काठमाडौं- स्थानीय तहको निर्वाचनमा स्वास्थ्य सेवाबाट राजीनामा दिएर निर्वाचनमा होमिएका स्वास्थ्यकर्मीहरुले जित हासिल गर्ने क्रम बढ्दै गएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा स्वास्थ्यकर्मी निर्वाचित भएका छन्।
स्वास्थ्यकर्मी दामोदरप्रसाद आचार्य गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। उनी नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा उठेका थिए। आचार्यले माओवादी केन्द्रका धनबहादुर रावतलाई पराजित गरेका हुन्।
आचार्य सोही गाउँपालिकाका स्वास्थ्य संयोजक थिए। उनी नेपाल स्वास्थ्यकर्मी संघ कर्णाली प्रदेशका अध्यक्ष समेत हुन्।
यसैगरी, सुनसरीकी ३५ वर्षीया स्वास्थ्यकर्मी पुनम चौधरी नेकपा एमालेबाट दुहवी नगरपालिका वडा नं १ मा सदस्य निर्वाचित भएकी छिन्।