काठमाडौं- मानिसको खानपिन, रहनसहन र जीवनशैलीलाई केन्द्रित गरेर चिकित्सक सन्देश पण्डितद्वारा लिखित ‘बेसिक प्रिन्सिपल्स अफ लिभिङ हन्ड्रेड’ पुस्तक सार्वजनिक गरिएको छ। सो पुस्तक शिखा बुक्स काठमाडौँले प्रकाशनमा ल्याएको हो।
पुस्तकमा विश्वका विभिन्न ठाउँमा सय वर्ष बाँचेका मानिस, तिनको खानपिन, रहनसहन, जीवनशैलीलाई सविस्तार चर्चा गरिएको छ। साथै विभिन्न उपचार पद्धतिलाई सरल तरिकाले बुझाइएको छ। एक चर्चित कलाकारलाई रोग लाग्दाको अति नै उपयोगी अनुभवसमेत पुस्तकमा समेटिएको छ।
आजको समयमा किन यति धेरै मानिस रोगी हुँदै गएका छन् र त्यसका लागि अपनाउनुपर्ने सचेतनाका बारेमा पुस्तकमा उल्लेख छ। यो पुस्तक पढेपछि मानिसमा स्वास्थ्यप्रति सचेतना र हेर्ने दृष्टिकोण परिवर्तन हुने डा पण्डितले बताउउँछन्।
उनी भन्छन्, “पहिला–पहिलाका पुस्ताका मानिसहरू सय वर्ष बिनाऔषधि कसरी बाँच्थे तर स्वास्थ्य विज्ञानले यत्रो फड्को मार्दा र अनेकौँ स्वास्थ्य सेवाका विकल्प हुँदा पनि किन हाम्रो पुस्तालाई ६०–७० वर्षसम्म बाँच्न समस्या भइरहेको छ भन्ने कुरालाई पुस्तकमा उल्लेख गरेको छु।”