काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडविरुद्धको खोपको प्रतिवेदन पठाउन आग्रह गरेको छ। २७ जिल्लाका २९६ स्थानिय तहमध्ये ५५ वटा स्थानिय तहबाट बालबालिकाको कोभिडविरुद्धको खोपको पहिलो मात्राको र १५९ वटा स्थानिय तहबाट दोस्रो मात्राको प्रतिवेदन प्रविस्ट नभएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो।
मन्त्रालय अन्तरगतको परिवार कल्याण महाशाखाले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र २७ जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै प्रतिवेदन पठाउन भनिएको छ।
प्रतिवेदन नपठाउने जिल्लाहरुमा इलाम, झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा,पर्सा, महोत्तरी, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर,काभ्रे, चितवन, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली , कंचनपुर र डडेलधुरा रहेका छन्।