काठमाडौं- सांसदहरुले मुलुकका अधिकांश जिल्लामा डेंगु संक्रमितको सङ्ख्या बढिरहेकाले तत्काल नियन्त्रणमा पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेंगु संक्रमण बढ्दो क्रममा रहेकाले तत्काल नियन्त्रण गर्न आवश्यक भएको बताए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएकोे जनाएको छ। गत साउनदेखि हालसम्म १२ हजार दुई सय १७ जनामा डेंगुपुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। डेङ्गुका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा चार सय दुई, मधेसमा दुई सय २३, बागमतीमा नौ हजार तीन सय चार, गण्डकीमा दुई सय ४५, लुम्बिनीमा एक हजार चार सय ७९, कर्णालीमा एक सय ८४ र सुदूरपश्चिम प्रदेशमा तीन सय ८० जनामा डेंगु देखिएको छ।
सांसद डा विमला राई पौडेलले डेङ्गुले तहल्का मच्चाइरहेकाले यसको नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराइन्। “प्रत्येक घरमा बिरामी छन्। सरकार डेंगु नियन्त्रण गर्नेतर्फ ध्यान दिन सकेन। बजारमा सिटामोलको अभाव छ, जनतालाई ज्वरो आएको छ, सिटामोल पुर्याउनु पर्दैन?”, उनले भनिन्।। उनले डेंगु प्रतिकारात्मक काम कहाँ पुग्यो भनी स्वास्थ्य मन्त्रालयसँग प्रश्न गरिन्।