काठमाडौं- प्रदेश १ सरकारले प्रदेश अन्तर्गतका जिल्ला अस्पतालमा काम गर्ने विशेषज्ञ चिकित्सकहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ। यसका लागि प्रदेश सरकारले ‘विज्ञेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ बनाएको छ।
प्रदेश सरकारले ११ वटा जिल्ला अस्पतालमा काम गर्ने ८ देखि ११औं तहका विशेषज्ञ चिकित्सकलाई अधिकतम १ लाख ५० हजारसम्म प्रोत्साहन भत्ता दिने कार्यविधि ल्याएको हो। कार्यविधि भदौबाट नै लागू हुने बताइएको छ।
प्रदेश १ स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालित सरकारी स्वास्थ्य संस्थामा दिइने स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी एवं उपलब्धिमूलक बनाउन विशेषज्ञ चिकित्सकहरुको मनोबल बढाइ सेवा प्रवाहमा थप जिम्मेवारीका साथ विशिष्ट चिकित्सकीय सेवा प्रदान गर्न प्रोत्साहन भत्ता उपलब्ध गराउन लागिएको कार्यविधिमा उल्लेख छ।
कार्यविधि अनुसार प्रदेशका चिकित्सकलाई मासिक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिनेछ। संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्ला अस्पतालहरूमा काम गर्ने चिकित्सकलाई समान प्रोत्साहन भत्ता दिने कार्यविधिमा उल्लेख छ।
कार्यविधि अनुसार ११ औं तहको चिकित्सकलाई मासिक अधिकतम १ लाख ५० हजार, ९ र १० तहको चिकित्सकलाई अधिकतम १ लाख ३५ हजार र ८ औं तहको चिकित्सकलाई अधिकतम १ लाख २० हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराइने छ।
धनकुटा, उदयपुर र इलाम जिल्ला अस्पतालमा खटिने ११ औं तहको चिकित्सकलाई ७५ हजार, १० र ९ औं तहका चिकित्सकलाई ६८ हजार र ८ औं तहको चिकित्सकलाई ६० हजार रुपैयाँ मासिक प्रोत्साहन भत्ता उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ।
यसैगरी, छात्रवृत्ति करार तथा प्रदेश करारका चिकित्सकले पनि प्रोत्साहन भत्ता पाउने छन्। संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्ला अस्पतालहरुमा खटिने प्रदेश र छात्रवृत्ति करारका ११ औं तहका चिकित्सकले मासिक ७५ हजार, ९ र १० औं तहका चिकित्सकले ६८ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन्। धनकुटा, उदयपुर र इलाममा खटिने करारका ११ औं तहका चिकित्सकले ३८ हजार, ९ र १० औं तहका चिकित्सकले ३४ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने कार्यविधिमा उल्लेख छ।
प्रदेश सरकारले सुनसरी, मोरङ र झापा जिल्लामा रहेको प्रदेश सरकार मातहतका अस्पतालहरूमा भने प्रोत्साहन भत्ता उपलब्ध नगराइने जनाएको छ।
हेरौं कार्यविधि