१. विषय प्रवेश
आठविसकोट नगरपालिका कर्णाली प्रदेशमा रहेको रुकुम(पश्चिम) जिल्लाको उत्तरी भूभागमा अवस्थित छ। नेपालमा संघीय व्यवस्थाको कार्यान्वयनसँगै स्थानीय तहकोरुपमा आठविसकोट नगरपालिका बन्यो। नगरपालिकाको रुपमा स्थापना हुँदा जनसंख्याबाहेक स्वास्थ्य, शिक्षा यातायात र संचार जस्ता क्षेत्रको अवस्था हेर्दा नगरपालिका भन्न लायक थिएन। नगरपालिका स्थापनादेखि वर्तमान समयसम्म आइपुग्दा नगरपालिकाको विभिन्न क्षेत्रमा उल्लेख्य परिवर्तन भएको देख्न र महसुस गर्न सकिन्छ। स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले दोस्रो प्राथमिकतामा राखेर विशेष पहल र लगानी गरेको छ। फलस्वरुप स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको देखिन्छ। यस आलेखमा आठविसकोट नगरपालिकाको स्वास्थ्य सेवाको वर्तमान अवस्था र नगरपालिका स्थापनापूर्वको अवस्थाको तुलना गर्दै पालिकास्तरीय आगामी योजनामा स्वास्थ्य सम्बन्धी कार्यको खाँका समेत तयार पार्ने प्रयास गरिएको छ।
२. नगरपालिका स्थापना पूर्वको स्वास्थ्य अवस्था
आठविसकोट नगरपालिका स्थापनापूर्व हालको नगरपालिका क्षेत्रमा पाँचवटा गा.वि.स. थिए। हालको वडा नं २ को स्यालाखदी, वडा नं ४ को गोतामकोट वडा नं ९ को राडिजिउला वडा नं ११ को गोइरी र वडा नं १४ को ज्यामिरकोट गरी जम्मा पाँच स्थानमा मात्र स्वास्थ्यचौकी रहेका थिए। ती संस्थामा १६ जना सहायक तहका स्वास्थ्यकर्मी र ५ जना कार्यालय सहयोगी गरी जम्मा २१ जनामात्र स्वास्थ्यक्षेत्रमा कार्यगर्ने कर्मचारी थिए। गोतामकोट र राडिजिउलाका स्वास्थ्यसंस्थामात्र संस्थागत प्रसुति केन्द्रको रुपमा रहेका थिए। जन्मेका कूल बालबालिकामध्ये ५६ प्रतिशतले मात्रै पूर्णखोप पाउने गरेका थिए। करिव करिव आधाजति बालबालिका खोपसेवा पाउँनबाट बन्चित हुनेगरेको देखिन्छ। १८ प्रतिशत भन्दा बढी बालबालिका शिघ्रकुपोषणले गाजिएका हुन्थे। न्यून संख्याका गर्भवती मात्र गर्भजाँच गराउन स्वास्थ्यसंस्थामा जाने गर्थे। सुरक्षित तरिकाले स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा सुत्केरी हुने संख्या पनि थोरै हुन्थ्यो। स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरीपछिको जाँच गराउने संख्या चार प्रतिशत भन्दा कम थियो। जसको कारण सुत्केरी अवस्था र सुत्केरीपछिको अवस्थामा धैरै आमाहरुको अकालमा ज्यान जाने गर्थ्यो। स्वास्थ्यसंस्था सबैको पहुँचमा थिएनन्। परिवार नियोजनका साधन सबैले चाहेको अवस्थामा पाउन सकिरहेका हुन्थेनन्। जसको कारण नचाहँदा नचाहँदै पनि गर्भधारण गर्नुपर्ने र गर्भावस्था तथा सुत्केरी अवस्थाको जोखिम मोल्नुपर्ने हुन्थ्यो। सन्तानको रहर पुगेकाले पनि सन्तान थपिरहेका हुन्थे।
स्वास्थ्यसंस्थामा सेवा लिन घन्टौ हिँड्नुपर्थ्यो। हिँडाइको क्रममा कैयौँ खोला तर्नुपर्थ्यो भने कैयौँ डाँडा छिचोल्नुपर्थ्यो। यसरी कठिनाइका साथ स्वास्थ्यसंस्थामा त आइपुग्थे सेवाग्राही तर स्वास्थ्यकर्मी भेटिनु भनेको घोगाको शिला पाएजस्तै हुन्थ्यो। भेटाए भाग्य सम्झन्थे। नभेटाए कर्मै अभागी भन्थे। उजुर कतै गर्दैनथे। गरेपनि लाग्दैनथ्यो। त्यसैले त झाँक्री,धामी या भाग्य गुहार्थे। ग्यास्टाइटिसले मुटु दुख्दा होस वा पत्थरीले कोखा चस्किँदा,लडेर हातखुट्टा भाँचिदा समेत। नगरपालिकाको बस्तीभरी गरिवी थियो। अभाव र पछौटेपना पनि। स्वास्थ्य सम्बन्धी चेतनाको अभाव थियो। त्यसैकारण वर्षेनी महामारीले सताउँथ्यो। कहिले झाडापखालाको महामारीले धैरैको ज्यान लिन्थ्यो भने कहिले टाइफाइडले। यसरी नगरपालिका स्थापनापूर्व पालिकाभर न्यून चेतना, सेवा पहुँचको कमी, औषधि अभाव र गुणस्तरीय स्वास्थ्य सेवाको कमी जस्ता स्वास्थ्य समस्या ज्यूकात्यू रहेका थिए।
३. नगरपालिकाको वर्तमान स्वास्थ्य अवस्था
आठविसकोट नगरपालिका स्थापना भएपश्चात स्थानीय सरकारले कानून निर्माण गर्न थाल्यो। स्रोत साधनको जोहो गरी नीति कार्यक्रम र बजेट आउन थाल्यो। यसैक्रममा स्वास्थ्य सेवालार्इ सबैको पहुँचयोग्य बनाउन नगरपालिकाले जम्मा २२ वटा स्वास्थ्यसंस्थाको स्थापना गरेर संचालन गर्यो। पालिकाको केन्द्र रहेको राडिजिउलामा ल्याव, एक्स–रे, युएसजीसहितको नगर अस्पताल स्थापना गरेर संचालन गर्यो। जसका कारण नगर अस्पतालमा चिकित्सकसहित स्वास्थ्यकर्मीको टिमले चौबिसै घन्टा सेवा प्रदान गरिरहेको देखिन्छ। टोल,बस्ती-बस्तीमा सेवा पुग्नेगरी ९४ जना स्वास्थ्यकर्मी खटायो। स्वास्थ्यकर्मीहरुको अभावलार्इ मध्यनजर गरी ६८ जना करार सेवामा स्वास्थ्यकर्मी भर्ना गरिए। समय समयमा विशेषज्ञ चिकित्सकसहितको सेवा प्रदान गर्न निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने गरियो। नगरपालिकाले स्वास्थ्य विमा कार्यक्रमलार्इ अनिवार्य गरी आम नागरिकलार्इ समावेस गर्यो। हाल नगरपालिकाले सबै स्वास्थ्यसंस्थाको भवन निर्माण कार्यलार्इ निरन्तरता दिएको छ। सबै स्वास्थ्यसंस्थामा बाह्रै महिना औषधिको अभाव हुन नदिने गरी व्यवस्था मिलाएको छ। गुणस्तरीय सेवाका लागि औजार उपकरणको व्यवस्था पालिकाले गरेको छ। जसको फलस्वरुप जम्मा बालबालिका मध्ये ९६ प्रतिशतले विसिजि खोप प्राप्त गर्ने गरेको देखिन्छ। शिघ्रकुपोषणको दर ६ प्रतिशतमा झरेको छ। संस्थागत रुपमा सुत्केरी हुने दर गर्भजाँच र प्रसुतिजाँचको संख्यामा उल्लेख्य वृद्धि भएको देखिन्छ।
हाल नगरबासी स्वास्थ्य सेवाको पहुँचमा रहेका छन्। स्वास्थ्यप्रद आनीबानी र चेतनामा क्रमशः सुधार हुदै गएको देखिन्छ। वर्षेनी महामारीको रुपमा फैलने रोगको अन्त्य भएको देखिन्छ। विश्वलार्इ समेत सताएको कोभिड-१९ को महामारीमा आवश्यक तयारी र योजनावद्ध कार्य गरेकाले पालिकाभरी ठूलो क्षति व्यहोर्नु परेन। नगरपालिकाले १० दिनमै १४ बेडको कोभिड आइसोलेसन वार्ड निर्माण गरी नमूनायोग्य कार्य समेत गर्यो। पालिकाले पाँचवटा स्वास्थ्यसंस्थामा इन्टरनेटको व्यवस्थासहित अनलाइन डाटा इन्ट्री गर्ने व्यवस्था मिलाएको छ। पालिकाले स्वास्थ्य तथा सामाजिक विकास शाखा अन्तरगत रहनेगरी सफ्टवेयरमार्फत व्यवस्थित औषधिको स्टोर संचालनमा ल्याएको छ। त्यसैगरी व्यवस्थित सफ्टवेयरमार्फत सहुलियत दरको सशुल्क फार्मेसी सेवा पनि संचालनमा ल्याएको छ। नगर अस्पतालमा टेलिमेडिसिन सेवा मार्फत विशेषज्ञ सेवाको सुरुवात समेत भएको छ।
माथि उल्लेखित प्रयास मार्फत नगरपालिकाको स्वास्थ्य अवस्थामा आएको परिवर्तन देहाए बमोजिम तुलना गरिएको छः
३.१ स्वास्थ्य संस्था र मानव संशाधन सम्बन्धी तुलना
३.२ स्वास्थ्य सूचकहरुको तुलना
३.४ नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका नयाँ प्रयासहरु
आठविसकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा सुधार गर्न र अपेक्षित नतिजा हासिल गर्न केही नविनतम् प्रयासको थालनी गरेको देखिन्छ। ती कार्यलार्इ निम्नानुसार प्रष्ट्याउन सकिन्छः
आव ०७४।७५ को शुरुवातमै सबै वडामा कम्तिमा एक वटा स्वास्थ्य संस्था रहनेगरी २२ वटा स्वास्थ्यसंस्थाको स्थापना र संचालन गर्नु।
आव ०७५।७६ को शुरुवातमै नेपालमै पहिलो नगर अस्पतालको रुपमा कानूनी प्रक्रिया पुर्याइ संचालन गर्नु।
नगर अस्पतालमै सहुलियत दरमा चौविसै घन्टाको सेवासहितको फार्मेसी सेवा संचालन गर्नु।
विशेषज्ञ स्वास्थ्य शिविर तथा सर्वेक्षण संचालन गरी नगरपालिकाको प्रमुख स्वास्थ्य समस्या पत्ता लगाउनु।
नगर अस्पताललाई स्वास्थ्य विमा कार्यक्रममा जोडी नगरका आम घर परिवारलाई स्वास्थ्य विमामा आबद्ध गराउनु।
ठूलो संख्यामा स्वास्थ्यकर्मी करार सेवामा भर्ना गर्नु।
स्वास्थ्यकर्मीहरुलाई उपचारात्मक कार्यमा मात्र नलगाई स्वास्थ्य जागरण कार्यमा समेत परिचालन गर्नु।
टेलिमेडिसिन सेवामार्फत नगर अस्पतालबाट विशेषज्ञ उपचारको व्यवस्था गरिनु।
४. नगरपालिकाले आगामी योजनामा समेट्नुपर्ने स्वास्थ्य कार्यक्रम
आठबिसकोट नगरपालिकाको स्वास्थ्य प्रणालीमा अझै प्रगति गर्न र नगरवासीको स्वास्थ्य अवस्थामा विशेष सुधार गर्न देहाय बमोजिमका कार्यक्रम संचालन गर्नु आवश्यक देखिन्छः
टिओआर निर्माण गरी स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने।
दण्ड र पुरस्कारको व्यवस्था पालिकाले गर्नुपर्ने।
संस्थागत प्रसुति दर गर्भजाँच र प्रसुति जाँचको दर बढाउन विशेष कार्यक्रम संचालन गरिनुपर्ने।
पोषण सम्बन्धी विशेष अभियान संचालन गरिनुपर्ने।
टेलिमेडिसिन सेवालाई स्वास्थ्य चौकी स्तरमा विस्तार गरिनुपर्ने।
आठबिसकोट नगर अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्नुपर्ने।
आठविसकोट नगर अस्पताललाई टिचिङ अस्पताल स्वरुपमा बनाई प्राविधिक स्वास्थ विषयको पठनपाठन हुने व्यवस्था गर्नुपर्ने।
गोतामकोट स्वास्थ्य चौकीलाई ल्याव एक्सरे युएसजी सेवासहितको बनाउनुपर्ने।
५. निष्कर्ष
आठविसकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानी र प्रयासमार्फत उल्लेखनीय परिवर्तन देखा परेका छन्। स्वास्थ्य क्षेत्रका धेरै सूचकहरुमा सुधार आएका छन्। जनप्रतिनिधीहरुको स्वास्थ्य क्षेत्रलाई हेर्ने सकारात्मक दृष्टिकोण र सम्वृद्धिका लागि स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने भावनाले आम नगरबासीको स्वास्थ्य स्थिति सुधारोन्मुख देखिन्छ। यद्यपी कर्णाली प्रदेशको समकक्षीयता र राष्ट्रिय स्तरको अवस्थामा पालिकालाई पुर्याउन भने अझै प्रयास जारी राख्नुपर्ने देखिन्छ।
-(लेखक आठविसकोट नगरपालिका रुकुम (पश्चिम) का जनस्वास्थ्य निरीक्षक हुन्)