पहिले पहिले मेरो मनमा त्रिवि शिक्षण अस्पतालमा हामी जस्ताले उपचार गराउने होइन, त्यहाँ गतिलो उपचार हुँदैन, त्यसको लागि निजी अस्पताल नै जानुपर्छ, त्यहाँ उपचार गराउन पनि भनसुन चल्छ र फटाफट उपचार पाउन पनि निजीमै जानुपर्छ भन्ने लाग्थ्यो।
२०७२ सालको भूकम्पपछि भुकम्प पिडितहरुको उद्दारमा दिन रात काम गरेबापत आफैँले ठूलै स्वास्थ्य समस्या भोग्नु परेपछि मलाई भयंकर धनि ठान्ने शुभचिन्तकको सहयोगमा म पनि एउटा नाम चलेको निजी अस्पतालमा गएँ। त्यसले अपर्झटको कालबाट मेरो ज्यान त बचायो तर मेरो ढुकुटी रित्तियो भने मेरो रोग ज्यूँका त्यूँ रह्यो। अनि बाध्य भएर म पनि शिक्षण अस्पताल पुगेँ। तबदेखि म मेरो रोगको जाँच पड्ताल गर्न शिक्षण अस्पतालमै जान्छु। यसको कारण छ, जुन तल वर्णन गर्न लागिएको मेरो एक दिनको कहानीले बताउँछ।
होलीको बिदामा काठमाडौं जाँदा फलोअप उपचारको लागि फेरि शिक्षण अस्पताल गएँ। टिकट काउन्टर ८ बजे खुल्ने भएपनि बिहानै नपुगे टिकट पाइन्न भन्ने सुनेकोले बिहान सातै बजे पुगेर टोकन लिएँ। टोकन लिएपछि कता जानु, काउन्टर अगाडि पाल टाँगेर राखिएको फलामे बेन्चहरुको एक छेउमा बसेँ। टिकट काउन्टरको माथि बोर्डमा टोकन नम्बर लेखिएको थियो।
टिकट काट्ने पालो आउन्जेलको लागि अमर न्यौपानेले नेपालगंजको सेरोफेरोमा रहेर लेखेको ‘पानीको घाम’ नामको किताब पढ्न लागेँ। मेरो छेउमा कडा खालको पावरवाला चश्मा लगाएकी १७/१८ वर्षकी लुरी लुरी नानी थिइन्, जो घरिघरि मेरो किताबतिर हेर्दै थिइन्।
‘किन यसरी हेरेको होला‘ भन्ने आशयमा मैले उनीतिर हेरेँ। उनी आत्तिएझैँ गरिन्, अनि अंकल 'यो उपन्यास हो?’ भनेर सोधिन्।
धादिङकी मगर परिवारकी १२ कक्षामा हस्पिट्यालिटी म्यानेजमेन्ट पढ्ने उनी गरिखाने उमेरमै मुटुको समस्या भोगेकी आमालाई लिएर आएकी नानी रहिछन्। नानी आफ्ना बाबा आमा र भाईसँग काठमाडौँको एउटा कुनोमा डेरा गरेर बस्ने रहिछन्।
उनका बाबा मालगाडी चलाउने काम गर्दा रहेछन्। ‘छोरी तिमी आमालाई लिएर अस्पताल जाउ', म माल लिन जान्छु’ भनेर श्रीमतीलाई छोरीको जिम्मा लगाएर वीरगंजतिर गएका रहेछन्।
ऊनी भाईलाई ‘भात पकाएर खाएर स्कुल जाउ अनि हामीलाई पनि राख्देउ है’ भनेर आमालाई लिएर अस्पताल आएकी रहिछन्।
मैले सोधैँ, ‘आमालाई अलि राम्रो प्राईभेट अस्पतालतिर लानुपर्ने, यहाँ त के ठीक होला र?’
‘एउटा ड्राईभरको कमाईले कसरी प्राईभेटमा लैजानु आमालाई? सबै मान्छेको उपचार भइरहेको अस्पतालमा मेरी आमाको पनि उपचार होला नि पक्कै।' नानीले अस्पतालमा जम्मा भएको भिडतिर हेर्दै भनिन्।
आठ बजे टिकट काउन्टर खुल्यो। मान्छेहरु काउन्टर अगाडिको लाइनमा एकाएक भिड गर्न थाले। अस्पतालको सुरक्षामा खटिने गर्ने एक जना पाका कर्मचारी कराउन थाले, 'किन भिड गरेको यसरी, टोकन लिएर उ त्यहाँ पो बस्ने हाे, यहाँ भिड गरेर चाँडो हुने हो र?’
यसरी कराउँदा बुढा हुन लागेका उनको घाँटीको नसा पुक्क परेर सुनिएको देखिन्थ्यो। मैले जान्दादेखि नै ती मान्छे यसरी नै लाइन मिलाउने गर्छन्। अब त बुढा भैसकेछन्। सपनामा पनि उनले 'ए किन भिड गरेको, उता जानुस, लाइन लाग्न पर्दैन, टोकन लिनुस्, पालो आएपछि आउनुस’ भनेर भन्दा हुन्।
त्यसपछी ती नानीले उपन्यासको विषयबस्तुको बारेमा सोधिन्। मैले उपन्यासको कथाको बारेमा सर्सर्ती बताएँ। र मैले लेखेका कथाहरुको बारेमा पनि छोटो बयान गरेँ। उनले मलाई पनि ठूलै साहित्यकार ठानिछन् क्यार, मेरो अटो मागिन्।
मैले उनले बोकेको उनकै नोट कपिको पछाडी ‘धेरै पढ्नु, ठूलो मान्छे हुनु, बाबा आमाको सेवा गर्नु, आमालाई चाँडै स्वस्थ बनाउनु’ भनेर लेखेँ अनि मेरो नाम लेखेर हस्ताक्षर गरेँ।
गफ गर्दागर्दै मेरो टिकट लिने पालो आयो। म गएँ र टोकन देखाएर नेफ्रो ओपिडी (मिर्गाैला सम्बन्धी) को टिकट लिएँ। टिकट पनि कति सस्तो, पुरानो कार्ड लिएर जाने बिरामीको पचास रुपैयाँ र नयाँ बिरामीको सय रुपैयाँ। बाहिर निजी अस्पतालमा भए चार/पाँच सय भन्दा कममा के पाउनु!
टिकट लिएर फर्किंदा ती नानी गइसकेकी थिइन्। मेरो आँखाको पनि जाँच गर्नुपर्ने भएकोले शिक्षण अस्पताल भित्रकै बिपि कोइराला आँखा केन्द्रमा गएँ। फेरि त्यहाँको टोकन लिएँ। त्यहाँ पनि लाइन लाग्नु परेन। खुशी लाग्यो। टिकटको प्रतिक्षा गर्दै एउटा छेउमा बसेँ। त्यहाँ चाहिँ बाहिरपट्टी प्रतिक्षा गर्ने बेन्चहरु रहेनछन्।
मनमनै सोचें त्यहाँ पनि बाहिर बेन्चहरु राखेको भए हुने नि। त्यहाँ छोरा छोरी वा नाती नातिनीले डोर्याएर ल्याएका बृद्दबृद्दा, आमाहरुले डोर्याउँदै ल्याएका कडा चश्मा लगाएका साना नानी, धनि जस्ता लाग्ने मान्छेहरु पनि उपचारको लागि त्यहाँ आए।
ती पक्कै यहाँको उपचारमा विश्वास भएरै आएका थिए। खुशी लाग्यो, जनताको भरोसा भएको संस्थामा उपचारको लागि आउन पाएकोमा।
त्यहाँ टिकट लिएर फेरि नेफ्रो वार्डमा गएँ। त्यहाँ गएर झ्यालनेर बस्ने दिदीलाई मेरो टिकेट दिएँ। उनले मलाई ६७ नम्बर लेखिएको कागजको एउटा सानो चिर्कटो दिइन् र ‘पालो आउन्जेल बस्दै गर्नुस्’ भनिन्। अनि चिनेझैं गरि बोलिन्।
‘तपाईँ त पुरानो बिरामी पो हो त।‘
हो म त्यहाँको पुरानो बिरामी हो। त्यसैले त्यहाँ पालोको प्रतिक्षा गर्दा बस्न बनाइएका बेन्चहरु समेत चिन्छु। त्यहाँ अलि पछाडी तिर बसेपछी घुप्लुक्क घोप्टिने एउटा उहि जमानाको बेन्च अझै रहेछ। मर्मत गरेको रहेनछ। मैले चिनिहालेँ।
वरिपरि रहेका बिरामीहरुसँग गफ गर्न थालेँ। एक जना नेपाल प्रहरीमा बैतडीतिर कार्यरत जवान रहेछन् र तिनले भर्खरकै उमेरमा मिर्गाैला बिगारेछन्। सायद घाम पानी नभनी पानी पनि प्रशस्त नपिएर ड्युटी गरेकोले होला।
अनि घर बाहिर हुँदा विभिन्न बहानामा अलिअलि चुस्स पनि लाउँथे होला कि कुन्नि।
‘पुलिसको जागिर, न समयमा खानु छ, न सुत्नु छ, त्यहि भएर किड्नी गएछ, कठै बरा।‘ हाम्रो गफ सुनिरहेकी बुढी आमाले भनिन्।
मेरो अर्को छेउमा एउटा ३०-३२ को भाई रहेछन्, रामेछाप तिरको। गाडीमा सहचालक काम गर्थेरे। किड्नीको बिमारी भएपछी उसकी दुलहीले पनि छोडेर भागिछन्, साहुले पनि कामबाट निकालेछन्।
'यो त पहिला हट्टाकट्टा थ्यो’ नि, क्यार्नु स्वास्नीको कचकचले गर्दा भातैको साटो रौसी खान थालेछ। यसको किड्नी बिगारेर जानी तेस्लाई त नि..?’ उसलाई उपचार गराउन ल्याएकी आमाले नालिबेली लगाइन् र छोरालाई छोडेर जाने बुहारीलाई सम्झेर दाह्रा किट्दै सरापिन्।
मेरो भित्र छिर्ने पालो आयो। चार कुनाका टेबलका दुईतिर एक एक वटा कुर्चिमा बसेका डाक्टरहरु बिरामी जाँचिरहेका थिए।
हाम्रो दिमागमा सामान्यतया डाक्टर भन्दा बितिक्कै ठूलो भुँडी भएको, कपाल फुल्न आँटेको खाइलाग्दो मान्छेको चित्र आउँछ। तर यहाँ त सबै जस्तो एमडि गर्दै गरेका भर्खरका युवा रेसिडेन्ट डाक्टरहरु थिए।
करिब १५-२० जना बिरामीहरु पालो कुर्दै थिए। मैले पनि पालो कुर्नैपर्यो। त्यहाँ सउदी अरबमा काम गर्न जाँदा मिर्गाैला बिग्रेर आएका तनहुँ तिरका एक युवा र उमेरमै मिर्गाैला बिग्रेकी सोलु तिरकी युवती पनि भेटिए। अनि त्यहिँ पालो पर्खिनेमा क्षेत्रपाटी तिरका साहु पनि रहेछन्। तिनको चाहिँ जिउ पनि एकदम भारी रहेछ।
‘सुगर निस्कियो, अनि सुगर बढेर किड्नी नै हान्यो नि,' तिनले आफ्नो बेलि विस्तार लगाए।
सँगै छेउमा धोती लगाएका र गम्छा ओढेका तराई तिरका एकजना मधेसका दाजु पनि थिए। उनी डाक्टरको कुरा नबुझेर ट्वाँ पर्दै थिए। उनलाई लिएर आउने छोरा हो जस्तो लाग्ने केटाले डाक्टरले भनेको कुरा मैथिलीमा उल्था गरिरहेको थियो।
अब मेरो पालो आयो। मेरो हातमा मालपोत कार्यालायको ढड्डा जस्तो कागजपत्रको मुठो थियो। मेरो सबै कागज हेरेपछी डाक्टर साबले सबै कुरा बुझे जस्तो लाग्यो, किनभने मेरो सबै कथा त्यहीँ थियो।
बरु उनले हकारे, ‘नेफ्रोको बिरामी भएर २ वर्षसम्म नआउनी, के भाको तपाईँ? हेर्दा त पढेलेखे जस्तो लाग्छ।'
‘हो नि हजुर, नेपालमा पढेलेखेकै मान्छे त बेकुफ छन्,' भन्न मन थियो। तर ‘लकडाउनले गर्दा डाक्टर साब, म यहाँ होइन नेपालगंज बस्छु, लकडाउनमा काठमाडौँ आएँ, तर त्यतिबेला बाटोघाटो, गाडी सबै बन्द, जब खुल्यो फेरि उतै लागिहालियो। त्यहि भएर समयनै मिलेन डाक्टर साब' भन्न आएछ।
‘लकडाउन भए पनि हामी सेवामै थिएम्, आफ्नो स्वास्थ्यमा पनि यस्तो लापरबाही गर्ने!’ भनेर डाक्टर साबले औषधिका नामहरु र प्रयोगशालामा परीक्षण गराउन पर्ने कुराहरुको सूची लेखिदिए। अनि एक महिनामा फ्लोअपमा आउन भने।
‘म त टाढा छु, कम्तिमा तीन महिना आउन गाह्रो हुन्छ’ भने मैले। ‘उसो भए यो यो कुरा परीक्षण गरेर रिपोर्ट मलाई भाइबरमा पठाइदिनुस्’ डाक्टरले भने।
मलाई खुशी लाग्यो, उनको म प्रतिको जिम्मेवारीपूर्ण चिन्ता र मेरो स्वास्थ्यको लागि व्यक्तिगत भाइबरको समेत प्रयोग गरेको देखेर। राम्राे सूचना प्रविधीको प्रयोग थियो त्यो।
ती डाक्टरहरु भिडमा कहिलेकाहिँ अलि कडा बोल्छन, र बिरामीलाई हकार्छन् पनि। तर उनीहरुले सबै बिरामीलाई राम्ररी हेर्न सकियोस्, सबैले अफ्नो लागि दिएको सल्लाह मानुन् र चाँडो निको होउन् भन्ने पवित्र उद्देश्य लुकेको हुन्छ।
मान्छे बुढा बुढा डाक्टर खोज्दै कहाँकहाँ धाउँछन्। तर मलाई भने रेसिडेन्ट डाक्टरहरु मनपर्छ किनभने उनीहरुको उद्देश्य हाम्रो उपचारका साथसाथै सिक्नु पनि हुन्छ।
ती रेसिडेन्ट डाक्टरहरु हचुवाको भरमा निर्णय गर्दैनन्, तत्काल दिमागमा आएन भने बरु गुगल गर्छन्, किताब हेर्छन्, आफ्ना अग्रजलाई सोध्छन् र ढुक्क भएर मात्र उपचारको सल्लाह दिन्छन्। त्यसैले पुराना बुढाहरुले जस्तो पहिल्यै ‘बुझै बुझेँ‘ भनेर बिरामीलाई बोल्नै नदिएर लेख्ने गर्दैनन्।
म भए यस्तो भिडमा काम गर्नै सक्दैनथेँ। म डाक्टर हुन्थेँ भने यस्तो भिडभाडको बीचमा तनाबै तनाबमा हुन्थेँ होला अनि परीक्षण पनि उल्टो पाल्टो गर्थेँ होला। औषधि पनि उल्टोपाल्टो लेख्थेँ होला। ती डाक्टरहरुले चाहिँ पानी पनि गतिलोसँग प्यास मेटिने गरेर पिउन पाएका हुन्नन् होला।
आखिर डाक्टर पनि मान्छे नै हुन्, तिनको पनि शरीरै हो। तिनलाई पनि अत्यास लाग्दो हो, प्यास लाग्दो हो, दिक्क लाग्दो हो। तर मेचीदेखि महाकालीसम्मबाट फुटेका खुट्टामा फाटेका चप्पल लगाएर पटुकामा मैला नोटहरु खाँदेर आएका नेपालीको उपचार गर्नु छ, तिनलाई स्वस्थ बनाएर फेरि गरि खान सक्ने बनाउनु छ। त्यसैले आफ्नो मनको अत्यास र दिग्दारिलाई लुकाएरै तिनले आफ्नो ड्युटी गर्छन्।
ती डाक्टरहरु देखेर मलाई धेरै माया लागेर आयो। यी जोशिला युवा रेसिडेन्ट डाक्टरहरु पसिनै पसिना गन्हाउने ग्रामीण बिरामीहरुको शरीरमा स्टेथेस्कोप लगाएर सिकेको सिप प्रयोग गर्दै विशेषज्ञ बनेर नेपालका गाउँ गाउँमा फिँजिएपछि नेपालको स्वास्थ्य सेवा भरपर्दो, गुणस्तरिय र सर्वसुलभ होला भनेर मैले कल्पना गरेँ।
मैले उनीहरुको आँखामा भोलिको स्वस्थ नेपाल देखेँ। अनि त्यहाँका सबै डाक्टरहरुलाई उच्च सम्मान गर्न मन लाग्यो, मनैदेखि आशिर्वाद दिन मन लाग्यो।
मलाई जाँचको लागि लेखेको कागज बोकेर हतार हतार शुल्क तिर्ने ठाउँमा गएँ। र सरासर झ्यालतिर गएर डाक्टरले दिएको कागज झ्याल भित्र हालेँ। काउन्टरमा भएका विभिन्न कर्मचारीमध्ये म पुगेको झ्यालभित्र रहेकी एक जना महिला कर्मचारीले ‘आफ्नो पालोमा आउनुस्, किन अरुको पालो मिच्नु हुन्छ’ भनेर हकारिन्।
अरुलाई भए रिस उठ्थ्यो कि, मलाई रिस उठेन। किनभने अरुको पालो मिच्न हुन्न भन्ने सभ्यता ममा छ। त्यसैले झ्यालको छेउमा बसेर पैसा तिर्ने मान्छेहरुको अनुहार र काउन्टरका कर्मचारीहरुको काम हेर्न लागेँ।
पैसा तिर्ने लाइनमा नेपालका हरेक खालका मान्छेहरु उभिएका थिए। युवा अवस्थामै रोगी भएका महिला पुरुषहरु, स्याँ स्याँ गर्दै लाइनमा उभिएका बृद्दबृद्दाहरु, हातमा पिसाबको थैली झुन्ड्याएका वयस्करु त्यहाँ थिए। उनीहरुलाई देख्दा समग्र नेपाल देखे जस्तो लाग्थ्यो।
काउन्टरमा हुने कर्मचारीहरु सकेसम्म चाँडो गर्न प्रयास गर्दै थिए। भिडले आवाज केहि सुनिन्न थियो। गर्मि तेस्तै थियो। बिरामीहरु अनेक समस्या र उल्झन ल्याएर दिक्क पार्थे।
मेरो सामुन्नेको काउन्टरमा हुने महिला कर्मचारीतिर हेरेँ, तिनको अनुहार पसिना पसिना भएको थियो भने छाती छिटो छिटो धड्केकाे थियो। तिनी घरिघरि अफ्नो निधारको पसिना पुछ्दै बिरामीहरुका अनेक थरिका समस्या र गुनासा सुन्दै काम गरि रहेकी थिइन्।
सोचेँ, ‘यिनका पनि घर परिवार होलान्, बाल बच्चा होलान्, बिहानै कुकरमा भात बसालेर केटा केटीलाई ‘खाना पकाउ अनि खाएर स्कुल जाऊ, म उतै खाम्ला‘ भनेर साना केटा केटीलाई हतार हतार ड्रेस लगाइदिँदै आफू चाहिँ भोकै आएकी होलिन्।
म भए यो भिडको दबाबमा काम गर्न नसकेर जागिरबाट राजिनामा गरेर भागिसक्थेँ होला। तर ती महिला हात चलाउँदै गर्दा पनि घरिघरि मुसुक्क हाँस्न खोज्थिन र अर्को टेबलमा भएकी सहकर्मिसँग ‘हेर, अबको बिदामा त केटाकेटी लिएर मज्जाले घुम्न जाने हो।‘ भन्दै थिईन्।
मलाई तिनको कामप्रतिको लगाब देखेर एकदम मायाँ लाग्यो। अनि म ज्ञानी बनेर पालो पर्खिँदै बसेँ।
मेरो पालो आएपछि रगत जाँचको पैसा १२ सय रुपैयाँ तिरेँ। मलाई एकदम सस्तो लाग्यो। किनभने मलाई याद छ, आज भन्दा सात वर्ष पहिले निजी अस्पतालमा यती नै परीक्षण गरेको झन्डै बत्तीस सय तिरेको थियेँ मैले।
‘एकछिन लाइन बस्नुपर्यो भनेर के भो र, त्यो बचेको दुई हजारले त गाउँबाट बिरामी र उसलाई लिएर आउने सहयोगीलाई काठमाडौँ जस्तो महंगो ठाउँमा एक रात बस्न र खान पो पुग्छ त।‘ मैले हिसाब निकालेँ।
मैले रगत दिएँ र अस्पतालको क्यान्टिनमा खाना खान गएँ। क्यान्टिन सफा छ। त्यहाँ भिड छ, तर त्यहाँ कामदारहरु नरिसाइकन बडो धैर्यका साथ ग्राहकहरुको सेवा गरिरहेका छन्।
मैले खानेकुराहरुको मूल्य सोधेँ। ‘भेज ममको साठी रुपैयाँ, सादा खानाको ९० रुपैयाँ।' त्यहाँका सबै कुरा साह्रै सस्तो लाग्यो।
अन्य ठाउँमा त ९० रुपैयाँमा एक कप गतिलो कफी पनि पाइन्न अचेल। तर यहाँ त पेट भरि दाल भात तरकारी खान पाइँदो रहेछ। अस्पताल व्यवस्थापनलाई धन्यवाद दिन मन लाग्यो।
शौचालय छिरेँ, मैले पहिला देखेको भन्दा धेरै सफा थियो। खाना खाएपछी आँखा जाँच्न गएँ। ढिलो आएको भनेर हकारे त्यहाँका कर्मचारीले। तर हिँड्नै लाग्दा पनि फर्केर मलाई हेर्न थाले। मेरो आँखामा दुईपटक लेजर गरेको उहिल्यै। त्यहाँका डाक्टर पनि रेसिडेन्ट नै रहेछन् क्यार। मेरो आँखा च्यातेर भित्र हेरिसकेपछि अजिबको कुरा देखेछन् कि केहो, आफूलाई पढाउने गुरुआमालाई बोलाए। गुरुआमालाई पनि अचम्म लागेछ, अरु विद्यार्थीलाई पनि बोलाईन्। सबैले पालैपालो मेरो आँखा च्यातेर हेरे।
त्यसैत मेरो आँखा झिमझिम गर्ने, त्यसरी च्यात्दा औडाहा भयो। तर म नरिसाइकन सम्हालिएँ। मेरो मनमा आयो, ‘आज मेरो आँखा एकैछिन च्यातेर हेर्दा मलाई केहि पनि खराब हुन्न। तर यी डाक्टरहरु मै जस्ता बिरामीको बिमार देखेर यसलाई अध्ययन गरेर यो रोगको बारेमा गहिरो ज्ञान हाँसिल गरेर राम्रो विज्ञ बने भने त फाईदा मै जस्ता जनतालाई हुने हो।‘
त्यसैले ‘तपाईलाई दुख्यो कि’ भन्ने एकजना छात्रा डाक्टरको भनाईको जबाफमा मैले भने, ’डाक्टर’साब, मेरो आँखा मज्जाले हेर्नुस, मलाई केहि समस्या छैन। डोन्ट वरी डाक्टर’साब।'
त्यसपछी तुरुन्तै चर्म रोग विभागतिर गएँ। त्यहाँ दिउँसो खालि समयमा आएर टिकट लिइसकेको थिएँ। त्यहाँ पनि बन्द गरेर हिँड्ने बेला भैसकेको थियो। तर मलाई देखेपछी एकजना डाक्टर फर्केर आए र मेरो समस्या हेरे।
बेलुका फर्किने बेला त्यहाँको सेवाप्रती म सन्तुष्ट थिएँ। मलाई गर्व लागिरहेको थियो। ‘अहा, मेरो देशमा पनि यस्तो उपचार केन्द्र छ‘ भनेर।
यहाँ पढ्ने र काम गर्ने डाक्टरको कर्म देखेर ‘भगवानहरु सेतो कोट लगाएर अस्पातालमा बसेका हुन्छन्’ भन्ने उक्ती सहि हो जस्तो लाग्यो।
यस्तै शिक्षण अस्पतालहरु नेपालका सातै प्रदेशमा भइदिए नेपालीहरुले आफ्नै ठाउँमा सहुलियत दरमै गुणस्तरिय स्वास्थ्य सेवा पाउँथे होला भन्ने लाग्यो।
अन्त्यमा भन्न मन लागेको कुरा,
नेपाल भन्दा बित्तिकै नातावाद, कृपावाद, भ्रष्टाचार, कमिसनखोर, ढिलासुस्ती आदी नराम्रा कुराहरुको पनि याद आउँछ र सेवाग्राहीहरुमा सेवा प्रदायकहरु प्रतिको विश्वास डगमगाउँछ।
त्यसैले देशभरका के धनी के गरिब, के पहाडी, के मधेसी, के हिन्दु, के मुश्लिम, के बाैद्ध, के क्रिश्चियन हरेक जनताको रोगविरुद्द लडाईँ गरेर उनीहरुलाई बाँच्ने आशा दिने यो अस्पतालमा यस्ता नराम्रा कुराहरुको छायाँ पनि नपरोस्, छ भने पनि अब नहोस्।
त्यस्तै यहाँको व्यवस्थापन अझैं चुस्त दुरुस्त र अझैं निष्पक्ष अनि पारदर्शी भए सुनमा सुगन्ध हुने थियो। तब यो अस्पतालप्रती मैले जस्तै सबै नेपालीहरुले गर्व गर्ने दिन आउँने थियो।
(लेखक नेपालगञ्ज, बाँके निवासी हुन्।)