काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माताहतका कर्मचारीको सरुवाको विषय फेरि विवादमा परेको छ। मन्त्रालयले गर्दै आएको पछिल्ला सरुवाहरु विवादमा आउन थालेको छ।
मन्त्रालयले बुधबार गरेको सरुवामध्ये तीन जनाको सरुवा भने तत्कालका लागि रोकिएको छ। मन्त्रालयले बुधबार स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीलाई राष्ट्रिय ट्रमा सेन्टरमा र महाशाखामा डा सर्वेश शर्मालाई जिम्मेवारी दिएको थियो।
डा मारासिनीलाई ट्रमाको मेडिकल सुपरिटेन्डन्ट बनाएपछि ट्रमाका निमित्त मेसु डा प्रमोद यादवको जिम्मेवारी खोसिएको थियो। तर बुधबार सरुवाको निर्णय गरेको मन्त्रालयले आइतबारसम्म पनि उनीहरुलाई पत्र दिएको छैन।
मन्त्रालय स्रोतका अनुसार ट्रमाबाट आफ्नो जिम्मेवारी खोसिएपछि डा यादवले जनता समाजवादी पार्टीका अध्यक्ष यादवमार्फत स्वास्थ्य मन्त्रालयमा दबाब दिएका थिए। '११औं तहका मेसु राख्नुपर्ने ट्रमामा १०औं तहका डा यादव थिए। मन्त्रालयले ११औं तहका डाक्टरलाई नै पठाएको थियो। तर माथिबाटै दबाब आयो,' स्रोतले भन्यो, 'माथिबाटै दबाब आएपछि ट्रमामा डा रुद्रलाई पठाउन सकिएन। अनि डा सर्वेशको पनि तत्कालका लागि रोकियो।'
स्रोतका अनुसार मन्त्रालयले गरेको सरुवाको विषय तत्कालका लागि रोकिए पनि स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी भुटानबाट फर्किएपछि फेरि कार्यान्वयनमा ल्याउने तयारी भएको छ। 'राज्यमन्त्रीले त निर्णय भइसकेको कुरा रोक्न हुन्न भन्नु भएको छ। प्राशासनिक कुरा भएकाले सोमबार नै उहाँहरुले पत्र पाउने सम्भावना पनि छ,' स्रोतले भन्यो, 'भएन भने पनि राज्यमन्त्री फर्किएपछि त पक्का हुन्छ।'