केही वर्षअघि एउटा स्वास्थ्यसँग सम्बन्धित ऐन पारित भयो। मिर्गाैला फेल भई कुनै पनि ढंगले मिर्गाैला नमिलेका मिर्गाैला पिडितका लागि आफ्नो जिन्दगी प्रतिपादक रूपमा जिउँने समय सकियो भन्ने साेचेका बिरामीका लागि यो ऐन पुनर्जिवन फेरि मिल्ने झिनोँ आशाको दियोको रूपमा आयो।
धेरैले ठुलै आशा गरिएको ऐन थियो 'पुर्णरूपले विशेषज्ञ डाक्टरबाट प्रमाणित गरी मस्तिष्क मृत्यु घोषित भएका बिरामीबाट मिर्गाैला लगायत अन्य अंग, परिवारका सदस्यकाे सहमतिमा वा बिरामी स्वंयमले मन्जुरीनामाको आधारमा गरिने अंगदान।'
मिर्गाैला पिडितका लागि यो निकै नै आशाको विषय थियो। ऐन निकै नै प्रंशसायोग्य हुँदाहुँदै पनि कार्यावन्यन पक्ष फितलो देखियो। हालसम्म एउटामात्र नमुनाका रूपमा मस्तिष्क मृत्यु भएकाबाट अंगदान भएर दुई मिर्गाैला फेल भएका बिरामीले पुनर्जिवन पाए। यसैपनि ऐन मात्र नेपालका सशक्त बनेका हुन्छन् तर कार्यान्वयन पक्ष फितलाे भन्ने आरोपबाट यस स्वास्थ्य सँग सम्बन्धित ऐन पनि अछुतो रहेन।
नेपालको सम्दर्भमा भन्नु पर्दा मस्तिष्क मृत्युको कारक तत्व सडक दुर्घटना रहेको पाइन्छ। यदि अस्पतालहरूबीच समन्वय भएको खण्डमा दैनिक रूपमा यस्ता बिरामी अस्पतालमा भेटिन सक्छन्। पटक पटक मस्तिष्क मृत्यु भएकाबाट अंगदान गर्न मिल्छ भनिएता पनि पछि सामाजिक, पारिवारिक, आर्थिक, धार्मिक, अस्पतालका सेवा सुविधा, जनशक्ति, जनचेत्तनाको कमि लगायत विविध कारणले गर्दा उक्त अंगदानहरू सम्भव हुँदैनन्।
यस्ता खालका ऐनको प्रभावकारिताका लागि हाम्राे स्वास्थ्य संरचना, व्यवस्थापन र जनशक्ति चुस्त बनाउँनु पर्दछ। एउटै च्यानलबाट मात्र जाने यस ऐन बनाउँदा परिकल्पना गरिएको व्यवस्था आफैँ पनि यस ऐन प्रभावकारिताको बाधक बनेको हो कि भन्ने पनि संका गर्ने ठाँउ छ। मानविय भावनासँग जोडिएको यो विषय त्यति सरल छैन, कसैको अंग लिने सानो कुरा हैन।
कतिपय अस्पताल जहाँ अंग प्रत्यारोपण सम्भव छ, तिनीहरू पनि उही एउटै च्यानलबाट जानुपर्ने बाध्यत्मक परिस्थितिको सामना गर्न तयार नरहेको व्यवहारमा देखियो। कि यस च्यानलको हाँगाबिँगा बिस्तार हुनु पर्यो या छुट्टा छुट्टै च्यानल तर सरकारी निगरानीमा नियम संगत ढंगले चलाउन सक्नु पर्यो नत्र ऐन जति नै उत्कृष्ट बनेपनि कुनै अर्थ रहँदैन। केबल अक्षरका रूपमा कागजी डंगुरको रूपमा थुप्रन्छन्।
उपत्यका बाहिर यो ऐनमा भनिएझैं अझैं लाभ उठाउन निकै मेहिनत गर्नु पर्ने देखिन्छ। नेपाल यस्तो देश हो जहाँ हरेकमा न्यूनतम स्रोतमा अत्याधिक प्रभावकारिता खोज्नुपर्ने वाध्यत्मक परिस्थिति रहेको छ।
माथि उल्लेखित विषय खासै नौलो होइन र सबैले बुझेकै कुरा हुन् तर आज यो पंक्तिकार सुझावका रूपमा केही विचारहरू प्रस्तुत गर्दैछु।
मस्तिष्क मृत्युबाट गर्न सकिने अंगदान यही स्रोत र साधनबाट अत्याधिक प्रभावकारि हुन समस्या छ। मुख्य समस्या भनेको पारिवारिक, सामाजिक र धार्मिक वाधा अड्चन नै हुन्। निश्चय पनि मस्तिष्क मृत्यु भएको कसैको पनि अंगदान लिनका लागि उसको परिवारलाई सम्झाई बुझाई गर्नु निकै अप्ठ्यारो स्थितिको सामना गर्नु हो।
फेरि मस्तिष्क मृत्यु हुने बिरामीले अल्पकालमा ज्यान गुमाएका हुन्छन्। यो अवस्थामा बिरामीका परिवार वा नजिकका सदस्यलाई संवेदनशिलतापुर्वक सम्झाई बुझाई गर्न नसकिए बिरामी-डाक्टरको सम्बन्धमा समस्या उत्पन्न हुन सक्छ।
बिरामी पक्षबाट फेरि पनि भावनाको शिकारमा दोषारोपण गर्न सक्छन् र यो ऐनको मर्मको तजोबध हुनसक्ने धेरै सम्भावना देखिन्छ।
केही समयअघि मस्तिष्क मृत्यु भएर अंगदान गर्न चाहने पिडित परिवारलाई केही आर्थिक सहयोग स्वरूप प्रदान गर्ने कि भन्ने कुरा पनि जति प्रभावकारी बन्ला जस्तो सोचिएता पनि कुनै समय खतरनाक परिणाम निम्ताउन सक्छ। विडम्वना भन्नु पर्छ हामी कहाँ नकारात्मक सोच, समाचार र उद्देश्य चाँडै चल्छन्, बिक्छन्।
आर्थिक सहयोग गर्ने भन्ने कुरा हाम्रो स्रोत-साधन हेरिकन अन्तिम उपायका रूपमा आउनु पर्ने तर विडम्वना यो सोच अगाडि आँउछ। एउटा परिवारलाई दिइने आर्थिक सहयोगको रकममात्र सदुपयोग गरी यदि हरेक अस्पतालमा आकर्षक नारा सहितका अंगदान सम्बन्धित जनचत्तेना जगाउने सन्देश हरेक अस्पतालमा टाँगिए कति प्रभावकारी हुने थियो।
अंगदान करकापमा हुन सक्दैन, अझै अल्पकालमै मस्तिष्क मृत्यु भई अस्पतालको बेडमा रहेका बिरामीका परिवारका सदस्यलाई सम्झाई बुझाई अंग लिनु फलामको चिउरा चपाए झैं हो।
दान भनेकै आफू राजी भएर दिनु हो। राजी भएर दिइने कुरामा आर्थिक विषय जोडिए कुरा पनि मोडिन सक्छ। हित सम्झी बुनेको माला गलपासो बन्न सक्ने सम्भावना नकार्न सकिन्न। सुरूवातमै आर्थिक कुराले झन् नकरात्मक असर पर्न सक्छ विशेषगरी डाक्टर-बिरामी र बिरामीका नजिकको सम्बन्धमा।
तसर्थ पहिले अंगदान लिनका लागि हरेक अस्पताल विशेषगरी अप्रेसन, भेन्टिलेटर साधनस्रोत र मानवस्रोतले पूर्ण रहेको अस्पतालका भित्तामा सुचनामुलक होर्डिङ बोर्ड झुन्ड्याउन आवश्यक देख्छ यो पंक्तिकार।
सम्भव भए सडकका छेउछाउमा हुने होर्डिङ बोर्डमा पनि यस सम्बन्धित आकर्षक नारासहित सुचना संप्रेशण गर्ने माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ। सबैलाई परिआएको खण्डमा तयार हुने मानसिकता विकास गर्न सके मात्र अंगदान सम्भव छ। अन्यथा उत्कृष्ट ऐन तर कार्यान्वयन फितलोको रूपमा सिमित रहनेछ।