मानिसको जीवनकाल एउटा किताब हो र हरेक पाना मानिसले जिउने हरेक दिन हो। त्यस किताबको सबैभन्दा ठूलो गुरु जीवनकालको भोगाइ र अनुभव हो। यसले हाम्रो उन्नति, प्रगति र विकासको मार्गतर्फ हामीलाई डोर्याउँछ। म पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शास्त्रमा दोस्रो वर्षमा अध्ययनरत छात्रा हुँ।
यहाँ हामीलाई आफ्नो समाजप्रति समर्पित हुन र आफ्नो अध्ययनलाई जीवनमा सार्थक रूपमा प्रयोग गर्न विभिन्न सुनौलो अवसर छन्। त्यस अन्तर्गत लियो क्लब अफ काठमाडौंले फागुन २१ गतेका दिन आयोजना गरेको मधुमेह, उच्च रक्तचाप र शरीरको वजनको सूचाङ्क (विएमआइ) सबन्धी कार्यक्रम पनि पर्छ।
अहिलेको युगमा उच्च रक्तचाप, मधुमेह र मोटोपन घरघरमा पाइने र जनचेतना चाहिँने रोग भएकाले हामीले यस विषयलाई रोजेका थियौं। यो हाम्रो लागि पहिलो स्वास्थ्य कार्यक्रम थियो। जीवनको पहिलो भनेपछि एकदमै खास र सफलताको बढी आशा हुन्छ। सुक्ष्म कुराले धेरै महत्त्वपुर्ण भुमिका खेलेझैँ अहिलेको युगमा जहाँ सबै कुरा अनलाईन जसको कारण मानिसको हिँडडुलको कमि, चिलो र नुनिलो कुराको अत्यधिक सेवन, तनावग्रस्त जीवन, मदिराको सेवन, इत्यादि कारणले गर्दा पनि उच्च रक्तचाप, मधुमेह र मोटोपन जस्तो समस्याहरु आइपर्छन। यी समस्याले गर्दा हाम्रो महत्त्वपुर्ण अङ्गहरु जस्तै मुटु, मिर्गौला, आँखा र दिमागमा असर पर्छ। दोस्रो वर्ष मेडिकल विधार्थीको नाताले हामीले उपचार गर्न नसके नि हामीले जानेका ज्ञानबाट जनचेतना फैलाउन हिसाबले यो कार्यक्रम गरेको थियौं।
काँचो माटो जस्तै मानवको जीवनमा रुप, रङ्ग र आकार भर्ने काम चुनौतीले गर्छन्। त्यस्तै यो हाम्रो पहिलो स्वास्थ्य कार्यक्रम भएकोले चुनौतीहरु धेरै थिए। पहिलो चुनौती कुन स्थानमा गर्ने भन्ने विषयको थियो। त्यसका लागि हामीले वृद्धआश्रममा पहल गरेका थियौं तर उहाँहरुको केहि प्रतिक्रिया नदिएकोले हामीले अस्पतालबाट नजिक तथा जनचेतना फैलाउने हिसाबले चौतारी बस्तीमा आयोजना गर्ने निर्णय गर्यौंा। हामीसँग रक्तचाप नाप्ने यन्त्र भने थियो तर ग्लुकोमिटर थिएन। त्यसका लागि हामीले सिग्मा मेडिकल हलसँग सहायता माग्दा उहाँहरुले हामीलाई विश्वास गरेर दिनुभयो।
हामीले सामान्यतया रक्तचाप नाप्ने ज्ञान र सीप हासिल गरेका थियौं, तर हामीलाई रगतमा ग्लुकोज नाप्ने यन्त्र ग्लुकोमिटर सबन्धी सिपको अभाव थियो। त्यस विषयमा हामीलाई नर्सिङका शारदा दिदी र अम्बिका दिदीले मद्दत गर्नु भयो। त्यसपछि हामीले दुई तीन दिन निरन्तर कोशिस गरेका थियौं। सिक्ने क्रममा कतिचोटि साथीहरुको रगत आउँदैन थियो। यस्ता अनेकौं गल्तीबाट हामीले पूर्ण रुपले सिक्यौं। यो कार्यक्रम हामीले बिहान ८:३० बजेदेखि ११ बजेसम्म चौतारीबस्ती (महालक्ष्मीस्थान, ललितपुर)मा आयोजना गरेका थियौं।
म लगायत मेरा १५ जना साथीहरू पुरुषोत्तम तथा गिता भण्डारीको आँगनमा ५ वटा ठाँउमा विभाजित भएर बसेका थियौं। नामदर्ता गराउने ठाँउ, शरीरको वजन, शरीरको उचाई, रक्तचाप र शरीरमा ग्लुकोज नाप्ने ठाँउमा विभाजित भएका थियौं। खोला तरे पछि लौरो बिर्सनु हुदैन भनेझैँ यो कार्यक्रम सफल पार्न हामीलाई बिश्वास गर्ने स्पोन्सर (सिग्मा मेडिकल टेक्नोलोजी), लियो क्लब अफ फुलबारी हाम्रो आत्मबल बढाउन मद्दत गर्ने प्रिन्स दाइ, कार्यक्रममा सहभागी हुनुहुने चौतारीबस्तीका बासिन्दाहरु, हामीलाई कार्यक्रमका लागि स्थान दिने गिता भण्डारी, घरघरसम्म सूचना दिन सहयोग गर्ने अम्बिका सापकोटा र मेरी आमा (निर्मला घिमिरे दुलाल) प्रति हामी आभारी छौं।
कुनै कुरा आफुले सोचेको भन्दा राम्रो भयो भने त्यो पललाई फेरि जिउन मन लाग्छ भने झैँ हाम्रो यो कार्यक्रम पनि तेस्तो अविस्मरणीय पल हो। हामीले आफ्नो समाजलाई सेवा गरेको दिन साच्चै मिठो निद्रा लाग्दो रहेछ। हामीले कल्पना गरेको भन्दा धेरै सङ्ख्यामा मानिसहरुको उपस्थितिले हामीमा आत्मबल बढिरहेको थियो। उहाँहरु पनि हामी जतिकै उत्साहित हुनु हुनुभएको थियो। जो मानिसको उच्च रक्तचाप र रगतमा ग्लुकोजको मात्रा धेरै थियो उहाँहरुलाई अस्पताल जाने सल्लाह दियौं। यस कार्यक्रमले हामीलाई एकताको बल, समाजप्रति शुश्रुषाको भावनामा थप उर्जा, कार्यक्रम संचालन गर्ने क्षमताको विकास तथा नम्र र मिठो बोली बोल्ने शैलीको विकास गरेको छ।
-(लेखक पाटन क्याम्पस अफ हेल्थ साइन्समा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत छिन्।)