काठमाडौं- भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली शुक्रबार भारत भ्रमणमा जाँदैछन्। प्रधानमन्त्रीसँगै भारत जाने टोलीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा रोशन पोखरेल पनि छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ। सो अवसरमा आपसी सहयोग र समझदारीका विषयमा छलफल हुने बताइएको छ। सो क्रममा स्वास्थ्य क्षेत्रका विषयमा पनि सहयोग र समझदारी हुने बताइएको छ।
भ्रमणका क्रममा स्वास्थ्य क्षेत्रका तीन विषयमा पनि समझदारी र सहयोगमा हस्ताक्षर हुने बुझिएको छ। भारतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २ सय डायलाइसिस मेसिन दिने बताइएको छ।
यसैगरी, जिपी कोइराला श्वासप्रस्वास अस्पताललाई प्रतिष्ठानका रुपमा अगाडि बढाउने र यसका लागि भारतले सहयोग गर्ने विषयमा पनि सहमति हुने बताइएको छ।
यसका साथै चिकित्सा शिक्षा तर्फ डाक्टरहरुको विशेषज्ञ तह एमडी/एमएसका विद्यार्थीलाई दुवै देशले दुईतिरकै मान्यता दिने समझदारीमा हस्ताक्षर हुने पनि एजेन्डा रहेको बताइएको छ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र केही सचिवहरु समेत रहेका छन्।
देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ। नेपाली टोली सोही एयरलाइन्सबाट चैत २० गते साँझ ६ः१०मा स्वदेश फिर्ता हुने कार्यक्रम छ।