काठमाडौं- नेपालमा आत्महत्याको समस्या वर्षेनी बढ्दै गएको छ। आत्महत्याको कारणमध्ये ९० प्रतिशत बढी कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या हुने गरेको छ। त्यसमा पनि गम्भीर खालका डिप्रेसन करिब ८० प्रतिशत प्रमुख जिम्मेवार रहेको मनोचिकित्सकहरु बताउँछन्।
डिप्रेसन प्रमुख कारण भनिएपनि डिप्रेसन हुँदैमा आत्महत्याको सोच आइहाल्दैन। डिप्रेसनले गाँज्दै गएर गम्भीर अवस्थामा पुगेपछि मात्र आत्महत्याको सोच आउने हो। डिप्रेसनको समस्यालाई समयै पहिचान गरी उपचार गरे निको हुने मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालकी मनोविद करुणा कुँवर बताउँछिन्।
मनोविद कुँवरसँग हामीले डिप्रेसन के हो ? किन हुन्छ र कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा थप कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
डिप्रेसन भनेको के हो?
– डिप्रेसन भनेको धेरै निराशापन र दुखीपन हुनु हो।
– डिप्रेसनमा भएका व्यक्तिहरुले जीवनलाई अर्थहीन देख्न थाल्छन्।
– निद्रामा समस्या आउनु, खाना मन नलाग्नु, जीवन बोझ लाग्नु यसका लक्षणहरु हुन्।
– पहिलो चरणमा केही गर्न मन नलाग्ने, दिक्क लाग्ने, एक्लो बस्न मन लाग्ने हुन्छ।
– सामाजिक क्रियाकलापमा घुलमिल नहुने, दैनिक कामहरु गर्न छाड्नेसम्मको पनि हुन्छ।
डिप्रेसन किन हुन्छ? कारणहरु के हुन्?
– डिप्रेसन हुनुको विभिन्न कारणहरु हुन्छन्।
– वंशाणुगत, पारिवारिक वातावरण, व्यक्तिले भोगेका अनुभव, दुख, हिंसाका कारण पनि डिप्रेसन हुन सक्छ।
– बाल्यावस्थामा विभिन्न हिंसा, यौन शोषणमा परेकाहरु पनि डिप्रेसनमा जाने गरेको पाइएको छ।
– डिप्रेसन सबै उमेर समूहलाई हुन सक्छ।
डिप्रेसन भएको व्यक्तिले आफू डिप्रेसनमा भएको महसुस गर्न सक्छन्?
– प्रायजसोलाई आफूलाई अप्ठ्यारो भएको, केही गर्न मन नलागेको थाहा हुन्छ।
– तर डिप्रेसनको उपचार हुन्छ। उपचारबाट ठिक हुन्छ भन्ने कुराहरु उनीहरुलाई महसुस हुँदैन।
– डिप्रेसनमा व्यक्तिले महसुस गरेका अनुभवहरुलाई सामान्य रुपले लिन थाल्छ।
– डिप्रेसन भएका व्यक्तिको समयमै उपचार भएन भने आत्महत्याको जोखिम पनि बढाउँछ।
यस्तो अवस्थामा अन्य व्यक्ति वा आफन्तको भूमिका के हुन्छ?
– कतिपय व्यक्तिले आफूले डिप्रेसनको समस्या भएको महसुस गरेर उपचारमा जान्छन्। तर यो संख्या एकदमै कम छ।
– डिप्रेसन भएका व्यक्तिको आफन्त वा साथीभाइको भूमिका निकै महत्वपूर्ण हुन्छ।
– उनीहरुले भनेका समस्याहरु सुनेर गम्भीर रुपमा लिनुपर्छ।
– उनीहरुले दिएका अभिव्यक्तिहरुलाई सामान्य रुपमा लिनु हुँदैन। आफन्त र साथीभाइले उनीहरुको समस्या बुझ्नुपर्छ।
– आफूहरुले उचित सल्लाह दिन नसके सम्बन्धित चिकित्सकको परामर्शमा जानुपर्छ।
डिप्रेसनको रोकथाम तथा नियन्त्रण कसरी गर्न सकिन्छ?
– परिवारको सहयोगी भूमिका डिप्रेसनको रोकथामका लागि निकै महत्वपूर्ण मानिन्छ।
– विशेषगरी बालबालिका र युवा वर्गहरुका लागि परिवारको सहयोग र समर्थन निकै आवश्यक छ।
– उनीहरुको समस्या सुनिदिने, म छु नआत्तिनु भनेर हौसला दिने गर्नुपर्दछ।
– डिप्रेसन भएकै व्यक्तिहरुमा के कारणले भएको हो भनेर पत्ता लगाउन कोशिस गर्नुपर्छ।
– आफुलाई मन परेको कामहरु, क्रियाकलापहरुलाई निरन्तरता दिनुपर्छ।
– चिकित्सकको परामर्श समयमै लिन उत्तिकै आवश्यक छ। समयमै गरिएको उपचारले डिप्रेसनको समस्याबाट बचाउँछ।
भिडियो: निमेष जंग राई