काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन चलिरहेको छ। आइतबारबाट सुरु भएको सम्मेलन मंगलबार सकिँदै छ।
सम्मेलनमा परिषद्का संस्थापकमध्येका एक वरिष्ठ चिकित्सक डा मृगेन्द्रराज पाण्डे पनि सहभागि थिए। उनले कार्यक्रममा स्वास्थ्य अनुसन्धान परिषद् कसरी स्थापना भएको थियो भन्ने विषयमा जानकारी दिएका छन्।
परिषद्को पहिलो कार्यकारी अध्यक्ष समेत रहेका डा पाण्डेले परिषद स्थापनाका लागि सचिव बन्ने अवसर समेत छाडेका थिए। उनी परिषद्का मानार्थ अध्यक्ष समेत हुन्।
कार्यक्रममा डा पाण्डेले परिषद् स्थापनाका विषयमा दिएको जानकारी उनकै शब्दमा:
म अहिले ९० वर्ष प्लस भएको छु। स्वास्थ्य ठीकै छ। काउन्सिलमै काम गर्दा कसरी स्वस्थ रहने भनेर सिकेँ। सिक्न त धेरैले सिक्छन् तर फलो गर्दैनन्, मैले फलो गरेँ। काउन्सिलले गर्दा आयु बढिरहेको छ।
अब यो रिस्रच काउन्सल भन्ने कसरी आयो? नेपालमा पहिला स्वास्थ्य अनुसन्धान परिषद बन्नु भन्दा पहिला रिसर्च किमिटी मात्र थियो। त्यो कमिटीले स्वास्थ्य सचिवको नेतृत्वमा काम गर्नुपर्थ्यो। यो ३५ वर्षअघिको कुरा हो। त्यतिबेला हामीलाई रिसर्च कमिटी मात्र भएर हुँदैन यसलाई परिषद् नै बनाउनु पर्छ भन्ने लाग्यो। स्वात्तता पनि पाइन्छ अनि राम्रोसँग काम गर्न पनि पाइन्छ भन्ने भएर परिषद् बनाउने आइडिया आएको हो।
त्यसपछि म र केही साथीहरुले परिषद् बनाउने कुरा गर्यौं। हामी त्यसका लागि छलफल र थप अध्ययनमा पनि लाग्यौं।
तर, त्यतिबेला मलाई स्वास्थ्य सचिव बनाउने कुरा आएको थियो। सचिव त निकै महत्वपूर्ण पद हो। सचिव जस्तो पद छाड्नु हुँदैन भन्ने पनि थिए। अब मलाई फसाद पर्यो। एकातिर म स्वास्थ्य अनुसन्धान परिषद् बनाउनुपर्छ भनेर हिँडिरहेको छु अर्को तर्फ मलाई स्वास्थ्य सचिव बनाउने कुरा आयो।
म निकै फसादमा परेँ।
एक दिन म प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निवासमा गए। उहाँ जेल परेको समयमा मैले उहाँलाई जेलमा धेरै औषधि गरिदिएको थिँए। उहाँ त असाध्ये असल। म बिहानै निवासमा पुगेपछि उहाँले सोध्नुभयो–डाक्टर साब, तपाईं कहिल्यै नआउने मानिस किन आउनु भएको? मलाई अहिले त ठीक छ नि।’
अनि मैले 'रिसर्च काउन्सिलमा काम गर्न मन छ, खडा गर्न मन छ। तर मलाई स्वास्थ्य सचिव बनाउने कुरा छ। त्यसलाई क्यान्सिल गराइदिनुस्' भनेँ। 'प्लीज त्यति मान्नुस्' भनेँ।
उहाँले सचिव बन्न आउने कति छन्, तपाईं क्यान्सिल गर्नुस् भन्दै हुनुहुन्छ भन्नुभयो।
मैले म सचिवमा फिट छैन भनेपछि उहाँले हुन्छ भन्नु भयो। मैले सचिव नबन्ने निर्णय गरेपछि अनुसन्धान परिष्द बन्यो। सुरुमा त्यसमा १० जना थियौं। त्यसलाई सरकारले पनि सहयोग गर्यौं। भवन पनि त्यतिबेलै बन्यो। त्यसपछि दिग्गजहरु आउनुभयो।
अहिले काउन्सिल जुन स्थानमा पुगेको छ, सो नाइस। फ्युचर इज सो नाइस।