‘कम उमेरमा गर्भवती हुने संख्या बढ्दोः नेपालमा १५–१९ वर्षमा गर्भवती हुने किशोरीहारुको दर १४ प्रतिशत रहेको छ भने सबै भन्दा बढी २१ प्रतिशत कर्णाली प्रदेशमा रहेको छ।’
बिहान आँखा खुल्ने बित्तिकै रुटिन अफ नेपाल बन्दले हालेको पोस्ट आँखा अगाडि देखा पर्योे। यो देखेपछि अलिअलि लागेको निन्द्रा पनि हरायो।
मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १८, ‘करणी सम्बन्धी कसुर’ अन्तर्गत दाफा २१९ को उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ भनेर उल्लेख गरिएको छ।
यति सम्वेदनशील विषयलाई न्यूनीकरण गर्नका लागि सरकारले तत्काल प्रभावकारी कदम उठाएको पनि देखिँदैन। तत्काल अरु केही नभए पनि विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गर्न सकिन्थो, डिजिटल युग हो, त्यहा बाट सचेत गर्न सकिन्थो र अझै पनि सकिन्छ। कुर्सीको मोहबाट फुर्सद निकालेर यदि साच्चै यस्ता कुरामा काम गर्ने हो भने कुर्सीको मोह गर्नै पर्दैन, कुर्सीले तपाईँको मोह गर्ने छ।
माथि उल्लेखित तथ्याङ्कले समाजको कुरुपता झल्काएको छ। ‘नेपालको कानुन दैवले जानुन्’ जस्ता टुक्कामा रमाउँदै रमिता हेर्ने जनताको पनि उत्तिकै गल्ती छ। गलत गर्दा कुरा काट्नु भन्दा गलत गर्नेलाई सजाय दिलाउन सहयोग गर्दा अझ बढी आन्नद आउँछ होला होइन र? २०७८ मा गरिएको सर्वेक्षण अनुसार नेपालको साक्षरता ७० प्रतिशत पुगेको नतिजा निस्किएको छ। तर यस्ता घटना भने बढ्दो रुपमा देखिन्छ। शिक्षालय सभ्य समाजको निर्माणको लागि हुनु पर्छ, कुरिती हटाउनका लागि हुनुपर्छ।
मुलुकी अपराधसंहिता, २०७४ को दाफा १७३ ‘बाल विवाह गर्न नहुने’ शीर्षक अन्तर्गतको उपदफा १ मा ‘विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन’ भनेर उल्लेख गरिएको छ। यति हुँदाहुँदै पनि कर्णाली प्रदेशमा बालविवाह भने रोकिएको देखिएको छैन। केही समय अगाडि आमा बुवाले जबर्जस्ती विवाह गराइदिने गरेको भएता पनि पछिल्लो समयमा भने बाल्बालिका आफैंले गर्ने गरेकोसमेत पाइएको छ।
इन्सेक अन्लाइनमा लेखिएको लेखमा ‘कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका किशोरी कुनै न कुनै समयमा गर्भवती हुने गरेको पाइएको छ। यो तथ्याङ्कले कर्णालीमा बालविवाह बढी हुने गरेको देखाउँछ। तर बालविवाह विरुद्ध कुनै पनि उजुरी नपर्ने जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्द्रले बताएका छन्।’
यसरी सानै उमेरमा गर्भधारण गर्दा आमा र बच्चा दुवैको ज्यान जोखिममा जाने खतरा हुन्छ। कर्णालीमा २० वर्षभन्दा कम उमेरका २१ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन्। जसका कारण सात प्रतिशत मातृ मृत्युदर हुन जान्छ।
यो समस्याले ती गर्भवती महिलाहरुको स्वास्थमा मात्र नभइ, जिवनयापनमा पनि असर पर्न जान्छ। कसरी भन्दा, ‘एक त कलिलो उमेरमा परिवारका लागि उचित योजना बनाउन सक्ने क्षमता कम हुन्छ र अर्को परिवारको जिविकोपार्जन गर्न पनि असजिलो हुन्छ।’ सबैभन्दा महत्वपूर्ण कुरा त यो कानुन विपरीत हुन जान्छ। कुनै पनि कानुन बनाउनु पछाडि केही न केही तर्कसंगत अवश्य पनि हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ।
कतै तपाईँको आफ्नै परिवारमा त बालविवाह भएको छैन नि? भएको छ भने सभ्य नागरिकको कर्तव्य निभाउनु होला। किन कि अन्याय गर्ने भन्दा अन्याय सहनु गलत हो।