काठमाडौं- नेपालमा डेंगुका बिरामी नेपालमा ११ हजार ६५ पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्ममा देशभर ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।
सबैभन्दा धेरै बागमती प्रदेशमा ८ हजार ३ सय ९० जनामा डेंगु संक्रमण भएको छ। यस्तै, लुम्बिनीमा १ हजार ४ सय २१, प्रदेश १ मा ३ सय ४७, सुदूरपश्चिममा ३ सय २३, गण्डकीमा २ सय २४, मधेश प्रदेशमा १ सय ९८ र कर्णाली प्रदेशमा १६२ जनामा डेंगु संक्रमण देखिएको छ।
धेरै संक्रमण देखिएका १० जिल्लामा
हाल दश जिल्लाहरुमा डेंगु संक्रमण बढी देखिएको छ। ती जिल्लाहरुमा ललितपुर, काठमाडौ, मकवानपुर, दाङ, भक्तपुर,रुपन्देही, चितवन, धादिङ, काभ्रे र तेह्रथुम रहेका छन्।
मन्त्रालयले डेंगुविरुद्ध कुनै खोप नभएको भन्दै ज्वरो कम गर्न सिटामोल र प्रशस्त मात्रामा खोल खानेकुरा खान तथा स्वास्थ्यकर्मीको सल्लाह लिन आग्रह गरेको छ।
नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका सातै प्रदेशका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैबीच सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै संचालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान संचालन गर्न आग्रह गरेको छ।
डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान दश बजे दश मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुलपार्ने ठाउँहरु 'खोजौ र नष्ट गरौ' भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ।