क्यान्सर रोग भन्नासाथ सबैको मनमा एक किसिमको डर आउने गर्दछ। किनकी यो रोग लाग्ने बित्तिकै मानिसको मृत्यु हुन्छ भन्ने धारणा जनमानसमा रही आएको छ। हालसम्म केही क्यान्सर रोगका औषधिहरु पत्ता लागेका छन् तथा केही औषधिहरु परिक्षणका क्रममा र केही औषधिहरु अध्ययनकै क्रममा छन्। क्यान्सर रोग आफैमा घातक भएकाले यस रोगको समयमा नै पत्ता लगाउन सकिए शरिरको अन्य भागहरुमा फैलनवाट रोक्न सकिन्छ।
क्यान्सर हुनुका कारणहरु वंशाणुगत तथा वातावरणीय तत्वहरु हुन जसमा रसायन, विकिरण, भाइरसको संक्रमण आदि पर्दछन्। यी कारणहरुले शरिरको कोषमा रहेको डि.एन.ए.मा उत्परिवर्तन ल्याउँदछ र क्यान्सर हुन सक्ने सम्भावनलाई वढाउँदछ।
क्यान्सर रोगको डायोग्नोसिसमा प्याथोलोजिस्ट डाक्टरको मत्वपूर्ण भूमिका रहन्छ। प्याथोलोजिस्टले शरिरको तरल पदार्थ, रगत, रक्तमासि तथा तन्तुको जाँच गरि क्यान्सर रोगको पहिचान गर्न सक्छन्। परिक्षणका लागि प्राप्त नमुनाहरुलाई मेसिनमा प्रक्रिया गराएपछि प्याथोलोजिस्टद्धारा माइक्रोस्कोपमा जाँच गरिन्छ। सुइमार्फत गरिने जाँच (FNAC) प्याथोलोजिस्टले नै गर्दछन् भने तन्तुको वायोप्सिको (Biopsy) नमुना चिरफार गर्ने चिकित्सक मार्फत प्राप्त हुने गर्दछ।
माइक्रोस्कोपमा जाँच गर्दा प्याथोलोजिस्टद्धारा तन्तुको बनावट र कोषको विस्तृत अध्ययन गरेर आफ्नो रिपोर्ट तयार गरिन्छ। धेरैजसो समयमा मोर्फोलोजी आधारमा डायग्नोसिस गर्न सकिन्छ तर कतिपय अवस्थामा थप जाँचहरुको आवश्यकता पर्दछ। जसमा विशेष रङ लगाउने, इम्युनोहिस्टोकेमिष्ट्रि तथा मलिकुलर जाँचहरु पर्दछन्। प्याथोलेजिस्टले क्यान्सर रोग पत्ता लगाउने मात्र नभएर त्यस रोगको ग्रेडिङ तथा स्टेजिङमा पनि महत्वपूर्ण भूमिका खेल्दछन्। यसैगरि फ्रोजन सेक्सन मार्फत अप्रेसन गर्दा कतिसम्म शरिरको अँगको भागलाई निकाल्ने भनेर चिरफार गर्ने चिकित्सकहरुलाई मार्गदर्शन पनि गर्दछन्।
प्याथोलोजिस्टद्धारा उपलब्ध गराइने रिपोर्टकै आधारमा बिरामीको रोगको डायोग्नोसिस तथा व्यवस्थापन गरिने साथै त्यस रोगले पार्न सक्ने असरहरुको पूर्वानुमान गर्न सकिने भएकाले प्याथोलोजिस्टलाई डाक्टरको पनि डाक्टर भनिने गरिन्छ।
(कन्सलटेन्ट प्याथोलोजिष्ट डा परियार भरतपुर अस्पताल, चितवनमा कार्यरत छन्)