विश्व स्वास्थ्य संगठनका अनुसार मानिसको स्वास्थ्य अवस्था जसमा व्यक्तिले आफ्नै क्षमताहरु महसुस गर्न सक्छ, जीवनको सामान्य तनाबहरुको सामाना गर्न उत्पादक र फलदायी रुपमा काम गर्न सक्छ र आफ्नो समुदायमा योगदान दिन सक्षम हुन्छ यसलाई मानसिक रुपमा स्वास्थ्य रहेको मानिन्छ। मानसिक स्वास्थ्यमा लगानी गरेको १ डलरले लगानीमा ४ डलर प्रतिफल दिन्छ।
सन् २०२० मा कोभिड-१९ माहामारीका कारण चिन्ता र डिप्रेसन भएका मानिसहरुको संख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको छ। प्रारम्भीक अनुमानले १ वर्षमा चिन्ता र डिप्रेसनको समस्या क्रमश २६ प्रतिशत र २८ प्रतिशतले बढेको देखाउँछ। नेपाल स्वास्थ्य अनुशन्धान परिषद समेतले गरेको सर्भे अनुसार कम र मध्यम आय भएका देशहरूमा लगभग ७६ प्रतिशत र ८५ प्रतिशत मानिसहरुले आफ्नो स्वास्थ्य अवस्थाको लागी कुनै उपचार नपाएको देखिन्छ। त्यस्तैगरी, ग्लोबल बर्डन अफ डिजिजका अनुसार मेजर डिप्रेसिभ डिसअडरको व्यापकता विश्वोव्यापी रुपमा २.५ प्रतिशतले रहेको छ। दक्षिण एशियाली क्षेत्रमा २.६ प्रतिशत र नेपालमा ३.६ प्रतिशतले रहेको छ। जसमा ४.३ प्रतिशत महिलामा र २.८ प्रतिशत पुरुषमा देखिएको छ। नर्सने रोगको रोकथाम र नियन्त्रणका लागी बहुक्षेत्रिय कार्ययोजना २०१४-२०२० को अनुसार १८ प्रतिशत नर्सने रोगको भार मानसिक रोगको कारण हुने गरेको पाइयो।
यो लेखमा मैले आफैंले भोगेका अनुभूतिसहित मानसिक रोग र मानसिक स्वास्थ्य अवस्थाबारे भ्रम कम गरी सचेतना फैल्याउने प्रयास हो। धेरैजसो महिलाले सुत्केरी पश्चात् पोस्ट पार्टम ब्लुज विकास गर्छन। सुत्केरी पश्चात् हर्मोनको सन्तुलन ठिक ठाँउमा नआउनाले शारीरिक तथा मानसिक अवस्थामा देखा पर्ने समस्या नै पोस्ट पार्टम ब्लुज हो। प्रत्येक १० सुत्केरी महिला मध्ये १ महिला सुत्केरीपछि अझ गम्भीर र लामो समयसम्म डिप्रेसनमा जाने गर्छन्।
मानसिक स्वास्थ्य समस्याको लागी जोखिम समूह:
१. बाल्यकालमा दुर्व्यवहारमा परेका।
२.लैङ्गिक दुर्व्यवहारमा परेका।
३.ऋण तथा आर्थिक समस्यामा परेका।
४.दीर्घकालीन तनाव र शारीरिक स्वास्थ्य समस्यामा परेका।
५.प्राकृतिक प्रकोपमा परेका।
६.महामारी ।
७.दुर्घटनामा परेका वा देखेका।
८.अति संवेदनिशल व्यक्ति
सुत्केरी भएको डेढ महिना पछि म पूर्ववत आफ्नो दैनिकी गर्नुपर्ने कामहरु विस्तारै विस्तारै गर्न थाल्दै थिएँ। घर व्यवहार बच्चाको स्याहार सुसार इत्यादी। धेरै महिलामा हुने पोस्टपार्टम ब्लुज मलाई पनि भएको थियो। बारम्बार मूड स्विंग हुने, बिनाकारण रुने, सानोसानो कुरामा चित्त दुखाउने यस्ता समस्याहरु देखापर्यो, जुन स्वभाविक थिए।
कोभीड-१९ को कारणले गर्दा सुत्केरी स्याहारको लागि कोहि पनि नबोलाउने सल्लाह भयो। सुत्केरी उतार्ने काम श्रीमान र आमाले नै गर्नुभयो। कोभिडबाट बच्न हामीले सम्भव भएसम्म सबै उपायहरु अपनायौं। किनकि घरमा सुत्केरी अनि दुई महिनाको बच्चा पनि थियो। यसैबीच बच्चा बिरामी पर्यो। हामीले हाम्रो बासस्थानबाट नजिकै पर्ने अस्पताल गएर जचाउँदा निमोनिया भएको रिपोर्ट आयो। त्यसपछी सोहि अस्पतालमा भर्ना गरि उपचार सुरु भयो। बच्चालाई गाह्रो भइसकेको रहेछ त्यसैले अक्सिजनमा राख्नुपर्ने भयो। त्यसै दिनको साँझतिर अर्को रिपोर्ट आयो जसमा बच्चालाई कोभिड भएको पुस्टि भयो। त्यसपछि सरकारको नियम अनुसार यहाँ उपचार गर्न मिल्दैन तपाईंहरु आफ्नो बच्चा अर्कै आस्पतालमा लैजानु भन्ने जानकारी पायौं। रात परिसकेको थियो। त्यसैले हामी बच्चालाई कुन अस्पताल लाने भनि सल्लाह माग्दा तपाईंहरु आफै बुझ्नु भन्ने तितो जवाफ पाइयो। यसले एउटा महामारीमा प्रतिष्ठित भनिएको स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी प्रशासनको बिरामीप्रतिको संवेदनशीलता अनि उत्तरदायित्व कस्तो छ त हाम्रो देशको अस्पतालहरुमा भन्ने प्रस्ट पार्दछ। रातिको १० बजे हामी अस्पतालबाट निस्कने तयारी गर्यौं। उपचार गर्दागर्दैको बिरामी बच्चालाई अक्सिजन सहितको एम्बुलेन्समा राखेर चारैतिर फोन सम्पर्क गर्दै २ घण्टासम्म कोभिड उपचार गर्ने बच्चाको भेन्टिलेटर भएको अस्पतालको खोजी गरियो। बच्चाको अवस्था झन् झन् बिग्रदै गैरहेको थियो।
यसै क्रममा एउटा अस्पतालले त्यहाँ उपचार हुने कुरा गर्यो र हामी बच्चा लिई सोहि अस्पताल तिर लाग्यौं। त्यहाँ पुग्दा स्थिती असामान्य लाग्यो। कुनै स्वास्थ्यकर्मी कुरा सुन्दैनन्। प्राय सबैजसो बिरामी अनि बिरामीका साथमा गएकाहरुसँग रुखो बोलि व्यवहार थियो। बल्लतल्ल ४/५ जना स्वास्थ्यकर्मीहरु एम्बुलेन्सतर्फ आए परैबाट बच्चा उचाल्न लगाएर कोखा हानेको छ छैन हेरे अनि उनीहरुले भने यहाँ भेन्टिलेटर सकियो तपाईंहरु अरु कुनै अस्पतालमा बुझ्नु भेन्टिलेटर चाहिन सक्छ।
हामीले यो बच्चाको नै आस्पताल हो निमोनियाको औषधि चलाउँ हामी जोखिम लिन्छौं भनि अनुरोध गर्यौं। किनकि बच्चाको स्वास्थ्य धेरै बिग्रिसकेको थियो। लगभग १ घण्टासम्म डाक्टरले सम्पूर्ण मेडिकल डकुमेन्ट हेरेपछि त्यहाँ नि नहुने कुरा निश्चित भयो। त्यो अवस्थामा हरेक मिनेट सेकेन्ड अमुल्य थियो। हामीले यसैक्रममा अस्पतालमा आएका अरु मानिससँग पनि कुरा राख्यौं बच्चाको भेन्टिलेटर सहितको बेड कहिँ कतै पाउन सकिन्छ कि भनी धेरैले कोसिस गर्यौं। तर उपलब्धि शून्य भयो। त्यसै समय बुबाले फोन गर्नु भयो जहाँ बच्चाको बारेमा कुरा गर्नुभएको रहेछ र त्यो अस्पताल १२:१५ तिर पुग्यौं। श्रीमान बच्चाको रिपोर्ट लिएर अस्पताल भित्र छिर्नुभयो। ममा भने डर पसिरहेको थियो। यहाँबाट पनि फर्किनु पर्यो भने कहाँ जाने? बच्चा अचेत अवस्थामा पुगिसकेको थियो। बच्चालाई जेपनि हुनसक्थ्यो।
अस्पतालको रेस्पोन्स के आउला भन्ने तनावमा थिएँ। यस्तै तनावमा १ घन्टा बितिसकेको थियो। एकजना चिकित्सक आएर को बिरामी भन्दै एम्बुलेन्स भित्रै आएर बच्चा हेरे। चेक गरे। त्यसपछि बच्चालाई उपचारको लागी कोभिड वार्डमा लगियो। मैले त्यहाँ गर्नुपर्ने कागजी प्रक्रियाहरु पुरा गरें।
बच्चाको भेन्टिलेटर नभएको भएतापनि उपचार सुरु गरेको भन्नेकुरा स्वास्थ्यकर्मीले बताए। त्यो वातावरण बुबाले मिलाउनु भएको रहेछ। त्यहाँको कोभिड वार्डको इन्चार्ज हरेक घन्टामा नर्ससँग परामर्श गरिरह्न्थे। बच्चाको उपचार सुरु भएपछि नर्ससँग कुरा गर्दा २४ घन्टासम्म बच्चाको स्वास्थ्यको स्थितीको बारेमा केही भन्न नसकिने, औषधिले के कसरी कति छिटो काम गर्छ त्यसपछि मात्रै बच्चाको स्वास्थ्य सुधारको बारेमा भन्न सकिन्छ भने।
हामीले आँखा झिमीक्क नगरी २४ घन्टा बितायौं। बुबाले घरबाट फोन गारेर सम्झाईरहनु भयो। त्यहाँ राखिएको स्क्रिनबाट मेरो अनि श्रीमानको आँखा कुनै पल हटेन। २४ घन्टा पछि बच्चामा सुधार देखियो। अनि १३ दिनपछि बच्चा पूर्ण ठिक भइ हामी अस्पतालको सकसपुर्ण बसाईबाट मुक्त भएर घर फर्कियौं। हप्ता दिनमा एकपटकको अन्तिम फलोअपमा अस्पताल पुगेर म र श्रीमान बच्चासहित माइतीघर लाग्यौं।
सुत्केरी भएको २ देखी ३ हप्तामा कम हुँदै जानुपर्ने पोस्ट पार्टम ब्लुज म मा झन् बढ्दै गयो। यो बढ्दै जानुमा मलाई कोभिड हुनु अनि मैले बच्चा बिरामी भएको समयमा उपचारको दौरान जुन सास्ती भोग्नुपर्यो, अस्पताल अनि स्वास्थकर्मीबाट भएको व्यवहारले पनि थप समस्या थपिदियो।
यसैपनि अति धेरै संवेदनशील प्रकृतिको मानिस म। मूड स्विंग हुने, एकदम धेरै थकाई लाग्ने, बिनाकारण असामान्य डर लाग्ने, कन्फियुजन हुने, हेलुसीनेशन हुने, एकाग्र हुन गाह्रो हुने, राज्यको प्रणालीबाट असुरक्षित महसुस हुने, चाहिनेभन्दा बढी समानुभुती राख्ने, बच्चाको साधारण स्याहार गर्न नसक्ने, रचनात्मक कुराहरु अनि कामहरु सोच्ने अनि गर्ने जाँगर नआउनु जस्ता कुराहरु म मा देखा परे।
राज्य प्रणाली प्रतिको डर नै सबैभन्दा ठूलो भएको अवस्थामा रुस युक्रेन युद्ध, एमसीसीको विषयमा विभिन्न संचार माध्यमबाट फरक फरक समाचार प्रसारित हुनु, व्यक्ति अनि समूहको फरक फरक धारणा आइरहनु, पटक पटक स्वरुप फेरिँदै आएको कोभिडको त्रास र बारम्बार बालिकाहरु बलात्कृत भएका समाचारले ममा भैरहेको असामान्य डर अझै बढ्दै गयो।
यी समस्याहरुबाट छुट्कारा पाउन मैले अपनाएका उपायहरु:
१.सबैभन्दा पहिले मैले आफ्नो व्यक्तित्वमा आएको परिवर्तनहरुको स्वपहिचान गरि श्रीमानसँग खुलेर छलफल गरेँ।
२.आफू शारीरिक, मानसिक, भावनात्मक रुपमा सुरक्षित हुने मानिसहरुसँग समय बिताएँ।
३.आफूलाई कस्तो महसुस भैरहेको छ, आफूभित्रका कुराहरू, आफूलाई मन पर्ने नपर्ने कुराहरू अनी कुनै पनि विषयवस्तु प्रतिको धारणा, भावनाहरु, दृष्टिकोण बारे श्रीमानसँग छलफल गरेँ।
४.आफूखुशी नहुने कामहरु गरिन, बरु स्वसहयोगी हुने पुस्तकहरु अध्ययन गरेँ।
५.आफू मानसिक र भावनात्मक रुपमा सुरक्षीत हुने साथिहरुसँग नियमित सम्पर्कमा रहिरहेँ, अडियो कल, भिडियो कलद्वारा कुराहरु गरिरहेँ।
६.शारीरिक व्यायाम, योग,ध्यान गरेँ। "सुत्केरी हुनुभन्दा अगाडिसम्म गरिरहेको हुनाले सहजता भयो।"
७.आफूलाई नृत्य अनि संगीत मनपर्ने हुने नृत्य गरेँ अनी मनपर्ने संगीतहरु सुनेँ।
८.बसाई नजिकै पार्क अनि जङ्गल भएकोले प्रकृतिसँग रमाएँ। कहिले बिहान त कहिले साँझ समयको अनुकुलताको अनुसार छोटो हिडाईँ गरेँ।
९.सन्तुलित भोजन सेवन गरेँ, आफ्नो स्वस्याहार गरेँ।
१०.छोरीको लागी पूरा समय दिएँ। पुर्ण स्तनपान गराउँन पाउँदा आत्मसन्तुस्टि मिल्ने रहेछ।
११.परिवारको साथमा आफू नपुगेको छोटो दुरीको पर्यटकीय अनी धार्मिक स्थलहरुको भ्रमण गरेँ। मैले आफूले चहेअनुसार अनि आफूलाई माया गर्ने मानिसहरू बिच रही समय बिताएँ।
यी माथिका उपाय नियमित अपनाइरहँदा म मा आएका समस्याहरु हराउँदै गएका छन्। विस्तारै जिम्मेवारीबोध बढ्न थालेको छ, आत्मविश्वास अनि एकाग्रता बढेको छ। अनी आफ्नो करियर प्रतिको लगाब, रुचिहरु बढेको छ। सकारात्मक पक्षहरूको विकास भैरहेको छ।
मानसिक स्वास्थ्य बारे सबैले बुझ्नुपर्ने कुराहरु:
मानिस जसरी शारीरिक रुपमा अ-स्वास्थ्य हुन्छन् र उपचारपछि निको हुन्छन्, त्यसैगरी मानिस मानसिक रुपमा पनि अ-स्वास्थ्य हुन्छन् यो कुरालाई सामन्य तर संवेदनशील भएर लिनुपर्छ।
१) मानसिक स्वास्थ्यका आयामहरु:- १.सोच्नु २.सामाजिक रुपमा जोडिनु ३.महसुस गर्नु ४.सही ढङ्गले कार्य गर्नु। यी मध्ये कुनै एक आयाममा सन्तुलन बिग्रीयो भने मानिस मानसिक रुपमा अ-स्वास्थ्य हुन्छ।
(२) यदि आफूमा समस्या छ भनेर आफैंले स्वपहिचान गर्न सकियो भने आफ्नो परिवार वा नजिकको साथी जो सँग आफू खुलेर सबैकुरा गर्न सकिन्छ उनीहरुसित आफ्नो कुराहरु राख्नु पर्दछ।
(३) यदि कोहि समस्यामा रहेर तपाईंलाई आफ्नो कुराहरू बताइरहेको छ भने धर्यता पुर्वक र निर्णयात्मक नबनी कुराहरू सुनिदिनु पर्छ। आफ्नो राय नराखी कुराहरु सुन्नु पर्छ। तपाईंले त्यो साथि वा परिवारको सदस्यकै ठाउँमा उभिई तपाईंले त्यो समस्या आफूलाई नै परेको परेको छ भन्ने ठानेर सुनिदिनु पर्दछ।
(४) शारीरिक समस्या जसरी कुनै निश्चित समयमा औषधिको सेवन गरेपछि निको हुन्छ, मानसिक समस्या निको हुने निश्चित समय सिमा हुँदैन।
(५) समयमानै यो समस्या पहिचान गर्न सकेमा बिना पैसा नै समस्याको समाधान गर्न सकिन्छ। यसको लागी साथीसँगी परिवार र काम गर्ने स्थानको वातावरणमा निर्भर रहन्छ।
(६) मानसिक समस्या जस्लाई परेको छ उप्रती गर्ने व्यवहारको विषयमा संवेदनशील हुनु पर्दछ। स-साना कुराहरुले धेरै खुशी मिल्छ र चाडैँ ठिक हुन मद्दत पुग्छ, उसैगरी सानो कुराले गर्दा परिस्थिति झन जटिल बन्ने हुन्छ।
(७) शारीरिक व्यायाम, योग, ध्यानले पुर्णरुपमा स्वस्थ बनाउँछ भन्ने कुरा बुझ्न जरुरी छ, साथै यी कुराहरूलाई आफ्नो जीवनको दैनिकीको रुपमा लागू गर्न जरुरी छ।
(८) आफ्नो परिवारमा कुनै सदस्यलाई मानसिक समस्या देखापरेको छ, उक्त समस्या समाधानको लागी आफूले गरेका प्रयासहरुले समस्या घट्ने भन्दा अझ बढ्न थालेमा मानसिक स्वास्थ्य प्रशिक्षक, साल्लाहकार र मनोचिकित्सकद्वारा सल्लाह र सुझावलिई उपचारका उपायहरु अपनाउनु पर्दछ।
(९) परिवारका सदस्यहरुले समस्यामा परेको सदस्यलाई उसको रुचि अनुसार अनुशासित तरिकाले गर्ने वातावरण सृजना गरिदिनु पर्दछ।
(१०)मानसिक स्वास्थ्यमा समस्या जो कोहिलाई जुनसुकै अवस्थामा हुन सक्छ।
नेपालमा मानसिक स्वास्थ्य एक उदयमान समस्याको रुपमा देखा परिरहेको छ। स्वास्थ्य सेवा विभाग भित्र मानसिक स्वास्थ्य सेवा इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहासाखाको नसर्ने रऊव र मानसिक स्वास्थ्य शाखाको जिम्मेवारी अन्तर्गत पर्दछ। मानसिक स्वास्थ्यमा लगानी गर्न प्रणाली सहितको जनस्वास्थ्य सामाजिक सुरक्षा, रोजगार र शिक्षासँगै समुदायमा आधारित सहभागीता सहितको बहुक्षेत्रिय दृस्टीकोण आवश्यक छ। नेपालमा मानसिक स्वास्थ्य सम्बन्धी एकल नीति छैन। अहिले पनि गैर स्वास्थ्य क्षेत्रका गतिवीधीहरु अन्तर्गत सामाजिक सुरक्षा कार्यक्रमहरु जस्तै लैङ्गिक हिंसाको रोकथाम, बाल संरक्षण, अपाङ्गता व्यवस्थापनले उनीहरुको परियोजनामा मानसिक स्वास्थ्यलाई बढ्दो रुपमा एकीकृत गरिरहेको छ।
मानसिक स्वास्थ्य सम्बन्धी सचेतना फैलाउनको लागी वर्षमा एकदिन मात्र मानसिक स्वास्थ्य दिवस मनाएर पर्याप्त हुँदैन। सरकारी र निजी विद्यालयहरुको पाठ्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी पर्याप्त विषयवस्तु समावेश गर्न जरुरी छ। सरकारी, निजी विद्यालय तथा कलेजहरुमा मानसिक स्वास्थ्य सम्बन्धी परामर्शदाता उपलब्ध गराई समय समयमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम तथा परामर्श कार्यक्रम गराउन आवश्यक छ। मानसिक स्वास्थ्यलाई 'मातृ स्वास्थ्य' कार्यक्रममा पनि एकीकृत गर्नु जरुरी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्कुल नर्स कार्यक्रम अन्तर्गत मानसिक स्वास्थ्यको प्याकेजलाई एकीकृत गर्ने बाटोमा छ। विद्यालय नर्स कार्यक्रम अन्तर्गत मानसिक स्वास्थ्यलाई प्राथमिकताका साथ समावेश गर्न, सरकारी तथा निजी क्षेत्रद्वारा रास्ट्रव्यापी रुपमा विभिन्न संचार माध्यमहरुको प्रयोग गरी सचेतना फैलाउन जरुरी छ।
-(लेखिका रेजिना चुडाल प्रसाई जनस्वास्थ्यकर्मी हुन्।)