ओ डाक्टरसाहेब!
किन यतिबिघ्न हतारिनुहुन्छ बिरामीको खातिर
किन खटिनुहुन्छ दिनभर, रातभर?
किन, केका लागि पो मरिमेट्नुहुन्छ?
ओ डाक्टरसाहेब!
किन लाग्दैन तपाईँलाई कुनै चाडपर्व?
किन समय छैन तपाईँसँग साथी-संगी परिवारको लागि?
किन केका लागि पो मरिमेट्नुहुन्छ?
ओ डाक्टरसाहेब!
महाराज-महारानीको सवारी भइरहँदा
किन हिँड्नुपर्यो तपाईं सडकमा?
किन भर्नुपर्यो प्राण बिरामीको?
किन हुनुपर्यो जनतालाई बिरामी?
ओ डाक्टरसाहेब!
देशमा कुनै सम्भावना नदेखेर
दिनदिनै परदेशिएका छन् त हजुरसँगैका साथीहरु
तिनै विदेशीएका पङ्क्तीसँगै किन मिसिनुभएन हजुर?
किन केका लागि पो मरिमेट्नुहुन्छ?
ओ डाक्टरसाहेब!
केका लागि हो यतिबिघ्न स्वदेशप्रेम?
केका लागि हो यतिबिघ्न स्नेह?
केका लागि हो अहोरात्र खटनपटन?
महामारीमा होमिँदा बिरामीकै आफन्तबाट कुटिन?
अस्पताल प्रशासनबाटै पलपलमा लुटिन?
या प्रहरी मेरो साथीको दमन सहन?
या देशको कुशासन, विसंगति, ज्यादतिको चङ्गुलमा फस्न?
या यी सबैबाट ग्रस्त हुँदै डिप्रेसनको सिकार हुन?
किन, केका लागि पो मरिमेट्नुहुन्छ?