काठमाडौं– नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले व्यवसायिक बीमाजस्तो स्वास्थ्य बीमा नाफामूलक नभएको बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता भट्टराईले वर्तमान सरकारले बजेटमा स्वास्थ्य बीमाको जिम्मा निजी क्षेत्रलाई दिने भनेकोबारे आपत्ति जनाए।
सांसद भट्टराईले स्वास्थ्य बीमाको सन्दर्भमा एमाले पार्टीका विभिन्न सांसदहरु र सत्तारुढ दलकै सांसदहरुलेसमेत पटक–पटक आवाज उठाएको बताउँदै बजेटको १५१ नम्बरको बुँदाले निजी कम्पनीलाई दिने मनसाय व्यक्त गरेकाले स्वास्थ्य संस्थाहरुले स्वास्थ्य बीमाको सेवा अवरुद्ध गरेको बताए।
उनले बजेटको ५१ नम्बर बुँदा संशोधन गर्नुका साथै स्वास्थ्य बीमालाई बीमा ऐन २०७४ अन्तर्गत सुचारु गर्नका लागि निर्देशन दिएको दुई हप्ताभन्दा बढी हुँदा पनि त्यसको कार्यान्वयन नभएको भन्दै आक्रोश पोखे।
उनले उक्त निर्देशन लागू नहुँदा लाखौं जनता सेवाबाट वञ्चित भएको बताए। सरकारले स्वास्थ्य बीमालाई व्यवसायिक बीमाको रुपमा बुझेको भन्दै उक्त बीमा व्यवसायिक बीमा नभएको उनले प्रष्ट पारे।