काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १२ औं तहका प्रमुख विशेषज्ञ डाक्टर श्यामसुन्दर यादवले भदौ १ गतेबाट उमेरहदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाए।
डा यादवले १२औं तहका कर्मचारीलाई प्रमुख विशेषज्ञ भन्दा पनि अतिरिक्त सचिव बनाइनुपर्छ भन्दै नाम फेर्ने प्रस्तावमा लागेका थिए। उनकै पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त सचिवको नाम फेर्ने प्रस्ताव मन्त्रिपरिषदमा लग्यो।
मन्त्रिपरिषदको साउन २६ गतेको बैठकले स्वास्थ्यको १२ औं तहका कर्मचारीको पद प्रमुख विशेषज्ञको सट्टा अतिरिक्त सचिव बनाउने निर्णय पनि गर्यो। साउन २६ गते नै निर्णय भएकाले डा यादवले भदौ १ गते अवकास पाउँदा अतिरिक्त सचिवबाट अवकास पाएको पत्र पाउने आश गरिएको थियो।
तर मन्त्रिपरिषदबाट निर्णय भए पनि उक्त निर्णय राजपत्रमा प्रकाशित हुन ढिला भयो। १ गते डा यादवले अवकाश पाए भने राजपत्रमा उक्त निर्णय २ गते मात्र प्रकाशित भए।
डा यादवले साउन ३१ गते सरकारी सेवाको आफ्नो अन्तिम दिन नै स्वास्थ्यको प्रशासन तर्फकी सचिव देवकुमारी गुरागाईंसँग अतिरिक्त सचिवको पत्रका विषयमा कुराकानी गरेका थिए। सचिव गुरागाईंले राजपत्रमा आइनसकेकाले पत्र बनाउन नसकिने जानकारी दिएकी थिइन्।
त्यसपछि रिसाएका डा यादव १ गते बुधबार मन्त्रालयमा राखिएको बिदाइ कार्यक्रममा समेत सहभागी भएनन्।
डा यादवले अतिरिक्त सचिवको पत्र नपाएपछि स्वास्थ्यका कर्मचारीहरु अहिले जसको पहलमा नाम फरियो उनैलाई पत्र दिन नपाएकोमा दुखिद छन्। 'उहाँकै पहलमा नाम फेरियो। निर्णय पनि भयो। तर राजपत्रमा एक दिन ढिला हुँदा उहाँले नै पत्र पाउनु भएन्,' मन्त्रालयका एक कर्मचारीले भने।
हेरौं राजपत्रमा प्रकाशित सूचना