आजको यस अंकमा हामी एक अभिभावक र चिकित्सकबीचको वार्तालाप प्रस्तुत गर्दै छौं। एक अभिभावक आफ्नो बच्चालाई स्वास्थ्यमा समस्या भएपछि आफू बस्ने नजिकै एक चिकित्सककोमा जान्छिन् र उनीहरुबीच केही वार्तालाप हुन्छ। यहाँ चिकित्सकले भन्ने गरेका सम्पूर्ण मेडिकल तथ्यांक ग्लोबल इनिसियटिभ फर आस्थ्मा २०२२ को पछिल्लो गाइडलाइन्स, संसारभरिको बालरोग डाक्टरले पढ्ने नेल्सन टेक्स्ट बुक अफ पेडियाट्रिक्स, विश्व स्वास्थ्य संगठन लगायतका आर्टिकललाई नेपालीमा अनुवाद गरिएको हो। हामी वार्तालापको केही अंश जसले सम्पूर्ण जनतालाई बालदमप्रतीको भ्रम हटाउन सहयोग होस् भनेर यो सामाग्री प्रस्तुत गर्दछौ।
एक जना अभिभावक आफ्नो ३ वर्षीय बच्चालाई निकै समयदेखि खोकी लाग्ने भएर चिकित्सककोमा जान्छिन्। उनी भन्छिन्- डाक्टर, हेर्नुस् न मेरो छोरोलाई १५-१६ दिन भईसक्यो खोकी निको भएको छैन। हिजो रातिबाट घ्यारघ्यार गर्छ अनी छिटोछिटो श्वास फेर्छ। रुघा लाग्यो कि बाबुलाई यस्तो भइहाल्छ। वर्षमा ५-६ पटक क्लिनिकको औषधि नखुवाइ र बाफ नलगाइ त ठीक नै हुँदैन। पोहोर साल त समस्या भएर कान्ति बाल अस्पतालमा इमर्जेन्सीमा लगेर अक्सिजन लगाएर भर्ना पनि गर्नुपरेको थियो। लौ न यो समस्या के हो? जरैबाट पत्ता लगाएर समाधान गरिदिनुपर्योब सर।
अनी डाक्टर भन्नुहुन्छ 'हजुरले भनेजस्तो ५ वर्ष मुनिको रोग पत्ता लगाउन हजुरले हतार नगरिकन कम्तीमा १० मिनेट समय दिनुपर्ने हुन्छ अनी केही प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। अनी मात्रै रोग पत्ता लगाउन सहज हुनेछ। किनभने प्रायजसो बिरामीको रोग पत्ता लगाउन पहिलो र महत्वपूर्ण तरिका भनेको नै हामी चिकित्सकले सोध्ने र हजुरहरुले भन्ने कहानी हो।'
अभिभावक: हस् डक्टर।
डाक्टर: हजुरको बाबु पेटमा हुने बेलाबाट जाउँ है त?
अभिभावक : हस सर
डाक्टर: हजुर सुत्केरी कहिले हुनुभएको थियो? सामान्य थियो कि अपरेसन? बच्चाको तौल कति थियो? बच्चा जन्मेपछि रोएको थियो कि थिएन? अक्सिजन लगाएर भर्ना गर्नु र्योब कि नाइ? बच्चा जन्मिनु अघि वा जन्मेपछि कोइला वा चुरोट बिडीको धुवाँको सम्पर्कमा आएको थियो कि थिएन? जन्मेपछि ६ महिनासम्म आमाको दुध मात्रै खुवाउनु भएको थियो कि फर्मुला दुध वा लिटो सुरु गर्नुभएको त थिएन नि?
अभिभावक: मेरो त चाडै ब्यथा लागेर ७ महिनामा जन्मेको बाबु हो। जम्मा १२०० ग्रामको जन्मेको थियो। बाबुको फोक्सो राम्रोसँग विकास नभएर एनआसियूमा भर्ना गरेर महँगो औषधि चलाऊनु परेको थियो। करिब १ महिना भर्ना गरेर राख्नुपरेको थियो सायद पहिलो १० दिनसम्म त बाबुलाई भेन्टिलेटरमै राख्नु परेको थियो। जन्मिनु अघिदेखि नै श्रीमानले कोठामै चुरोट खानुहुन्थ्यो। जन्मेपछि त मैले र सासु आमाले गाली गरेपछि कोठामा खान छोड्नु भयो। तर सेक्नलाई त कोइलामा नै सेकेको हो। मेरो पनि दुध राम्रोसँग नआएर फर्मुला दुध खुवाएको अनी ४ महिनादेखि नै लिटो सुरु गरेको हो नि।
डाक्टर: एए त्यस्तो पो हो। हजुरले भने जस्तै समयनपुगी जन्मेको बच्चाहरु, अझ छोरा मान्छेलाई, जन्मिदा अक्सिजन लगाउनुपर्ने, एनआइसियूमा भर्ना भएका शिशु, कम तौल भएका, परिवारका सदस्यमा दम भएमा, चुरोट बिंडी वा कोइलाको धुलो धुवामा हुर्किएका शिशु, कम्तिमा ६ महिनासम्म आमाको दुध मात्रै खुवाउनुपर्नेमा अन्य दुध खुवाएमा वा अन्य खानेकुरा सुरु गरेमा, पहिलो १ वर्षभित्र एन्टिबायोटिक प्रयोग भएका बच्चाहरुमा घ्यारघ्यार तथा बालदम हुने सम्भावना केही बढी हुन्छ है म्याम।
अभिभावक: डाक्टर बच्चालाई पनि दम हुन्छ र? अनी यो रोग लागेपछि निको हुन्छ कि हुँदैन?
डाक्टर: किन नहुनु र अमेरिकामा सन २०१८ को डाटा अनुसार १०० जना बच्चामा ७-८ जना बच्चालाई बालदमको समस्या देखिएको छ भने विश्व स्वास्थ्य संगठनले भने जस्तै हाम्रो जस्तो अल्पविकसित तथा विकासोन्मुख देशमा जहाँ विभिन्न कारणले रोग नै कम पत्ता नलाग्ने र उपचार पनि कमै हुने गर्छ। अझ काठमाडौंमा वायु प्रदुषण धेरै नै भएकाले यहाँ त धेरै बच्चालाई घ्यारघ्यार हुने समस्या हुन्छ। त्यसैले त अहिले काठमाडौं बासीका आशाका केन्द्र बिन्दु युवाको ढुक्ढुकी काठमाडौंका मेयर साब बालेन ज्युले काठमाडौंलाई सफा सुग्घर गराउन लागि पर्नुभएको छ र यसमा तपाईं हाम्रो सहयोगको ठुलो खाँचो छ है।
बच्चाहरुमा घ्यार घ्यार हुने कतिपए समस्या ५ वर्ष कटेपछि ठीक हुन सक्छन भने दम नै हो रहेछ भने चिकित्सकको सल्लाह बमोजिम लामो समय औषधि प्रयोग गरी रोगलाई नियन्त्रणमा राख्नुपर्दछ। र बेला बेलामा नियमित फलोअप गर्नुपर्ने हुन्छ।
अभिभावक: यसमा हुने मुख्य लक्षणहरु के के हुन त सर?
डाक्टर: बारम्बार दोहोरिएर आउने सुख्खा खोकी, जुन प्राय गरेर बिहान र बेलुका बढ्ने गर्दछ। सजिलै निको हुँदैन। चिसो मौसममा बढी हुने, रुघा भयो कि बढीहाल्ने, कोही कोही बच्चाहरु खेल्दा, उफ्रिदा, हाँस्दा, रुदा खेरी बढ्ने हुनसक्छ। बच्चालाई कुनै एलर्जी (बिछ्यौनामा हुने माइट्स, गलैंचा, फर्निचरमा हुने धुलो तथा ढुसी, घरपालुवा जनावरका रौं तथा छाला, पराग, सुर्तीको धुलो, धूमपान, केमिकल, चिसो पदार्थ, वायु प्रदूषण, चिसो हावा, कडाक्टर बास्ना) भएमा दम हुने सम्भावना बढी हुन्छ। त्यो बाहेक छिटोछिटो श्वास फेर्ने, श्वास फेर्दा सिटीजस्तो आवाज आउने, घ्यार घ्यार गर्ने, छातीमा अप्ठेरो महशुस हुने, दुख्ने आदि हुनसक्छ। कहिलेकाहीँ सिरियस भएमा बच्चाको श्वास फुल्ने भएर इमर्जेन्सी वा आसियूमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ। समयमा उपचार नगरे ज्यान पनि जान सक्छ है।
अभिभावक : हजुरले भने जस्तै लगभग धेरै लक्षण त मेरो बच्चालाई पनि रहेछ है डाक्टर। अनि यसमा प्रयोग गर्ने औषधि के कस्तो हुन्छन्? प्रयोग गरेपछि बिचमा छोड्न मिल्छ कि मिल्दैन?
डाक्टर : दमको लागि मुख्य औषधि भनेकै इन्हेलर पम्प हो। यो एकदम प्रभावकारी हुन्छ र यसको नकरात्मक असर पनि कम हुने गर्दछ। जहिले पनि औषधि प्रयोग गर्नु अघि लगभग ५ सेकेन्ड जती इन्हलेरलाई बेस्सरी हल्लाउने। पहिलो ३ वर्ष सम्मका बच्चालाई पम्प, स्पेसर फेस मास्कसहित प्रयोग गर्नुपर्छ। एक पटक प्रयोग गर्दा ५ वर्ष मुनिका बच्चाले कम्तिमा ५ पटक श्वास भित्र बाहिर फेर्न लगाउने है। त्यस्तै ठुला बच्चाहरुमा इन्हेलर पम्पको माउथपिसलाई मुखभित्र राख्नु अघि फोक्सो भित्रको हावा सबै बाहिर फाल्ने कोशीस गर्ने त्यसपछि मुखभित्र दाँतको बीचमा राखी ओठले च्याप्ने। त्यसपछि चोरऔंलाले थिच्ने अनी बिस्तारै श्वास भित्र तान्न लगाउने र कम्तिमा ५-१० सेकेन्ड श्वास रोक्न लगाइ बिस्तारै श्वास बाहिर फाल्न लगाउने है। त्यस्तै उक्त सामानलाई महिनामा कम्तिमा एक पटक सर्फ(सोडाक्टर) पानी मा भिझाएर खलखल नगरी हावामा सुकाउनुपर्छ है।
अभिभावक: एक पटक बाफ लगाएपछि त बानी बस्छ रे? हाम्रो टोखा तिर सबैले त्यस्तै भन्छन त डाक्टर।
डाक्टर : अभिभावकरुले के भन्छन थाहा छैन तर चिकित्सकले आवश्यक्ता अनुसार बाफ लगाउनु पर्छ। त्यस्तै यदि समस्या नै छ भने समस्याको समाधान तिर पो जाने होला नि, हैन र? रोग पत्ता लगाएर उपचार तिर नलागेर केही हैन भन्दै रोग पालेर राख्नु त झनै भएन नि। कतिपए ठाउँमा सलाइन पानी एकचोटी चढाएपछि सधैं चढाउनु पर्छ भन्ने अन्धविश्वासले जरा गाडे जस्तो चाँही गर्नुहुँदैन है। बाफ लाउनै पर्नेलाई चिकित्सकको सल्लाह अनुसार लगाउनुपर्छ तर एक चोटी लगाउनुपर्योा भन्दैमा सधैं आफ्नै हिसाबले गलत काम पनि गर्नु भएन है।
अभिभावक : अनी यो रोग यही नै हो भनेर एकिन पत्ता लगाउने उपाए के छ त सर?
डाक्टर : खासमा ५ वर्ष मुनिका बालबालिकामा हजुरले भन्ने कहानी र हामीले गर्ने चेकजाँच, फिनो जाँच, रगतको जाँच, छातीको एक्सरे, सिटी स्क्यान लगाएत परीक्षणबाट धेरैकुरा थाहा हुन्छ। त्यस्तै ५ वर्षमाथिका समुहहरुमा माथि भने जस्तै र थप फोक्सोको जाँच स्पाइरोमेट्री/पल्मोनरी फन्सन टेस्ट गरेपछि पत्ता लगाउन सजिलो हुन्छ।
अभिभावक: यसको बच्ने उपाय केही छ त सर ?
डाक्टर: बालबालिकालाई धुवाँधुलोबाट टाढा राख्नुपर्छ। पटकपटक हात साबुनपानीले धोइराख्ने, घरबाट बाहिर निस्किदा मास्कको प्रयोग गर्नुपर्छ। रुघाखोकीको समयमै उपचार गर्नुपर्छ। त्यस्तै ६ महिनामाथिका प्रभावित व्यक्तिले इन्फ्लुन्जा भ्याक्सिन (खोप) लगाउनु राम्रो हुन्छ। अरु माथि भने जस्तै परिवर्तन गर्न मिल्ने वा व्यवहारमा सुधार गर्नुपर्ने कुरामा जोड दिने अनी केही सहज हुनसक्छ। वार्ताको अंश अहिलेलाई यती नै .. धन्यवाद।
(लेखकद्धय कान्ति बाल अस्पतालमा कार्यरत छन्।)