काठमाडौं- काठमाडौंमा वितरण हुने पानीको अनुगमन गरिने भएको छ। काठमाडौंका विभिन्न ठाउँमा देखिएको हैजा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले पानीको अनुगमनसहित विभिन्न आठवटा निर्णय गरेको छ। शुक्रबार काठमाडौंमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा सरोकारवाला निकायहरुसँगको अन्तरक्रियामा विभिन्न आठ निर्णय गरिएको हो।
बैठकमा हैजा रोकथामको लागि टेलिभिजन तथा रेडियोहरुबाट स्वास्थ्य सम्वन्धी सन्देशहरु प्रवाह गर्ने निर्णय गरिएको छ।
काठमाडौंमा वितरण हुने जार, बोतल तथा ट्यांकर व्यवसायीहरुको वितरण गर्ने पानीको गुणस्तर अनुगमन गर्न खाद्य अनुगमन तथा गुणस्तर नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरुको संयुक्त टोलिले निरन्तर अनुगमन निर्णय भएको छ।
काठमाडौं महानगरपालिकाबाट हैजा नियन्त्रणको लागि जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट खानेपानीको गुणस्तर सुधार गर्न हाल वितरित पानीमा क्लोरिनको मात्रा वृद्धि गर्ने, जोखिम क्षेत्रमा पानीको नमुना संकलन तथा परीक्षण गर्ने पनि निर्णय भएको छ।