धनगढी– धनगढी उपमहानगरभित्रका स्वास्थ्यकर्मीहरूले दबाबमुलक कार्यक्रम अघि बढाउने भएका छन्। तलबभत्ता यथाशीघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाउन लागेका हुन्।
शुक्रबार धनगढी नगर प्रमुख गोपालबहादुर हमाललाई स्वास्थ्यकर्मीहरूले ज्ञापनपत्र बुझाउँदै दबाबमुलक कार्यक्रम सार्वजनिक गरे।
धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यतर्फका स्थायी कर्मचारीहरूले आइतबारदेखि सार्वजनिक बिदाको दिन बाहेक धनगढी उपमहानगरपालिका प्रशासन शाखामा हाजिर गर्ने र नगरपालिकाको प्रांगणमा कालोपट्टि बाँधेर धर्ना दिने बताएका छन्।
माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रुपमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरूमा आन्दोलनरत स्वास्थ्यकर्मीहरू सहभागी नहुने लगायतका दबाबमुलक कार्यक्रममा उल्लेख छ।
चालु आर्थिक वर्षको तलब तत्काल व्यवस्था गरि आगामी आर्थिक वर्षको तलब भत्ता संघीय बजेट व्यवस्था भइ नआएमा स्थानीय तहबाटै व्यवस्था गर्नेगरि मासिक रुपमा उपलब्ध गराउनु पर्ने, नियमानुसार पाउनु पर्ने अध्ययन बिदा निर्वाध रुपमा पाउनु पर्ने उनीहरूको माग छ।
साथै, अध्ययन बिदा सकि हाजिर हुन आएका कर्मचारीलाई तत्काल हाजिरी गराउनु पर्ने, पदस्थापन सम्बन्धमा धनगढी उपमहानगरपालिका अन्तर्गत समायोजन भइ आएका सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई तत्काल तत्-तत् स्थानमा पदस्थापन गरिनुपर्ने, स्वास्थ्य संस्थाहरूबाट सेवा नियमित प्रवाह गर्न कम्तिमा ५ जना कर्मचारीहरूको व्यवस्था गरिनुपर्ने पनि उनीहरूको माग छ।
यस्तै, गर्भवती, सुत्केरी, दुई वर्षमुनिका बच्चा भएका र अति नै मर्कामा परेका कर्मचारीहरूलाई तत्काल पायक पर्ने ठाउँमा खटाइनु पर्ने लगायतका उनीहरूले माग अघि बढाएका छन्।
उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि तल बभत्ता नपाएको गुनासो गर्दै आएका छन्। ६ महिनादेखि सेवा सुविधा नपाउँदा दैनिक जीवन यापन गर्नमा समेत कठिनाई भइरहेको उनीहरूको भनाइ छ।