 प्रतिकात्म तस्बिर
                                                                                                    
                                                        प्रतिकात्म तस्बिर 
                                                    
                                                                                            
                                                                             
                                
                                
                                हेटौँडा- हेटौँडामा निजीक्षेत्रबाट सञ्चाललनमा रहेका तीन अस्पताललाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले कारबाही  सुरु गरेको छ। हेटौँडामा  कारबाहीमा पर्ने अस्पतालमा मकवानपुर सहकारी अस्पताल, हेटौँडा सिटी अस्पताल र सञ्चो अस्पताल  हेटौँडा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जनस्वास्थ्य ऐन तथा नियमावली विपरीत काम गरेको र  तोकिएको मापदण्डको पालना नगरेको अनुगमनमा पाइएपछि कारबाही थालिएको हो। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाको संयुक्त टोलीले गरेको अनुगमनको क्रममा तोकिएको मापदण्ड अनुसार नदेखिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको सो कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
सहायक प्रमुख जिल्ला अधिकरी शर्मा तथा प्रशासकीय अधिकृत गुणराज न्यौपानेको नेतृत्वमा बेग्लाबेग्लै खटिएको संयुक्त अनुगमन टोलीले अस्पताल सञ्चालनमा कमजोरी देखिएपछि तीन दिनभित्र सुधार गरी आवश्यक प्रमाणसहित कागजात पेस गर्न निर्देशन समेत दिएको जनाइएको छ।
मकवानपुर सहकारी अस्पतालले २५ शय्याको अस्पताल सञ्चालनको स्वीकृति विपरीत  ३६ भन्दा बढी शय्या  राखेको, पार्किङको तथा फोहरको व्यवस्थापन नगरेको, प्रयोगशाला सञ्चालन मापदण्डअनुसार नरहेको लगायतका कैफियत देखिएकोले कारबाही गरेको शर्माले बताए।
त्यस्तै,  हेटौँडा सिटी अस्पतालले नवीकरण नगरी अस्पताल सञ्चालन गरेको, आकस्मिक कक्षमा तीन शय्याको स्वीकृति लिएर छ शय्या राखेर सञ्चालन गरेको पाइएको थियो। 
त्यसैगरी, कार्यालयका अनुसार सञ्चो अस्पतालले सञ्चालन गरेको प्रयोगशाला इजाजत नलिइ सञ्चालन गरेको र आकस्मिक कक्षमा म्याद गुज्रिएको औषधि प्रयोग गरेको र वार्षिक कर चुक्ता नगरेको पाइएपछि आवश्यक मापदण्ड पूरा गरेपछि सञ्चालन गर्ने निर्देशन जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी  दिए। रासस