवस्थामा हामी छौI तथापी अझै गर्नुपर्ने धेरै बाँकी नै छन्I
भविस्यमा कसरी सम्पूर्ण विश्वलाई बढी सुरक्षित बनाउन सक्छौं?
कोभिड-१९ को महामारी नियन्त्रण र क्षति न्यूनीकरणका लागि कार्य गर्दैगर्दा जनस्वास्थ्य समस्याका रुपमा भविष्यमा पनि देखिन सक्ने महामारीहरुको रोकथामका लागि हामी सबै आजै देखि लाग्नुपर्ने हुन्छ। त्यसका लागि तल उल्लेखित कुराहरुमा ध्यान पुर्याउनु आवश्यक छ:
१ सीमा नाकामा अस्थायी रुपमा संचालित हेल्थ डेस्कहरुलाई स्थाई रुपमा विकास गरि सिमा नाका व्यवस्थित गर्नुपर्दछ। प्रयोगशालाकर्मी र अन्य स्वास्थ्यकर्मीहरुको संख्या बढाई स्थाई दरबन्दी सिर्जना गरि द्रुत परीक्षण किटहरुको माध्यमबाट स्क्रिनिङ गर्ने कार्यलाई बढावा दिनुपर्छ।
२.आधारभूत सुविधा भएका क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरुको विस्तार गरि स्थाई रुपमा विकास गर्नुपर्छ।
३.दुर्गम ठाउँसम्म विस्तार भएका नवीनतम प्रयोगशाला प्रविधि जस्तै: पीसीआर ल्यावहरुले दिने सेवा सम्बन्धित ठाउँको आवश्यकताअनुसार विभिन्न किसिमका रोगहरुको निदानका लागि सुचारु राख्नुपर्छ। ति प्रयोगशालाहरुमा विज्ञ व्यक्तिसहित आवश्यक जनशक्तिको समुचित स्थाई व्यवस्थापन गरिनुपर्छ।
४. जनस्वास्थ्य सँग सम्बन्धित महामारी फैलाउन सक्ने रोगहरुको निदानका लागि नवीनतम विश्वसनीय द्रुत परीक्षण गर्ने साधनहरुको प्रयोग गर्ने र यस्ता साधनहरुको चयन र विकासमा ध्यान दिनुपर्ने।
५. अस्पतालहरुको क्षमता बढाउने र विकास गरिनुपर्ने।
६. चिकित्सक,नर्स, प्रयोगशालाकर्मी तथा अन्य स्वास्थ्यकर्मीहरुको संख्या बैज्ञानिक हिसाबले थप गर्नुपर्ने।
७. रोग निगरानी प्रणालीलाई बलियो बनाउने।
८. मानव, पशुपन्छी र वातावरण स्वस्थ राख्नका लागि एक स्वास्थ्य अवधारणामा कार्य गर्ने।
यी बाहेक महामारी नियन्त्रणमा सबैको महत्वपुर्ण भूमिका हुने हुँदा आम जनताले पनि तोकिएका मापदण्डहरुको पालना गरि जिम्मेवार नागरिकको कर्तब्य पालना गर्नुपर्ने हुन्छ। स्मरण रहोस, हामी सबै जना एकजुट भई धैर्य, शान्ति, प्रेम र भातृत्वको भावनाले विज्ञानको सहयोगले हाल चलिरहेको महामारी र भविष्यमा आउन सक्ने महामारीहरुलाई नियन्त्रण गर्न सफल हुने छौं।
-(ओझा सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धनगढीका निमित्त निर्देशक हुन्।)