विश्व स्वास्थ्य संगठन र भारत सरकारको संयुक्त प्रयासमा केही हप्ताअघि गुजरातमा भएको परम्परागत ज्ञान र जडिबुटीजन्य औषधिहरुको अध्ययनको लागि विश्व स्तरको अनुसन्धान केन्द्रको स्थापना गरिएको छ। उक्त केन्द्रले सबैलाई संलग्न गराउँदै परम्परागत चिकित्सा सम्बन्धी ज्ञान संकलन र त्यसको प्रभावकारिताको वैज्ञानिक आधारमा अध्ययन गर्दछ। आधुनिक प्रविधिको प्रयोग गर्दै उपचारमा प्रयोग भइरहेका परम्परागत सिप र ज्ञानलाई एक पुस्ताबाट अर्को पुस्तासम्म लैजान यसले महत्वपुर्ण भुमिका खेल्नेछ।
परापुर्वकालदेखि हामीले अपनाउँदै आएका औषधि उपचार विधिहरुको वैज्ञानिक अध्ययन त्यसमा प्रयोग हुने जडिबुटीहरुको प्रभावकारीता विषाक्तता, ओषधि विकास र शैक्षिक कार्यक्रमहरुमा समेत साझेदारी गर्ने अवसर मिल्ने छ। फलस्वरुप जडिबुटीजन्य उत्पादनलाई विश्व बजारमा लैजान र परम्परागत उपचार विधिलाई अर्थतन्त्रमा समेत जोड्न सकिने छ।
नेपालले पनि आयुर्वेदिक उपचार लगाएत परम्परागत उपचार प्रणालीलाई प्राथामिकतामा राख्दै सुरक्षित र स्तरीय स्वास्थ्य प्रणालीको विकास गर्न वैज्ञानिक आधार तयार पार्दै रैथाने ज्ञानलाई विश्वव्यापी सेवामा लैजानको लागि उक्त केन्द्रसँग अनुसन्धानात्मक सहकार्य गर्न सक्नेछ। नेपालका ग्रामीण क्षेत्रमा जडिबुटीको व्यापारीक संकलन र परम्परागत उपयोगले समुदायको आर्थीक अवस्था र उपचारमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ। कुना कन्दरामा पाईने यस्ता ऐतिहासीक ज्ञानहरुलाई समुचित पहिचान,संरक्षण र उपयोग गर्ने विधिको विकास गरी दिर्घकालिन लाभको सुनिश्चितता गर्नुपर्छ भन्ने विषयलाई उक्त अनुसन्धान केन्द्रको स्थापनाले समेत पुष्टि गर्दछ।
परम्परागत चिकित्सा प्रणालीको औषधिय सुत्र र विधिलाइ त्यसको गुणका बारेमा विश्वविद्यालयहरुमै पनि अध्ययन भइरहेका छन्। राष्ट्रिय स्तरमै अन्तर पेशागत सहकार्यमार्फत वनस्पती विज्ञ, आयुर्वेद विज्ञ र अन्य क्षेत्रका प्राविधिकहरुको टोली बनाई अनुसन्धानलाई अझै माथि उठाउनुपर्ने छ। यसो गर्न सकेमा मात्र हाल भारतबाट आयात भइरहेको वार्षिक झण्डै २ अर्व बराबरको जडिबुटीजन्य औषधिको परीमाण केही हदसम्म घटाउन सकिन्छ।
जडिबुटीको क्षेत्रमा विश्व स्वास्थ्य संगठनले धेरै काम गरिसकेको भएता पनि परम्परागत र शास्त्रिय औषधिको अध्ययनको लागि स्थापना गरिएको यो केन्द्रले यस भुभागबाट उद्गम भएका उपचार प्रणालीलाई एकीकृत गर्ने, पञ्जीकरण गर्ने र मानव स्वास्थ्यका लागि विश्वभर लैजानका लागि एउटा ठुलो आयामका रुपमा कार्य गर्नेछ।
आज पनि औषधि उपचारमा प्रयोग भइरहेका औषधिय रसायनमध्ये करिब ४० प्रतिशत रसायन प्राकृतिक पदार्थबाट प्राप्त भइरहेका छन्। नेपालको जैविक विविधता, जडिबुटीको सम्भाव्यता र महत्व झन बढ्दै गएको देखिन्छ। परम्परागत औषधिलाई ज्ञानको आधार मान्दै प्रयोगशालाहरुमा गरिने अनुसन्धानमा छिटो सफलता प्राप्त हुने भएकोले नेपालको परम्परागत उपचार प्रणाली र श्रोतहरुलाई प्राथामिकतामा राख्न जरुरी छ। यस कार्यका लागि उपयुक्त प्रविधि अपनाउदै उच्च गुणस्तरको औषधि स्वदेशमै उत्पादन गरी निर्यात गर्नका लागि उक्त अन्राष्ट्रिय केन्द्रसँगको सहकार्य हाम्रो लागि उपयोगी हुनसक्छ।
जडिबुटी नीतिले लिएको नेपालको नेपाली जडिबुटीलाई अन्तराष्ट्रिय बजारमा बृहत रुपमा परिचीत तुृल्याउने योजना खासै प्रभावकारी हुन सकेको देखिन्न। विश्व स्वास्थ्य संगठनले बनाएको कुशल उत्पादन संहिता प्रणाली आयुर्वेदिक औषधि उत्पादनमा हुबहु मेल खाँदैन। अहिले नियामक निकायले आयुर्वेद र परम्परागत औषधिलाई पनि आधुनिक रसायनिक औषधिसरह एउटै दायरामा नियमन गरिरहेको छ। त्यसमा सम्बन्धित विषयविज्ञ र प्रविधि दुबैको कमी देखिन्छ। यस विषयमा पनि केही नयाँ विकल्पको विकास गर्ने आशा हामीले उक्त केन्द्रबाट गर्न सक्छौ।
परम्परागत उपचार, आयुर्वेद तथा जडिबुटी क्षेत्रको विकास क्रमलाई तिव्रता दिन र यसबाट मनग्य आन्दानी प्राप्त गर्नका लागि हामीले अनुसन्धान तथा गुणस्तरमा ध्यान दिनुपर्छ। स्थानीय तहका सबैखाले स्वास्थ्य प्रणालीलाई लोकप्रीय र सहज बनाउनका लागि सुविधासम्पन्न उपचार केन्द्रहरुको स्थापना द्रुतगतिमा गर्नुपर्छ।
त्यसका लागि आवश्यक पर्ने प्राविधिक मानव संसाधनका लागि नेपालका धेरै विश्वविद्यालयहरुले आयुर्वेद, जडिबुटी तथा वैकल्पिक उपचार पद्धतिका पाठ्यक्रमहरु विकास र परीमार्जीत गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ। खासगरी कोभिड १९ महामारीपछि जडिबुटीमा बढेको विश्व बजार र हालै भारतमा स्थापना भएको विश्वस्तरीय अनुसन्धान केन्द्र, यी दुई अवसरलाई नेपाालले सदु्पयोग गर्न सकेको खण्डमा नेपालको परम्परागत ज्ञान र जडिबुटीलाई अन्तराष्ट्रिय बजारमा सजिलै पुर्याउन सकिन्छ।
-(डा राजेन्द्र ज्ञवाली जडिबुटी विज्ञ हुन्।)