चिटिक्क र राम्रो देखिन जो कोहीलाई मन लाग्नु स्वाभाविकै हो। सुन्दर र आकर्षक व्यक्तित्व भएको मानिसमा सबैको ध्यान जान्छ। सौन्दर्यका पारखीहरु खासगरी छालाको हेरचाहमा बढी सजग देखिन्छन् र यसले व्यक्तिको आकर्षक छविलाई उजागर गर्न मद्दत गर्छ। छालाको रङ कस्तो छ भन्नेमा भन्दा पनि कसरी उसले आफ्नो छालाको हेरचाह गरेको छ भन्ने कुराले धेरै अर्थ राख्छ।
यस्तै कुरा सोच्दै, बुझ्दै म पनि छाला विभागको पोस्टिङमा सदाझैँ अरुका लागि त थाहा भएन तर आफ्नो लागि त चिटिक्कै भएर पुगेँ। बिहान ८ बजे नै बिरामीहरु लाइनमा हुनुहुन्थ्यो। मैले भने सामान्य सोध्पुच्छ गर्दै म्यामहरुकोमा देखाउन लगीरहेको थिएँ। सिक्ने, सिकाउने क्रम चलिरहेको थियो।
प्राय अनुहारमा डन्डीफोर(Acne), कालोपोतो( Melasma), विभिन्न शरीरका भागमा दाद( Tinea), कत्ले(psoriasis), लुत्तो( scabies), इन्फेक्सनहरू (ब्याक्टेरीमा, भाइरस, फंगल संक्रमण), इक्जेमा( Dermatitis), Uricaria, यौन रोग( STD) साथै कपाल झर्ने समस्या( Alopecia ) लिएर बिरामी आउनुभएको थियो। अहिलको समयमा विशेषगरी ( Nairoby fly) को संकमणको समस्या लिएर आउने संख्या धेरै हुनुहुन्थ्यो।
विशेष गरी चितवन मेडिकल कलेज( CMC) मा कपाल प्रत्यारोपण( Hair transplant) को व्यवस्था पनि रहेको हुँदा, यसबारे बुझ्न र गराउन पनि मानिसहरू इच्छुक भएको नै पाइयो। जे होस् मानिसले आफ्नो कपाल र अनुहारमा अरु भन्दा बढी नै महत्व राख्नेमा दुइमत भने छैन। हुनत बाहिरबाट झ्याप्प हेर्दा देखिने कुरा यिनै त हुन् नी। भित्र जस्तो नै भएपनि बाहिरबाट राम्रो देखिनु नै त छ नि होइन र?
दोस्रो दिन भने दाद आएको भन्दै एकजना दाई दाद बिगारेर आउनु भएको थियो। मैले सामान्य सोधपुच्छ गर्दा नजिकैको फार्मेसीमा गएर मलम (Topical steroid) पो लगाउनु भएको रहेछ। उहाँलाई सम्झाएर म्यामकोमा लगें। मलाई नयाँ लागे पनि म्यामको लागी भने नौलो कुरा होइन रहेछ। म्याम भन्दै हुनुहुन्थ्यो। 'आम मानिसले गर्ने गल्ती नै यही हो केही छाला सम्बन्धी समस्या आयो भने नजिकैको फार्मेसीमा जाने अनि स्टेरोइड मलम ( Topical steriod) ल्याएर लगाउने। जसले गर्दा फंगसको संक्रमण बढी हुने घाउ झनै बिग्रने हुन्छ। सुरुमै हस्पिटल नआउने अनि बिग्रेपछि यस्तो भयो डा साप भन्दै आउनेको संख्या धेरै हुन्छl'
कुनै छालाको समस्यालाई त यसले राम्रो काम गर्छ तर दादको हकमा भने यसलाई झन बढाउने र उपचार प्रक्रिया पनि लामो बनाउने गर्छ।
यसरी नै बिरामीहरू आउने, सिक्ने र सिकाउने क्रम चलिरह्यो। केही कुरा मैले देखेको, बुझेको हजुरलाई नि भन्छु है त। झर्को नमानी पढ्नुहोला।
छालामा कस्तो समस्या देखा परेपछि बिरामीहरु उपचारका लागि आउने गर्दा रहेछन् त?
छालाको रोगको विषयमा भन्ने हो भने धेरै छालाका रोगीहरु उपचारका लागि अस्पताल नआई यो सामान्य समस्या हो भनेर घरमै बसी घरायसी उपचार गर्छन्। कसैले फार्मेसीबाट आफूखुसी औषधि खरिद गरी उपचार गर्छन्। हस्पिटलमा उपचारका लागि आइपुग्ने बिरामी विशेषगरी छालामा रोग लागेको धेरै लामो समय भइसकेपछि घरायसी र अन्य माध्यमबाट उपचार गर्दा ठिक नभएपछि आउने गर्छन्। वास्तवमा भन्नुपर्दा विगतको भन्दा अहिले छाला सम्बन्धी रोगीहरु सामान्य समस्या देख्ने वित्तिकै आउने क्रममा छन् तैपनि इन्टरनेट हेरी आँफै औषधि प्रयोग गर्ने पनि छन।
छालामा कस्तो लक्षण देखिए गम्भीररुपमा लिनुपर्छ?
छालासम्बन्धी रोगका कुरा गर्दा छालाको क्यान्सर जसलाई गम्भीर रुपमा लिनुपर्ने हुन्छ। जसले शरीरको भित्री अंगलाई समेत हानी पुर्याउने काम गर्छ। जसले गर्दा छालाबाट रगत आउने समस्याहरु आउने, धमनीहरु (Artery)देखिने वा शरीरका विभिन्न भागका छालामा निलडामहरु देखिने भयो भने ठूलै समस्या आउन सक्छ। त्यसबाहेक भित्री रोगहरु मधुमेह( Diabetes) साथै मिर्गौला, कलेजो , छातीसम्बन्धी रोग भयो भने पनि छालामा त्यसको लक्षण देखा पर्न सक्छ। त्यो हामीले पहिचान गर्नु आवश्यक हुन्छ। त्यसैले छालाको रोगलाई भित्री रोगको ऐना जस्तो ‘मिरर अफ इन्टर्नल डिजिज’ भनेर पनि पहिचान गर्न सकिन्छ।
छाला रोगबाट बच्नका लागि कस्ता उपायहरु अपनाउनुपर्छ?
छालाको रोग अनुसार उपायहरु अपनाउनुपर्ने हुन्छ। छालामा संक्रमण भएको छ भने समयमै छाला रोगको चिकित्सककोमा आई चिकित्सककै सल्लाहअनुसार एन्टिबायोटिक प्रयोग गर्नुपर्ने हो कि, फङ्गल चाहिने हो कि अथवा सामान्य मल्हम चाहिने हो, त्यो प्रयोग गर्नुपर्छ। दोस्रो कुरा भनेको छालाको रोग लागेकाहरुले अरुलाई सर्नबाट रोक्नुपर्छ। जस्तो फङ्गल इन्फेक्सन हुँदा छालाको रोगीले बेग्लै गम्छा प्रयोग गर्ने, अरुसँग धेरै सम्पर्कमा नबस्ने, लुतो जस्तो संक्रमण फैलिने खालको रोग छ भने कसैसँग पनि धेरै सम्पर्कमा नबस्ने जस्ता उपायहरु अप्नाई उपचार गर्नुपर्छ।
अर्को रोग भनेको चाहिँ एलर्जीको रोग हो। आफूलाई जे कुराबाट एलर्जी छ त्योबाट सकेसम्म टाढै रहन जरूरी छ। कसैलाई घामबाट हुने एलर्जी रोग छ भने घामबाट बच्ने उपायहरु अप्नाउनुपर्छ। सनस्क्रीन क्रिमहरु प्रयोग गरेर पनि यसबाट बच्ने उपाय गर्न सकिन् । यी त उदाहरण मात्र हुन्। रोग अनुसारको रोकथामको लागि चिकित्सकको सल्लाह अनुसार त्यही विधिहरु अप्नाउनुपर्छ।
अन्त्यमा भन्नैपर्ने कुरा,
विशेषगरी हाम्रो समाजमा घर, फार्मेसीदेखि लिएर छरछिमेकमा सबै छालाको डाक्टर छन्। छालामा यो समस्या आयो भने यसो गर्नु, उसो गर्नु भन्ने हाम्रो संस्कार नै रहेको छ। कतिपय व्यूटीपार्लर, फार्मेसीहरुमा जथाभावी औषधिहरु प्रयोग गरेको पाइन्छ। त्यसपछि ठिक नभएर लामो समय बितिसकेपछि मात्र छालाका रोगीहरु चिकित्सककोमा आउने गर्छन्। त्यसकारण छालाको रोगलाई सुनेको र भनेको भरमा औषधि प्रयोग नगरौं, अस्पताल गई छाला रोग विशेषज्ञकोमा जाँच गराउने र सरसल्लाह लिने बानी बसालौं।
अर्को कुरा चाहिँ छालामा लामो समयसम्म चिलाउने अन्य खालका समस्याहरु छन् भने त्यस्तो खालको रोग खतरनाक पनि हुन सक्छ, छाला त हो भनी त्यसै वेवास्ता गर्नु हुँदैन, छालाबाटै पनि शरीरको भित्री रोगहरु पत्ता लगाउन सकिन्छ।
अन्त्यमा शरीरमा भएको अन्य रोगका कारण पनि छालामा समस्याहरु देख्न सकिने भएका कारण छालामा समस्या देखिने बित्तिकै छाला रोग विशेषज्ञकोमा चेकजाँच गराउनुको साथै डाक्टरको सल्लाहविना जथाभावी रुपमा कुनै पनि औषधी सेवन नगरौँ।