काठमाडौं- ललितपुरको पुल्चोकमा सेवा स्पीच एण्ड हेयरिङ सेन्टर सञ्चालनमा आएको दुई महिना भयो। बोल्न र सुन्नमा समस्या भएका बालबालिका, वृद्धवृद्धासहित सबै उमेर समूहका व्यक्तिको उपचार हुन्छ यहाँ। दुई जना वाक तथा श्रवण विशेषज्ञ (अडियोलोजिस्ट) छन्।
सुनाई र बोलाई सम्बन्धी समस्याको सबै किसिमको उपचार यो सेन्टरमा हुने अडियोलोजिस्ट प्रिती चौधरीले बताइन्। कान नसुन्ने समस्या भएका वृद्धवृद्धाहरु उपचारका लागि बढी आउने गरेको उनले बताइन्।
सुनाई सम्बन्धी समस्या जन्मजात वा जन्मिएपछि हुने भएकाले धेरैको प्राथमिकता बालबालिका हुन्छन्। वृद्ध उमेरमा गुम्दै जाने सुनाई सम्बन्धी समस्या धेरैको प्रााथमिकतामा नपरेको उनी बताउँछिन्। बालबालिकासँगै वृद्धवृद्धाहरु आफ्नो प्राथमिकतामा रहेको उनले बताइन्।
‘जहाँ पनि बच्चाहरुको लागि फोकस गरिएको छ। तर बच्चाको लागि मात्र होइन युवा, वृद्धवृद्धा सबैलाई सुनाई जरुरी छ। उनीहरुले नसुनेपछि बेवास्ता गरिन्छ।’ उनले भनिन्।
उमेर बढ्दै गएपछि कानको नसा र कोषिकाहरु विस्तारै मर्दै जान्छन्। जसले गर्दा सुनाईमा कमी हुँदै जान्छ। नसुनेपछि बुझ्ने क्षमतामा पनि ह्रास आउँछ।
के हो स्पीच एण्ड हेयरिङ थेरापी?
नेपालमा अहिले बहिरोपनको समस्या बढ्दै गएको छ। सुनाई सम्बन्धी समस्याको उपचार बिरामीको अवस्था अनुसार गर्न सकिन्छ। कुनै बिरामीलाई शल्यक्रियाको आवश्यक पर्छ भने कसैलाई उपकरणको सहायताले मात्र पनि सुनाई क्षमतामा सुधार ल्याउन सकिन्छ।
सुनाईमा समस्या भएका बालबालिकाको बोलाई पनि समस्या देखिन्छ। कुनै पनि बालबालिका वा व्यक्तिले कान सुन्दैन भने उसले कुनै शब्द र वाक्यसँग प्रतिक्रिया जनाउँदैन। प्रतिक्रिया जनाउनका लागि बालबालिका वा व्यक्ति ती शब्दहरुसँग घुलमिल भएको हुनुपर्छ।
‘कुनै बच्चाले केही आवाज र शब्द नै सुनेको छैन भने उसको लागि आवाज भनेको के हो भन्ने थाहा नै हुँदैन।’ डा चौधरीले भनिन्।
बोल्नका लागि सुन्न आवश्यक आवश्यक छ। आवाज के हो? शब्द के हो? वाक्य के हो? भन्ने कुराबाट उनीहरु अनजान नै हुन्छन्। सुनाई र बोलाई सम्बन्धी गराइने थेरापीलाई नै स्पीच एण्ड हेयरिङ थेरापी भनिन्छ।
यो थेरापीमा कान नसुन्ने समस्या भएकालाई उनीहरुको अवस्था अनुसार उपचार सुरु गरिन्छ। र, उनीहरुलाई आवाज, शब्द र वाक्यहरुसँग परिचित गर्दै बोलीका लागि उपचार सुरु गरिने उनले बताइन्।
‘पहिले सुन्नुपर्छ। सुनेपछि आवाज बारे जानकारी गराउनुपर्छ। पोनिम्स (प,फ,ब,म लगायत), शब्द, वाक्य हुन्छ। त्यसपछि मात्र कुराकानीका लागि पुरा वाक्य हुन्छन्। यो थेरापीको प्रक्रिया लामो हुन्छ। त्यसैले धैर्यता चाहिन्छ।’ उनले भनिन्।
सुनाई सम्बन्धी समस्याको उपचारमा बालबालबालिको लागि मात्र नभई वृद्धवृद्धाका लागि पनि परिवारले प्राथमिकता दिनुपर्ने उनले बताइन्। कान नसुन्ने समस्या भएपछि वृद्धवृद्धाहरुको व्यवहारमा परिवर्तन आउन थाल्छ। डा चौधरीका अनुसार कान नसुनेपछि एक्लै बस्ने, झर्को मान्ने, रिसाउने, सामाजिक रुपमा सक्रिय नहुने जस्ता व्यवहार उनीहरुले देखाउँछन्।
कानको समस्या भएका व्यक्तिहरु सबैभन्दा पहिले नाक, कान, घाँटी विभागमा पुग्छन्। उक्त विभागमा बिरामीको अवस्था अनुसार उपचार प्रक्रिया सुरु हुन्छ। तर कुनै बिरामीले शल्यक्रिया र उपचारपछि पनि सुन्न सक्दैन। त्यसपछि उपकरण मार्फत उनीहरुको सुनाई क्षमता के कति छ भनेर परीक्षण गरिन्छ।
उनीहरुको सुनाई क्षमता र अवस्था अनुसार कानमा उपकरण राख्ने वा थेरापी गर्ने भन्ने निर्णय सम्बन्धित चिकित्सकले गर्छन्।
‘थेरापीमा विभिन्न प्रक्रियाहरु हुन्छन्। कस्तो बिरामी छ, सुनाई शक्ति कतिसम्म छ, कुन उमेरको बिरामी हो? यी सबैको आधारमा थेरापी गर्छौ।’ उनले भनिन्।
थेरापी लामो प्रक्रिया भएकाले बिरामीको अवस्था अनुसार ६ महिनादेखि एक वर्षसम्म पनि लाग्न सक्छ।
कान नसुन्ने समस्या जन्मजात, जन्मपछि र वृद्धवृद्धामा कसरी हुन्छ?
कान नसुन्ने समस्या जन्मजात, जन्मपछि र उमेरसँगै निम्तदै जान्छ। कारणहरु अवस्था अनुसार फरक हुन्छन्। जन्मजात सुनाई सम्बन्धी समस्या हुने विभिन्न अवस्थाहरु छन्। ती हुन्
– कम तौल भएका शिशु
– एनआइसीयूमा रहेका शिशु
– समयभन्दा पहिले जन्मिएका,
– गर्भमा शिशु भएको बेला आमालाई विभिन्न संक्रमण भए
– गर्भवती आमाले जथाभावी औषधि प्रयोग गर्दा
– वंशाणुगत
यी विभिन्न कारण जन्मजात रुपमा बालबालिकामा सुनाई सम्बन्धी समस्या हुनसक्छ। कतिपय बालबालिकामा भने जन्मिएपछि पनि यो समस्या निम्तन्छन्। कतिपय कारणहरु औल्याउन सकिन्छ। तर कतिपय कारणहरु भने पत्ता लाग्न सकेको छैन। डा चौधरीका कारण जन्मपछि हुने सुनाई सम्बन्धी समस्याका कारणहरु यी हुन्
– मेनेन्जाइटिस भएमा
– कुनै कारणवश टाउकोमा चोटपटक लागेमा
– कानको संक्रमण भएमा
बढ्दो उमेरसँगै हुने सुनाई सम्बन्धी समस्या फरक छन्। उमेरसँगै शरीरका अंगहरु विस्तारै कमजोर हुँदै जान्छन्। कानको नसाहरु पनि कमजोर हुँदै जाने भएकाले वृद्धवृद्धा अवस्थामा कान नसुन्ने समस्या हुने उनी बताउँछिन्। समयमै समस्या निदान भए उपचार संभव भएको उनले बताइन्।
कान कम सुनिरहेका त छैनौ ?
ठूला व्यक्तिले कान नसुनेको अथवा कम सुनेको पत्ता लगाउन सहज हुन्छ। तर साना बालबालिकामा रहेको यो समस्या पत्ता लगाउन केही कठिन हुन्छ।
जन्मने बित्तिकै शिशुको हेयरिङ परीक्षण गराउन आवश्यक रहेको उनले बताइन्। यो सुविधा अस्पतालहरुमा भएपनि धेरैलाई थाहा नहुन सक्छ। त्यसैले घरमै पनि बच्चाले सुने नसुनेको पत्ता लगाउन सकिन्छ। आँखाले नदेख्ने गरी बच्चाको कान पछाडी कुनै घण्टी बजाउने वा विभिन्न किसिमको आवाज सुनाउने। जसमा बच्चाले सुने नसुनेको थाहा पाउन सकिन्छ।
पाँच महिनासम्मका बालबालिकाले प, ब, म जस्ता शब्दहरु बोल्न थाल्छन्। आफ्ना बच्चाले यी शब्दहरु बोलेको छ÷छैन भनेर अभिभावकले विचार गर्नुपर्छ। तर कतिपय अभिभावकले ढिलो बोलेको विषयलाई सामान्य रुपमा लिँदा उपचारमा ढिला हुने गरेको उनले बताइन्।
लामो समयसम्म चर्को आवाजमा हेडफोनको प्रयोग गर्दा पनि सुनाईमा समस्या हुन्छ। सुनाई शक्तिमा विस्तारै ह्रास आइरहेको कुरा सहजै पत्ता लगाउन सकिदैन। यसका लागि ६÷६ महिनामा कानको परीक्षण गर्न उनको सुझाव छ।
कसैले एक कोठाबाट अर्कोमा बोलाउँदा नसुन्ने, कुराकानी गर्दा कम सुन्ने, टिभि हेर्दा चर्को आवाजमा हेर्ने लक्षण देखिए सुन्ने शक्ति कम भइरहेको भन्ने बुझ्नु पर्दछ। धेरै चर्को आवाज आउने क्षेत्रमा पनि नबस्न उनको सुझाव छ।