अस्ति भर्खरै हो कोरोनाको महामारीले
सबैको दैनिकी क्वारेन्टाइनमा राख्दा
सेतो कोट लगाएर ऊ त्यही डाक्टर बनेको थियो गेटपाले
सबैको जिन्दगीको गरेर बेपरबाह आफ्नाको र आफ्नै ज्यानको
खटेको थियो ऊ दिनरात नभनी
हो ठिक त्यही बेला हो
ऊ कोठा खोज्न जाँदा लखेटिएको थियो
तलब माग्न जाँदा ठगिएको थियो साहुजीहरूसँग।
अस्ति भर्खरै हो कर्णालीमा सिटामोलको हाहाकार हुँदा
सुत्केरी आमाको रगतको खोला नरोकिँदा
बच्चाको धड्कन नचल्दा
साइरन बजाउँदै हरियो चिलगाडी काठमाडौँ हुइकिएकै बेला आशा बोकेर
आफ्ना धेरै साथीहरू उज्ज्वल भविष्य खोज्दै गोराहरूको देश जाँदा
छोडेर सबै कुरा एकातिर हुत्तिएको थियो त्यही डाक्टर
कर्णालीको माटोमा सेवा गर्छु भन्दै विश्वास बोकेर
हो ठिक त्यही बेला हो
उसको टाउकोमा नेताज्यूको बुट बजारिएको थियो
ठिक त्यही बेला हो
उसको कठालो सामत्दै लतारेको।
अनि हिजो मात्रै हो
जन-जनका समस्या समाधान गर्न साइरन बजाउँदै
महामहिम राष्ट्रपतिको गाडी बेस्त सडकलाई मौनधारण गर्न लगाई
घन्टौँसम्म हुइकिरहँदा यता-उता
ठिक त्यही बेला हो
बाटोमा साइकल डोर्याउँदै गरेको डाक्टरको टाउकोमा
मुस्कान सहितको सेवा दिन तत्पर प्रहरी साथीको
लाठी नराम्ररी बजारिएको
कठालो समातेरे सडकमा घिसारेको।
पढ्नलाई लाखौंको ऋणको भारी बोक्दा
सरकारले उसको उर्वर भविष्यमाथि पटकपटक
थरीथरीका पर्खाल लगाउँदा-लगाउँदै पनि नडराएको ऊ
अचेल राति निन्द्रामै तर्सिने गर्छ, झस्किन्छ, बर्बराउँछ
आखिर अपराधीको जयजयकार गर्दै नगर परिक्रमा गरिने
अनि नगरिकहरू किस्ता-किस्तामा सरकारद्वारा नै लुटिने ठाउँमा
अब टाउकोमा लाठी बजारिने र मुखमा बुट बजारिने
पालो कतै मेरै त होइन भनेर।
(सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली)