स्वास्थ्य सम्पूर्ण प्राणीहरुको लागि एक अपरिहार्य विषय हो। खासगरी सामाजिक प्राणी हामी मानव जातिको लागी एकदमै संवेदनशील विषयको रुपमा लिइन्छ। सामान्य अर्थमा रोग नलाग्नु नै स्वस्थ हुनु बुझिन्छ। तर यथार्थमा शारीरिक, मानसिक तथा सामाजिक रुपले स्वस्थ हुनुलाई स्वास्थ्य भनिन्छ। स्वस्थ हुनुलाई खानपान, वातावरण, हावापानी, आनीबानी लगायतका तत्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छन्। हाम्रो शरीर विभिन्न कोष तथा तन्तुहरु मिलेर बनेको छस त्यसैले शरीरमा ध्यान नदिएमा अथवा कहिलेकाहीँ नचाहँदा नचाहँदै अकस्मात रोग लागि सकेके हुन्छ। रोग लाग्नु ठुलो समस्या होइन तर यसको उचित उपचार समयमै हुन नसक्नु ठूलो समस्या हो।
सर्वसाधारणमा रोग लागिसकेपछि उपचार नहुनुको पछाडि मुख्य समस्याको रुपमा आर्थिक संकट रहेको देखिन्छ। यस्ता आर्थिक संकट न्युनिकरण गर्नको लागि सरकारले सम्पूर्ण नागरिकहरुको लागि स्वास्थ्य बीमा ल्याएको छ। नेपालमा स्वास्थ्य बीमा ल्याउनुको मुख्य उद्देश्य नै रोग लागिसकेको खण्डमा कसैले पनि आर्थिक आभावको कारण ज्यान गुमाउन नपरोस भन्ने हो।
स्वास्थ्य बीमाले सम्पूर्ण नागरिकहरुको सामाजिक सुरक्षा सुनिश्चित गर्दछ। यो कुनै व्यवसायीक नाफाको लागी ल्याइएको होइन बरु राज्यले ल्याएको नागरिक हरुको प्रत्यक्ष सेवाको अवसर हो।
नेपालको सन्दर्भमा स्वास्थ्य बीमा अपरिहार्य छ, किनभने गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ तरिकाले स्वास्थ्य बीमा बाहेक अन्य कुनैपनि माध्यमले सुनिश्चित गर्न सकिदैन। स्वस्थ हुन पाउनु र स्वास्थ्यमा सहज पहुँच हुनु हरेक नागरिकको जन्मजात नैसर्गिक अधिकार हो। जसलाइ नेपालको संविधान, चालु १५ औं योजना, बजेट, स्वास्थ्य बीमा ऐन २०७४ तथा स्वास्थ्य बीमा नियमावली २०७५ ले सुनिश्चित गरेको छ।
हाल स्वास्थ्य बीमा कुल सात प्रदेशको ७७ वटै जिल्लामा बिस्तार भइसकेको छ। करिब चार सयभन्दा बढी स्वास्थ्य संस्थाहरु स्वास्थ्य बीमामा सुचिकृत भई स्वास्थ्य सेवा दिइरहेका छन्। जुन जनताको लागि राज्यले दिएको प्रत्यक्ष उपहार हो।
राज्यले ल्याएको स्वास्थ्य बीमा अनुदानमा आधारित एक उपलब्धिमूलक कार्यक्रम हो। कुल पाँचजना सदस्य भएको परिवारले तिन हजार पाँच सय तिरेर एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा आवश्यक परेको खण्डमा लिन सकिने व्यवस्था रहेको छ। पाँच जना भन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य सातसय तिरेर अधिकतम दुई लाख बराबरको सुविधा लिन सकिने स्वास्थ्य बीमा ऐनमा व्यवस्था रहेको छ। त्यस्तै ७० वर्ष कटेका जेष्ठ नागरिकको स्वास्थ्य बीमा प्रति जेष्ठ नागरिक लाई एक इकाई मानि सरकारले स्वत:योगदान रकम तिरी एक लाख बराबरको स्वास्थ्य बीमा गराउँदै आएको छ।
राज्यले ल्याएको स्वास्थ्य बीमा पूर्णरुपले सूचना प्रविधिमा आधारित रहेको कार्यक्रम हो। यस कार्यक्रममा जटिल खाले आठ प्रकारको रोगमा थप पैसा स्वास्थ्य उपचारको लागि तिरीदिने व्यवस्था रहेको छ।
यसका साथै सात प्रकारको रोगमा पुर्ण तथा आंशिक रुपले योगदान रकममा छुट दिने व्यवस्थासमेत रहेको पाइन्छ। स्वास्थ्य बीमाको कारणले गर्दा लाखौं मानिस निश्चित रकम तिरी गुण्स्तरिय स्वास्थ्य सेवा लिई खुसी जीवनयापन गरिरहेका छन्। सरकारले करिव छ वर्षअघि कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा कुल जनसंख्याको करिब २८ प्रतिशत जनसंख्या बीमित भईसकेको छन, जबकि चालु आर्थिक वर्षमा ५० प्रतिशत जनसंख्या लाई बिमित गर्ने लक्ष्यका लिइएको छ।
चालू पन्ध्रौं योजनाले कुल जनसंख्याको ६० प्रतिशत जनसंख्यालाई बीमित गर्ने लक्ष्य लिएको पाइन्छ। योजना तथा बजेटले लिएको लक्ष्य पुरा गर्नु हामि सबैको दायित्व हो र यसको बोध सम्पूर्ण नागरिक हरुलाई हुनुपर्छ। स्वास्थ्य बीमालाई दिगो बनाउन नितान्त आवश्यक रहेको पाइन्छ। किनभने स्वास्थ्य बीमा स्वस्थ नागरिक निर्माणको लागि अन्तिम निर्विकल्प राज्यले नागरिकहरुको लागि ल्याएको व्यवस्था हो।
स्वास्थ्य बीमामा बीमित हुन पाउनु एक गौरवको विषय हो, किनभने रोग लागे निश्चित रकम सम्मको निशुल्क उपचार पाइन्छ र रोग नलागे आफूले तिरेको पैसाबाट अरुले उपचार पाउछन। दान पनि धेरै प्रकारको हुने गर्दछन तर सबै दानमा उत्कृष्ट दान स्वास्थ्य बीमामा तिरेको योगदान हो।
-(तिवारी स्वास्थ्य बीमा बोर्ड संखुवासभाका दर्ता अधिकारी हुन्)