काठमाडौँ– सिन्धुली घर भएकी एक युवती काठमाडौँ बसेर पढीरहेकी थिईन्। २२ वर्षकी उनलाई घरबाट बिहे गर्ने दवाब आईरहेको थियो। परिवारको दवाबमा उनले मागी बिहे गरिन्। बिहे गरेको केही दिनमै सानो झगडामा श्रीमानले उनलाई कुटपिट गरे। कुटपिटको शृंखला यसैमा रोकिएन। सानोसानो कुरामा उनले धेरै हिंसा भोगेपछि बिहे गरेको दुई महिनामा नै त्यहाँबाट भागेर माईत फर्किइन्। माईत फर्किएपछि पनि उनले परिवारको साथ पाईनन्। उनका आफन्तले कुटपिट गरे पनि सहेर घर जानुपर्ने भन्दै उनलाई मानसिक तनाव दिन थाले। दाजुभाईले पनि छोरी मान्छे भएर सहनुपर्ने भन्दै घर फर्किन दवाब दिए। माइत फर्किएको केही दिनमै उनले आत्महत्याको कोसीस् गरिन्। उनकी आमाले समयमै देखेर आत्महत्या गर्नबाट जोगाइन् र फकाएर अस्पताल लागिन्। अस्पतालमा डाक्टरले दिएको औषधिले उनलाई केही सहज भयो। त्यसपछि अहिले उनी सामान्य जीवन बिताईरहेकी छिन्।
०००
केही समयअघि काठमाडौँमा एक पुरुषले घरको छतबाट हामफालेर आत्महत्या गर्ने प्रयास गरे। हामफाल्दा उनको शरीरमा चोट लाग्यो र शरीरको एक भाग नै चलेन। आत्महत्याको प्रयास असफल भएपछि उनी निरन्तर मनोचिकित्सककोमा जान थाले। नियमित औषधि सेवनले उनको मानसिक स्वास्थ्यमा सुधार आउन थाल्यो। अहिले उनी मानसिक स्वास्थ्यको विषयमा जनचेतना फैलाउने काम गर्छन्। शारीरिक रुपमा अशक्त भएपनि मानसिक रुपमा उनी निकै स्वस्थ जीवन बाँचीरहेको बताउछन्।
०००
यी दुई त उदाहरण मात्रै हुन्। पटकपटक आत्महत्याको कोशिस गरेका र आत्महत्याको सोच आएका धेरै मानिसहरू निरन्तर परामर्श र उपचारले सामान्य जीवन बिताई रहेका छन्। तर आफू आत्महत्याको जोखिममा छु भन्ने थाहा हुँदाहुँदै उपचार गर्न नजाने, उपचार बीचमै छाडी आत्महत्याको बाटो रोज्नेहरुको संख्या समेत दिनदिनै बढीरहेको चिकित्सकहरू बताउछन्।
वार्षिक बढ्दै आत्महत्याको दर
स्वास्थ्य सेवा विभाग अन्तर्गतको एनसीडी तथा मानसिक स्वास्थ्य शाखाले तयार परेको रिपोर्ट अनुसार बिगत १० वर्षको अवधिमा नेपालमा ५३ हजार २ सय ९८ जनाले आत्महत्या गरी आफ्नो ज्यान गुमाएका छन्। जस अनुसार आर्थिक वर्ष ०६९/०७० मा ३ हजार ९ सय ७४ जना, ०७०/०७१ मा ४ हजार ५ सय ४ जना, ०७१/०७२ मा ४ हजार ३ सय ३२ जना, ०७२/०७३ मा ४ हजार ६ सय ८० जनाले जनाले आत्महत्या गरेका छन्।
त्यस्तै ०७३/०७४ मा ५ हजार १ सय २४ जना, ०७४/०७५ मा ५ हजार ३ सय १७ जना, ०७५/०७६ मा ५ हजार ७ सय ५४ जना, ०७६/०७७ मा ६ हजार २ सय ७९ जना, ०७७/०७८ मा ७ हजार १ सय ४१ जना, र ०७८/०७९मा ६ हजार ८ सय ३० जनाले आत्महत्या गरेको तथ्यांक छ।
विश्वभर वर्षेनी आत्महत्याका कारण करिब ७० लाख मनिसहरूले ज्यान गुमाउँछन्। प्रत्येक ४० सेकेन्डमा विश्वभर एक व्यक्तिले आत्महत्या गरिरहेका हुन्छन् भने एक व्यक्तिले आत्महत्या गरिरहँदा करिब २०/२५ व्यक्तिहरुले आत्महत्याको प्रयास गरिरहेका हुन्छन्। प्रत्येक आत्महत्याले कम्तिमा १३५ जनालाई प्रत्यक्ष असर पारेको तथ्यांकले देखाउँछ।
नेपालमा अहिलेसम्म आत्महत्याका प्रयासहरु गणना गर्ने कुनै प्रविधि वा प्रणाली नभए पनि हरेक दिन सरदर १९ देखी २० जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको पाइन्छ।विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार कुल आत्महत्यामध्ये ७७ प्रतिशत आत्महत्या न्यून तथा मध्यम आय भएका देशहरुमा हुने गरेको छ।
०००
आत्महत्याको जोखिममा रहेकाहरुको समयमै पहिचान गरी सम्भावित लक्षणहरू विचार गर्न सकेमा धेरै आत्महत्याको घटनाहरू रोक्न सकिने मानसिक अस्पताल पाटनका निर्देशक डा अनन्त अधिकारी बताउँछन्।
आत्महत्या गर्ने करिब ८५ प्रतिशत मानिसहरुमा मानसिक स्वास्थ्य समस्या हुने गरेको उनले बताए।डा अधिकारीका अनुसार यस्ता मानिसहरू आत्महत्याको जोखिममा हुन्छन् :
-मनोरोगको शिकार भएका बिरामीहरू
-विगतमा आत्महत्याको प्रयास गरेकाहरू/पारिवारिक इतिहास
-लागुपदार्थ/ मादकपदार्थ सेवन गर्नेहरू
-आत्महत्या गर्ने साधनमा सहज पहुँच भएकाहरू
-द्वन्द्व, प्रकोप, हिँसा, दुर्व्यवहार, एक्लोपन
-तनाब झेल्ने क्षमता कम भएकाहरू
०००
यदी कुनै व्यक्तिले आफ्नो समस्या बारे भन्छ भने त्यसलाई गम्भीर रुपमा लिएर सहयोगको लागि कोसीस गर्नुपर्ने डा अधिकारी बताउँछन्। ‘कसैले तपाईसँग जीवनसँग विरक्त लागेको, आत्महत्याको सोच आएको जस्ता कुरा गर्छु भने त्यसलाई कहिल्यै मजाकको रुपमा लिनु हुदैंन। यसले सधैँ यही भनिरहन्छ या यसको बानी नै यस्तै हो भन्ने तरिकाले सोच्नु हुदैंन। त्यस्ता मानिसहरूलाई यो मानसिक समस्या हो भनेर भन्नु भन्दा पनि यो उपचार गरे ठिक हुने कुरा हो भनेर सम्झाउन कोसीस गर्नुपर्छ,’ उनले भने।
आत्महत्याको सोच बनाई रहेको मान्छेले विभिन्न किसिमको लक्षणहरू देखाउँछन्। त्यस्ता सम्भावित लक्षणहरूलाई नजिकका मान्छेहरुले समयमै पहिचान गर्न सकेमा आत्महत्या गर्नबाट रोक्न सकिने अधिकारी बताउछन्। डा अधिकारीका अनुसार यस्ता छन् आत्महत्याका सम्भावित लक्षणहरू :
-नकारात्मक कुराहरू बढी गर्ने
-व्यवहारिक आर्थिक कुराहरू परिवारलाई सेयर गर्ने या जिम्मेवारीहरूबाट निस्किन खोजे जस्तो गर्ने
-आत्महत्याको उपायको बारेमा खोजि गर्ने
-लागुपदार्थ र मादक पदार्थको सेवन बढाउने
-आत्महत्याको योजना बनाउने
-जीवनको बारेमा सबल कुराहरू नगर्ने
- धेरै रिसाउने या झर्किने
०००
केही दिन अगाडी बेपत्ता भएकी गायिका जेरुशा राईले इन्टरनेटमा पानिमा डुबेर कसरी मर्न सकिन्छ भनेर खोजेको पत्ता लागेको थियो। पछिल्लो समय इन्टरनेटको प्रयोगले खराब मानसिक स्वास्थ्यलाई बढाएको डा केदार मरहठ्ठा बताउँछन्।
‘इन्टरनेटमा गलत विचारहरूलाई कसरी झेल्ने, आत्महत्याबाट कसरी बच्ने, हेल्पलाईनको सहायता कसरी लिने लगाएतका कुराहरू पनि छन् अनी कसरी आत्महत्या गर्ने भन्ने खाले कुराहरू पनि भेटिन्छन्। त्यसकारण इन्टरनेटको प्रयोगले नै आत्महत्याको संख्या बढेको भन्न मिल्दैन तर खराब मानसिक स्वास्थ्यलाई भने यसले बढाएको छ,’ उनले भने।
समयमै उपचारको पहुँचमा जान सकेमा र मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन सकेमा आत्महत्याको दर घटाउन सकिने डा मरहठ्ठा बताउछन्। आत्महत्या गर्ने साधनको पहुँचमा नियन्त्रण गर्ने, मानसिक स्वास्थ्य सेवाको पहुँचमा विस्तार गर्ने, विद्यालय तहबाट नै बालबालिकाको भावनात्मक र सामाजिक व्यावहारका विषयमा जनचेतना फैलाउने र मिडियाको माध्यमबाट आत्महत्या सम्बन्धि भ्रमहरू हटाउन र आवश्यक जनचेतना फैलाउने गर्नाले आत्महत्याको दर घटाउन सकिने उनले बताए।त्यस्तै आत्महत्याको जोखिममा भएका या एकपटक आत्महत्याको कोसीस गरेकाहरूलाई सकेसम्म एक्लै नछाड्ने, आश्वासन नदिने, उसका समस्याहरूलाई सानो नदेखाउने, खिसिट्युरी नगर्ने, उसलाई सहज बनाउने कोसीस गर्नुपर्ने उनी बताउछन्।
त्यस्तै डा अधिकारी पनि आत्महत्या रोकथाममा परिवार, समाज र मनोपरामर्शदाता सबैको उत्तिकै भूमिका रहेको बताउँछन्। नेपालमा मानसिक स्वास्थ्य समस्या भएर उपचारको पहुँचमा आउनेहरुको संख्या निकै कम भएकाले यस विषयमा सबैले आफ्नो आफ्नो ठाउँबाट चेतना फैलाउने काम गर्नुपर्ने उनको धारणा छ।
हाल सरकारले मानसिक रोगको उपचारमा प्रयोग हुने ११ प्रकारको औषधि ‘साइको ट्रपिक ड्रग’ उपलब्ध गराउँदै आएको छ। त्यस्तै आत्महत्याको रोकथामको लागि सरकारले हाल हटलाईन सन्चालनमा ल्याएको छ। आत्महत्याको सोचाई आएका जो कोहिले पनि ११६६ मा सम्पर्क गरेर सेवा लिन सकिन्छ।