मिर्गौला काम नगर्ने भएर अन्तिम अवस्थामा पुगेपछि मान्छेसँग दुइवटा बिकल्प हुन्छन्। पहिलो, नियमित रुपमा डायलाइसिस गर्ने या दोस्रोमा मिर्गौला प्रत्यारोपण गर्ने। डायलाइसिस मार्फत शरीरमा रहेको रगतलाई (बाहिरी) उपकरणको सहायताले शुद्धिकरण गरिन्छ भने प्रत्यारोपणमा कसैले दान गरेको मृगौलालाई बिरामीको शरीरभित्र हालिन्छ र उक्त मिर्गौलाले बिग्रेको मृगौलाको अभावलाई परिपुर्ति गरिदिन्छ।
नेपालमा पनि मृगौला रोगीहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ। मानव अंग प्रत्यारोपण केन्द्रका अनुसार नेपालमा वर्षेनी लगभग तिन हजार जना मिर्गौला फेल भएका बिरामी थपिन्छन्।
प्रत्यारोपण भन्दा नियमित डायलाइसिस गर्ने बिरामीको संख्या बढ्दो क्रममा रहेकाले निकट भविष्यमै डायलाइसिसका पूर्वाधारले बिरामीको चाप थेग्न नसक्ने देखिन्छ। अझ सरकारले सन् २०१६ मा डायलाइसिस सुविधालाई निःशुल्क बनाएपछि त कतिपय बिरामीहरू जीन्दगीभर नै डायलाइसिस गर्ने र प्रत्यारोपणतिर ध्यान नदिने गरेको चिकित्सकहरु बताउछन्।
प्रत्यारोपण नहुँदासम्म बिरामीलाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले सरकारले निःशुल्क डायलाइसिसको अवधारणा ल्याएको भएता पनि त्यसको दुरुपयोग पनि हुने गरेको उनीहरूको भनाई छ। यसले गर्दा एकातर्फ राज्यलाई आर्थिक भार परेको छ भने अर्कातर्फ डायलाइसिसको झन्झटले बिरामीको सिर्जनशील समय खेर गइरहेको हुन्छ।
त्यसैगरी नेपालमा प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं मानवीय जनशक्तिको अभावले र अंग दाताहरुको कमिले गर्दा बिरामीहरू महिनौ कुरेर बस्नुपर्ने बाध्यता छ।
अंगदाताको संख्या र प्रत्यारोपणका गर्नेहरुबीच रहेको फराकिलो खाडललाई केही हदसम्म परिपुर्ति गर्नका लागि उपयुक्त विकल्प हुन सक्छ, ‘क्याडाभेरीक किड्नि डोनेसन’ अर्थात ब्रेन डेथ (मस्तिष्क मृत्यु ) भएका शवहरुबाट मिर्गौला दान गरिने प्रक्रिया।
‘क्याडाभेरीक अर्ग्यान डोनेसन’ लार्इ प्रत्यारोपण ऐन २०७२ ले कानुनी मान्यता दिएको छ। नेपालमा हुने कुल ब्रेन डेथमध्ये केही प्रतिशतको मात्र अंगदान गराउन सकियो भने मृत्युको मुखमा पुगेका धेरै बिरामीहरूको ज्यान जोगाउन सकिन्छ। एकजना ब्रेन डेथ भएको दाताबाट मिर्गौला मात्र नभई फोक्सो, कलेजो, मुटु, प्यांक्रियाज र अन्य विविध अंगहरु दान गर्न सकिन्छ।
कानुनी मान्यता पाएको छ वर्ष भईसक्दा पनि नेपालमा जम्मा सात जनामा मात्र मस्तिष्क मृत्यु भएका दाताबाट अंग प्रत्यारोपण गरिएको छ। हालसम्म तिन जनाबाट प्राप्त मिर्गौला छ जनामा र कलेजो एक जनामा प्रत्यारोपण गरिएको हो।
यसका थुप्रै कारणहरू मध्ये आम जनमानसमा यो प्रक्रियाको ज्ञान नहुनु, दान गरिएपछि अंग पारदर्शी ढंगबाट आवश्यक बिरामीमा नै पुग्छन् भन्ने विश्वास बिरामीका आफन्तलाई दिलाउन नसक्नु, प्रक्रियागत एवं धार्मिक जटिलता र चिकित्सक पनि अनावश्यक लफडामा परिन्छ भन्ने डरले सो प्रक्रियामा अग्रसर हुन हिच्किचाउनु रहेका छन्।
तसर्थ, क्याडाभेरीक अर्ग्यान विशेषगरी मृगौला डोनेसनको उत्थानमा सरकार, सम्बन्धित निकाय र चिकित्सक जागरूक भएर लाग्न सकेमा धेरै हदसम्म अंग अभावको समस्यालाई हल गर्न सकिन्छ। मरेर जानेले केही नयाँ जीवनहरु समाजलाई दिएर जान सक्छ। यसबारेमा सबैले बेलैमा सोच्ने कि
(लेखकद्वय एमबीबीएस तेस्रो वर्षका विद्यार्थी हुन्।)