नेपाल चिकित्सक संघको पहलमा गत २० जुनदेखि एक साताका लागि हामी भारतको चण्डीगढमा तालिमका लागि गएका थियौँ। पहिलो चरणमा हामी ४५ जना चिकित्सकहरु तालिममा सहभागी भएका हौँ। स्वास्थ्य क्षेत्रमा नेतृत्व विकाससँग सम्बन्धित उक्त तालिम निकै फलदायी रह्यो। तालिमको दौरानमा हामीले निकै कुराहरु सिक्ने र अनुभव गर्ने मौका पायौँ।
उक्त तालिमले चिकित्सकहरुको पेशागतदेखि व्यक्तिगत क्षमताको विकासमा ठूलो टेवा पुर्याएको छ। उक्त तालिम नेपालस्थित भारतीय दुतावास मार्फत भारतको विदेश मन्त्रालयको आइटीइसी अन्तर्गतको कार्यक्रम थियो।
विभिन्न रोगका विषेशज्ञ चिकित्सक तथा पब्लिक हेल्थमा सक्रिय व्यक्तिहरु तालिममा सहभागी भएका थियौं। तालिममा सहभागीताका लागि चिकित्सक संघले आवेदन माग गरेको थियो। तालिमका लागि इच्छा व्यक्त गर्दै करिब २ सय जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये क्राइटेरिया पुरा भएका ४५ जना पहिलो चरणमा छनोट भएका हुन्। बाँकी रहेका अन्य आवेदकहरुका लागि पनि आगामी दिनमा हुने तालिममा आवसर आउने नै छ।
पहिलो चरणको तालिमका लागि नेपाल चिकित्सक संघ र भारतीय राजदुतावसबीच कुराकानी भइरहेको थियो। उनीहरुले स्वीकृती दिएर नामावाली माग गरेपछि आवेदन मागिएको थियो। जसमा पहिलो चरणमा २ जनामध्ये ४५ जना छनोट भएका हुन्। यसमा काठमाडौं र काठमाडौं उपत्यका बाहिर सबै क्षेत्रका चिकित्सकहरुलाई समेटिएको छ।
समुदायमा काम गरेकोदेखि ठूला अस्पतालमा काम गरेका सबैलाई समेटिएको थियो। यसमा सरकारी चिकित्सक र निजी क्षेत्रका चिकित्सक मिलाएर समेटिएको छ।
यो कार्यक्रम पब्लिक हेल्थमा लिडरसिप विकास गर्ने विषयमा केन्द्रित थियो। भारतको हेल्थ सिस्टम कसरी चलिरहेको छ? यसमा केके राम्रो प्राक्टिस भइरहेका छन्? स्वास्थ्य क्षेत्रमा नेतृत्व गर्नलाई कस्ता गुण चाहिन्छ भन्ने विषयमा केन्द्रित थियो।
नेपाल चिकित्सक संघले यस्ता कार्यक्रमलाई अझै थप कसरी गर्न सकिन्छ र नेपालमै पनि यस्ता कार्यक्रम कसरी गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गर्ने समय पनि मिलेको थियो। जस्तो गुड प्राक्टिसमा चण्डीगढको पोष्टग्राजुयट इन्स्टिच्युट अफ मेडिसिनको पब्लिक हेल्थ र कम्युनिटी मेडिसिनको डिपार्टमेन्टले टेक्निकल कोलाबरेसन गरेका थिए।
यसमा विशेषज्ञ वा फ्याकल्टीहरु भनेर विभिन्न खालका विशेषज्ञ सोधपत्र निकालेका व्यक्तिहरु हुनुहुन्थ्यो। नेशनल हेल्थ पोलिसिका निर्देशक तहका व्यक्तिहरु पनि थिए। त्यो टिमसँग पनि हामीले छलफल गर्यौं।
उक्त छलफलमा आगामी दिनमा यस्ता कार्यक्रममा नेपाललाई थप सहभागी गराउने, यस्तै किसिमका कार्यक्रम तथा अन्य शैक्षिक कार्यक्रमहरुमा उहाँहरुलाई पनि रिसोर्स पर्सनका हिसाबले बोलाउने, उहाँहरुले चाहेको खण्डमा रिसोर्स पर्सनहरु नेपालबाट पनि पठाइदिने, स्वास्थ्य मन्त्रालय, चिकित्सक संघ तथा सम्बन्धित मन्त्रालयबीच पनि समन्वय गरेर नेपालमै पनि पब्लिक हेल्थ म्यानेजमेन्ट कार्यक्रम चलाउने सम्झौता पनि भएको छ।
कार्यक्रममा हाम्रा तर्फबाट सहभागीहरुले गरेका गुड प्राक्टिसका प्रिजेन्टेसनहरु गरेर थप तीन महिना गर्न सकिने कार्ययोजना पनि लिएका आएका छौं।
समग्र रुपमा ६ दिनमा हामीले ४ दिन चण्डीगढ र २ दिन सिम्लामा तालिम लियौं। चण्डीगढमा पनि तालिमका क्रममा क्लासमा बसेर पढ्नेभन्दा पनि लिडरसीप ट्रेनिङको प्राक्टिसहरु, कसरी काम गर्ने के–के गर्ने भनेर समुहगत रुपमा प्राक्टिकल ओरेनटेसन थियो। टेलिमेडिसिनको विषयमा पनि छलफल भयो। अंगदानको विषयमा त्यहाँ भइरहेको प्राक्टिसको विषयमा पनि जानकारी लियौँ।
२ दिनसम्म सिम्लामा चलेको तालिममा कसरी समुहमा काम गर्ने, नयाँ कामहरु कसरी गर्ने? भन्ने विषयमा प्राक्टिकल्ली छलफल भयो। मेडिकल प्राक्टिसमा रोबटिक सर्जरीहरु कसरी प्रयोग गर्न सकिन्छ? भन्ने विषयबारे पनि जानकारी लिन पाएका छौं।
सिम्लामा मेडिकल प्राक्टिस, कम्युनिटी हेल्थ सिस्टमको सञ्चालनबारे स्थलगत अवलोकन गरेर हेर्ने अवसर पायौं। त्यहाको हेल्थ सिस्टमलाई सरकारले गरेको सहयोगलाई म्याक्सिमम प्रयोग गर्नुहुँदो रहेछ। टेलिमेडिसिन सेवालाई मेडिकल कलेजसँग समन्वय गरेर बिरामीले सेवा पाएको जानकारी पायौं।
समग्रमा ६ दिनको तालिममा नेतृत्व विकासका विषयदेखि चिकित्सा क्षेत्रका विषयमा धेरै ज्ञान हासिल गर्न पाइयो। उक्त तालिम निकै फलदायी बन्न पुग्यो। यस्तो खालको तालिममा नेपालका धेरैभन्दा धेरै चिकित्सकहरु सहभागी हुनुपर्छ। चिकित्सक संघले १५ सयभन्दा बढी चिकित्सकलाई तालिम दिने गरी काम अगाडि बढाएको छ। आगामी दिनमा हुने यस्ता तालिममा सहभागी भएर धेरै भन्दा धेरै चिकित्सकले ज्ञानको दायरालाई थप फराकिलो बनाउन सक्ने विश्वास लिएको छु।