खत्याड गाउँपालिका मुगुमा हुर्किदै गरेकी ९ वर्षकी बालिका, शर्मिला सार्की मेरो नाम। हाम्रो परिवारमा हजुरबा, बाबा, आमा, फुपु, म जेठी छोरी अनि मेरा २ जना भाइहरू ! मेरो बाबा भारतको आलमोरा भन्ने ठाउँमा काम गर्नु जानुहुन्छ। मेरो फुपु राजनीतिक कार्यकर्ता, हजुरबाले नै घरको सबै काम व्यवहार हेर्नुहुन्छ। मुगुको खत्याड जस्तो दुरदराजमा जन्मिनु भाग्यमानी कि अभिशाप?
अझै पनि यहाँ शारीरिक, आर्थिक, भौतिक र मानसिक रुपमा बेग्लै किसिमको सकस खेप्नुपर्ने। कालान्तर देखिको जातीय विभेद अझै पनि यथावत छ! प्राकृतिक रुपले अति नै सुन्दर मेरो खत्याड, कर्णाली नदिमा कलकलाउँदो निलो र हरियो रंगको मिश्रित बगेको पानी, पाखाभरि जैतुनको रुख, स्वच्छ हिमाली हावाले कसको मन लोभ्याउँदैन र?
एकदिन एक्कासी मेरो स्वास्थमा खराबी देखिन थाल्यो। भोक नलाग्ने, थकाई लाग्ने जस्ता लक्षणहरू क्रमिक रुपमा बढ्दै गयो। गाउँघरको धामी झाँक्री अनि जडिबुटी नै मलाई निको बनाउने कडीको रुपमा उजागर हुन थाल्यो तर बीसको उन्नाइस भएन।
छरछिमेकीहरू सबैले हेरेर मर्छ कि क्या हो भन्थे। स्वास्थ्यमा जटिलता थपिदै गएपछि
मेरो बाजे र फुपुले बुढीनन्दा नगरपालिका, कोल्टी प्राथमिक उपचार केन्द्रमा लैजानुभयो। संयोगवश त्यस उपचार केन्द्रमा, नेपालगन्ज मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंबाट स्वास्थ्य शिविरको लागि डाक्टर तथा स्वास्थ्यकर्मी टोली आउनुभएको रहेछ।
डाक्टरहरूको समूहले मलाई हेरेपछि विभिन्न स्वास्थ्यसम्बन्धी जाँचहरू गर्नु लगाउनुभयो।
रगतको जाँचपछि हेमोग्लोबिनको मात्रा एकदमै कमि भएको जानकारी पाएँ। त्यसको उपचारको लागि नेपालगन्ज या त सदरमुकाम मार्तडी लैजानुपर्ने सल्लाह पाए पनि मेरो परिवारको लागि त्यो सम्भव थिएन। डाक्टर तथा स्वास्थ्यकर्मीको टोलीहरू रगत चढाउने बारेमा छलफल गरिरहेका थिए।
कोल्टीको प्राथमिक उपचार केन्द्रमा रगत चढाउनको लागि कुनै पूर्वाधारहरू थिएन। उनीहरूले मेरो रगत कुन समूहको हो? भनेर सोधे। प्रयोगशालामा परीक्षण गरेपछि 'बी नेगेटिभ' भन्ने थाहा भयो तर जुन 'बी नेगेटिभ' रगत दुर्लभ समूहको भन्ने थाहा भयो। समस्याहरू अझ थपिदै गईरहेको महसुस गरेँ।
दैवले चुनौतीसँगै समाधान पनि दिइरहेको हुन्छ भने झै, 'बी नेगेटिभ' रगत नपाएको अवस्थामा 'ओ नेगेटिभ' रगत पनि चढाउन मिल्ने भन्दै सल्लाह बिकल्प बाँकी थियो। स्वास्थ्य शिविरमा आउनु भएको डा किरण राज अवस्थीको 'ओ नेगेटिभ' रगत भएको र उहाँले रगत दान गर्ने भन्नु भयो। डा किरण राज अवस्थीको 'ओ नेगेटिभ' रगत मेरो शरीरमा चढाइयो। सम्पूर्ण स्वास्थ्यकर्मीहरू धेरै नै प्रफुल्लित देखिन्थे किनकी मलाई बचाउँदै गर्दा प्राथमिक उपचार केन्द्र, कोल्टी, बाजुरामा पहिलो पटक रगत दान गरेको भनेर।
बाहुनको छोरोको रगत सार्कीको छोरीलाई चढाउँदा मानवतामा रगतको साईनो पाएँ। फेरि त्यही स्वास्थ्य शिविर र कोल्टीको प्राथमिक उपचार केन्द्रको टिम मिलेर कोहलपुर रक्त बैङ्कसँग समन्वय गरेर थप 'बी नेगेटिभ' रगत स्थानान्तरण गर्यो। मैले बिस्तारै खानाहरू पनि राम्रोसँग खान थाले, क्रमिक रुपमा मैले शारीरिक अवस्था मजबुत हुदै गइरहेको महसुस गर्न थालेँ।
प्राथमिक उपचार केन्द्र, कोल्टीको शय्यामा कोल्टो फेर्दै गर्दा, भविष्यमा स्वास्थ्यकर्मी बनेर देश र जनताको सेवा गर्ने प्रण गर्दै थिएँ।