काठमाडौं- सरकारले सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडको क्षमता बढाउने भएको छ। आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रममा लिमिटेडको उत्पादन क्षमता अभिवृद्धि गर्ने विषय राखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिमिटेडको उत्पादन क्षमता बढाउँदै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक औषधिहरुको आपूर्तिलाई आत्मनिर्भर बनाउने कार्यक्रमको प्रस्ताव गरेको हो। मन्त्रालयको उक्त प्रस्ताव आगामी आर्थिक वर्षका बजेटमा समावेश हुने भएको छ।
आधारभूत स्वास्थ्य सेवा अन्तर्गत सरकारले स्वास्थ्य चौकीदेखि जिल्ला अस्पतालसम्म विभिन्न ९८ प्रकारका औषधिहरु नि:शुल्क वितरण गर्दै आइरहेको छ। यी औषधिहरु सरकारले विदेशी र स्वदेशी कम्पनीसँग किनेर स्वास्थ्य संस्थामा निशुल्क उपलब्ध गराउँदै आइरहेको छ।
मन्त्रालयले सरकारी संस्थामा उपलब्ध हुने यस्ता औषधिहरु लिमिटेडबाट नै उत्पादन हुने र त्यहाँबाट नै खरिद गरेर स्वास्थ्य संस्थामा वितरण गर्ने उद्देश्य अनुसार लिमिटेडको उत्पादन क्षमता बढाउन बजेट उपलब्ध गराउने प्रस्ताव गरेको हो।
लिमिटेड उद्योग मन्त्रालय अन्तर्गत रहेपनि स्वास्थ्य संस्थामा उपलब्ध हुने औषधिहरुको विषय रहेको भन्दै स्वास्थ्यले ती औषधि उत्पादनको क्षमता बढाउन प्रस्ताव गरेको हो।
लामो समय बन्द भएर पुन:सञ्चालनमा आएको लिमिटेडले हाल पाँच प्रकारका औषधि उत्पादन गर्दै आएको छ। लिमिटेडले थप १३ प्रकारकार औषधि उत्पादनको प्रक्रिया समेत अगाडि बढाइसकेको छ।
सरकारले सहयोग गरेमा लिमिटेड सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने सबै औषधिहरु उत्पादन गर्न सक्ने लिमिटेडका कर्मचारी बताउँछन्।
यो पनि
पुरानो पहिचान पुनर्स्थापित गर्न खोज्दै नेपाल औषधि लिमिटेड
स्वास्थ्य चौकीदेखि आधारभुत अस्पतालसम्म अब यी ९८ प्रकारका औषधि निःशुल्क (नामसहित)