काठमाडौं- प्रदेश नंं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश मातहतका सरकारी अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकलाई बिरामीको सेवाका लागि थप प्रेरित गर्न ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि, २०७९’ स्वीकृत गरेको छ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि, २०७९’ सहित विभिन्न आठ कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो। बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत ‘सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी कार्यविधि, २०७९’ स्वीकृत गरेको छ।
यसैगरी बैठकले ‘कर्मचारी प्रोत्साहन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ। यो कार्यविधि स्वीकृत भएसँगै प्रदेशमा न्यूनतम छ महिनादेखि कार्यरत कर्मचारीले प्रोत्साहनस्वरुप एकमुष्ट एक महिनाको सुरुआतको तलब स्केलबराबरको रकम पाउने प्रदेश यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए।
त्यस्तै बैठकले ‘मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७९’ स्वीकृत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा प्रस्तुत ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम (सञ्चालन) कार्यविधि, २०७९’ पनि स्वीकृत गरेको छ।
बैठकले प्रदेशअन्तर्गतका निकायको आर्थिक प्रशासनलाई सुव्यवस्थित, सार्वजनिक खर्चमा पारदर्शी, मितव्ययी र प्रभावकारी बनाउन ‘सार्वजनिक खर्चको मापदण्ड र मितव्ययितासम्बन्धी निर्देशिका, २०७९’ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै घरेलु मदिरा ब्रान्डिङ गर्न ‘घरेलु मदिरा ब्रान्डिङ निर्देशक समिति तथा कार्यदेश’ समेत बैठकले स्वीकृत गरेको छ।
बैठकले प्रदेशमा श्रम ऐन, २०७४ कार्यान्वयनका लागि सहजीकरण गर्न, श्रमिकका हक अधिकारको सुनिश्चित गर्न तथा श्रमिक, रोजगारदाता र प्रदेश सरकार बीचको सम्बन्धलाई प्रभावकारी बनाउन ‘प्रदेश श्रम सल्लाहकार परिषद् गठनसम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ।